चीन र बंगलादेशसँग पनि पीटीए

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले छिमेकी राष्ट्र चीन र बंगलादेशसँग ऊर्जा व्यापार सम्झौता (पीटीए) गर्ने बताएका छन् ।
थाइल्यान्डको बैंककमा आयोजित दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले दुवै देशसँग विद्युत् आदानप्रदानका लागि पीटीए गर्न लागेको जानकारी दिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिएका छन् ।
नेपाल र भारतबीच पीटीए भइसकेको छ भने चीनसँग जलविद्युत्बारे द्विपक्षीय संयन्त्र नभएकोले बल्ल बनाउने प्रक्रियाअघि बढेको छ । चीनसँग नेपालले केरुङ–रसुवागढी अन्तरदेशीय प्रसारणलाइन निर्माणको प्रक्रियाअघि बढाएको छ भने बंगलादेशसँग विद्युत् आदानप्रदानका लागि भारतको स्वीकृति अनिवार्य मानिएको छ । यस्तो अवस्थामा ऊर्जामन्त्री पुनले उचित वातावरण बनाएर पीटीए गर्न सकेमा यसले नेपालको जलविद्युत् विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा मन्त्री पुनले चीन र बंगलादेशसँग द्विपक्षीय विद्युत् व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको जानकारी दिँदै बंगलादेश र चीनसँग पनि छिट्टै पीटीए हुने जानकारी दिएका थिए ।
नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै कार्यक्रममा मन्त्री पुनले ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व समुदायसँग उनले आग्रह गरेका थिए । ऊर्जा तथा विद्युत्को क्षेत्रमा चीनसहित सार्क र विमस्टेकस्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिँदै कार्यक्रममा उनले क्षेत्रीय सम्बन्ध विस्तार, आर्थिक विकास र विद्युत् उत्पादन विस्तार गर्नका लागि यसको आवश्यक रहेको बताए । उनले दिगो र गुणस्तरीय विद्युत् विकास गर्न क्षेत्रीय सदस्यबीच सम्बन्ध बलियो हुनुपर्ने धारणा राख्दै मन्त्री पुनले नवीकरणीय ऊर्जालाई प्रवद्र्धन गर्ने सरकारको नीति भएको र वैदेशिक लगानीको सुरक्षामा सरकारले ध्यान दिएको बताए । सदस्य राष्ट्रहरूको घनिष्ट सम्बन्धमा जोड दिंदै ऊर्जामन्त्री पुनले विद्युत्लाई आर्थिक विकाससँग जोड्न पनि सदस्य राष्ट्रबीच अन्तर–आबद्धता आवश्यक रहेको बताए ।
कार्यक्रमको अवसर पारेर थाइल्यान्ड पुगेका ऊर्जामन्त्री पुनले म्यानमारका ऊर्जामन्त्री जयर अंग र पाकिस्तानी समकक्षी अहमद खानसँग भेटवार्तासमेत गरेका छन् । उनीहरूबीच ऊर्जा क्षेत्रको विकास र विस्तारबारे छलफल भएको थियो ।