अध्यक्ष र उपाध्यक्षको विवादले गाउँपालिकाको काम ठप्प «

अध्यक्ष र उपाध्यक्षको विवादले गाउँपालिकाको काम ठप्प

कालिञ्चोक गाउँपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ । विकास निर्माणको रकम माग गर्दै कालिञ्चोक गाउँपालिका–७ र ८ सुनखानीका स्थानीय उपभोक्ताले कार्यालयमा तालाबन्दी गरेपछि कामकाजसमेत ठप्प भएको छ ।
कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी र जनप्रतिनिधिसमेत गाउँपालिका गएका छैनन् । तालाबन्दी पनि कालिञ्चोक गाउँपालिकाका ६ जना वडाअध्यक्षको सोमबार संयुक्त बैठक बसी १० दिनभित्र कार्यालयको काम सुचारु गराउन माग गरेका छन् । उनीहरू कार्यालय खोल्नका लागि गाउँपालिका अध्यक्ष विनकुमार थामीलाई पत्र लेखेर यस्तो आग्रह गरेका हुन् । उनीहरूले उपाध्यक्ष कालिका पाठक, प्रशासकीय अधिकृत सुरज अर्याल, जिल्ला समन्वय समितिको कार्यालयलाई १० दिनभित्र भन्ने समयको माग राखेका छन् ।
उनीहरूले ९ वटै वडाका कर्मचारी व्यवस्थापन तथा तलब भत्ताको व्यवस्थापन गर्न र कर्मचारी नियमित उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले आर्थिक वर्ष ०७४÷७५ को विनियोजित बजेटका योजनाको काम हुन नसकेको र सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत माग गरेका छन् । गाउँपालिकाभित्रको काम अपारदर्शी भएको भन्दै सार्वजनिक सुनुवाइ गर्न समेत उनीहरूले माग गरेका छन् ।
गाउँपालिका अध्यक्ष विनकुमार थामीले कार्यालयमा तालाबन्दी भए तापनि कार्यालयको काम नरोकिएको बताए । कार्यालयमा गएर नियमित काम गर्ने वातावरण नभएकाले कार्यालय नखोलिएको उनले बताए । जनताको अत्यावश्यक सेवा कर्मचारीले बाहिरैबाट भए पनि गरेको बताए । कार्यालयमा तालाबन्दी उपभोक्ताले नगरी गाउँपालिकाभित्रकै जनप्रतिनिधिबीचको आन्तरिक कारणले भएको बताए ।
गाउँपालिकाको केन्द्र सार्ने विषयमा कालिञ्चोक गाउँपालिकामा लामो समयदेखि जनप्रतिनिधिबीच विवाद छ । गाउँपालिकाको केन्द्रको विषयमा २ साताअघि अध्यक्ष थामीमाथि हातपातसमेत भएको थियो । उपाध्यक्ष कालिका पाठकले पनि आफूमाथि अध्यक्ष पक्षबाट हातपात भएको बताउँदै आएकी छन् । गाउँपालिकाको केन्द्रको विषयमा गाउँसभा आव्हान गरेकाले चाँडै सभाले नै टुंगो लगाउने अध्यक्ष थामीले बताए ।
गाउँपालिका केन्द्रलाई साविक अस्थायी कार्यालय भएकै ठाउँ आसपास राख्नु पर्नेमा उपाध्यक्ष पाठकसहित वडा नं. ७, ८ र ९ का वडाध्यक्ष सहितका जनप्रतिनिधि छन् । त्यस्तै साविकको स्थान पायक नपर्ने भन्दै लापिलाङ वा खुरुरे राख्नु पर्छ भन्नेमा वडा नं. १, २, ३, ४, ५ र ६ का वडा अध्यक्षसहितका जनप्रतिनिधि छन् । विनकुमार थामी र कालिका पाठकबीच चुनावको टिकट वितरणमा समेत विवाद हुँदा पाठकले उपाध्यक्षको टिकटसमेत बहिस्कार गर्ने घोषणा गरेर पुनः स्वीकार गरेकी थिइन् । गाउँपालिका कार्यालयमा लागेको तााबन्दी खोल्न र गाउँपालिका केन्द्र कानुनबमोजिम टुंगोमा पुराउन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पहल गरिराखेको बताए ।

 –दिलबहादुर केसी

प्रतिक्रिया दिनुहोस्