पार्टी प्यालेस : रोजगारी सिर्जना तथा व्यवसाय दुवै

रोजगारका लागि प्रतिदिन करिब १२ सय युवाहरू विदेसिइरहेका छन् । देशमा कलकारखाना, उद्योग नबढेका कारण रोजगारी सिर्जना हुन सकेन भनिरहँदा विदेशिने युवालाई रोक्न निजी क्षेत्रले आफ्नै किसिमले देशमा रोजगारको सिर्जना गरिरहेको छ ।
युवा पलायन रोक्न देशमा रोजगारी सिर्जना गरिरहेको यस्तै एउटा सेवा व्यवसाय हो, पार्टी प्यालेस । पछिल्ला वर्षहरूमा विशेषतः सहरिया नेपालीले पार्टी प्यालेसमा भोज दिनु सामान्य भैसकेको छ । सहरी क्षेत्रमा साँघुरो ठाउँ एवं व्यस्तताका कारण सबै जना सेवाग्राहीहरू पार्टी प्यालेसमै भर पर्नु स्वभाविक नै पनि देखिन्छ । तर, काठमाडौंमात्र होइन, नेपालका विभिन्न सहरहरूमा घरमा भोज ख्वाउने चलन हराएर पार्टी प्यालेसमा भोज भतेर गर्नु जीवनशैली नै बनिसकेको छ । त्यसैले पार्टी प्यालेस संस्कृति राजधानीमा मात्र नभई ग्रामीण क्षेत्रमा पनि बढ्दै गइरहेको छ ।
साथै, कैयौं युवाहरूलाई रोजगार दिइरहेको पार्टी प्यालेसहरूको व्यापार पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । एकातिर यसले आफ्नो व्यवसाय पनि हुने अर्कोतिर युवाहरूलाई रोजगार पनि हुने हुँदा पार्टी प्यालेस खोल्ने क्रम पनि पछिल्लो समयमा बढिरहेको छ । तर, पार्टी प्यालेसहरूबीचको अस्वस्थ प्रतिस्पर्धा घटाउन इभेन्ट एण्ड भेन्यू एसोसिएसन अफ नेपालले विशेष ध्यान दिनुपर्ने पार्टी प्यालेसका सञ्चालकहरूबताउँछन् । पछिल्लो समय विवाह, व्रतबन्ध, भोज, सेमिनार, गोष्ठी र अन्य कार्यक्रमको लागि पनि पार्टी प्यालेस सहज भएको भएता पनि विवाहको सिजनमा विशेष गरी बढी नै व्यापार हुने गरेको उनीहरू बताउँछन् ।
यसरी नेपालमै केही हँुदैन र लगानी गर्ने ठाउँ छैन भन्नेका लागि पनि यो व्यवसाय एक उदारहणको रुपमा स्थापित भएको छ । व्यापार बढ्दै गइरहेसँगै नयाँ पार्टी प्यालेस खुल्ने क्रम पनि बढ्दै गइरेहको छ । समय सापेक्ष यसको व्यापार पनि बढ्दै गइरहेकोले पार्टी प्यालेसले ग्राहकलाई सेवा दिन भ्याईनभ्याई देखिन्छन् । उनीहरू अनलाइन र प्रिबुकिङ गर्न थालेका छन् । जसका कारण ग्राहकहरूलाई अझ सहज पनि भएको छ । राजधानीमा वार्षिक करौडौंको कारोबार गर्ने थुप्रै पार्टी प्यालेसहरू छन् । यी व्यवसायीहरूले व्यवसायमात्र गरिरहेका छैनन्, बेरोजगार युवालाई पनि रोजगारी सिर्जना पनि गरिरहेका छन् । नियमित तथा अनकल पार्टी प्यालेसमा काम गर्ने युवाहरूमध्ये धेरै कलेजमा अध्ययन गरिरहेका विधाथीहरू रहेको प्यालेस सञ्चालकहरू बताउँछन् । यसबाट पढाईलाई निरन्तरता दिँदै फुसर्दको समयमा काम गर्ने संस्कृतिको विकास भएको पनि देखिन्छ ।
नियमित तथा अनकल रोजगारी
यस्ता पार्टी प्यालेसहरूले नियमित रोजगारी तथा अनकल अर्थात् आवश्यक परेका बखतमात्र बोलाएर काम दिने दुवै प्रकारले रोजगारी सिर्जना गरिरहेका छन् । ललितपुरस्थित कुपण्डोलमा रहेको कुपण्डोल ब्याङ्क्वेटले वार्षिक करिब एक करोडको कारोबार गर्दै आएको अनुमान छ । नौ जनाको पार्टनरसीपमा रहेको यस ब्याङ्क्वेटमा नियमित रुपमा तीन जनामात्र स्टाफ रहेका छन् । पार्टी वा कार्यक्रमअनुसार चाहिएको बेला थप स्टाफ बोलाउने म्यानेजर मनोज बिडारीले बताए । बिवाहको लगन हुँदाखेरी र विवाहको समयमा बढी प्याक हुने र अफ सिजनमा सेमीनार, व्रतबन्धलगायतका कार्यक्रम गर्दै आएको उनले बताए । वर्षको ४ महिनामा चाहिँ एकदम प्याक हुने गरेको पनि उनले बताए । २०६७ बाट सुरु भएको यस ब्याङ्क्वेटको हलमा ४०० जना र पार्टीमा एक हजार जना अट्ने बिडारीले जानकारी दिए ।
यस्तै, काठमाडौंको बबरमहमा रहेको दिलबहादुर कार्कीको कार्की ब्याङ्क्वेट उनका छोरो रोशन कार्कीले चलाउँदै आएका छन् । डेढ वर्ष अगाडिदेखि सुरु भएको यस ब्याङ्क्वेटको सम्पूर्ण कार्य रोशन कार्कीले गर्ने गर्दछन् । कार्की ब्याङ्क्वेटमा महिनामा १७÷१८ वटा कार्यक्रम हुँदै आएको सञ्चालक रोशन कार्कीले बताए । यस ब्याङ्क्वेटमा नियमि रुपमा १२ जना स्टाफ रहेका छन् भने कार्यक्रम अनुसार आवश्यक परे अन्यलाई फोन गरेर बोलाउने गरेको उनले बताए । १२ सय अट्ने यस ब्याङ्क्वेटमा वर्षमा करिब ७० लाखको कारोबार हुने सञ्चालक रोशन कार्कीले बताए ।
बानेश्वरस्थित अल्फा हाउस ब्याङ्क्वेटमा पनि विवाहभन्दा बढी सेमिनार, गोष्ठी वा अन्य कार्यक्रम नै बढी हुने गर्दछ । ८०० जना अट्न सक्ने यस ब्याङ्क्वेटको स्थापना भएको छ वर्ष भइसकेको छ । जेनेरल म्यानेनजर केशव सञ्जेलका अनुसार बजारमा हाल अस्वस्थ प्रतिस्पर्धा सुरु भैसकेको छ । प्रत्येक पार्टी प्यालेसमा रहेको भिन्न–भिन्न दर तथा सुविधाका कारण ग्राहकहरूलाई आफू अनुकूल प्यालेस रोज्न सहज भएतापनि भिन्न भिन्न मापदण्डका कारण भने ग्राहकलाई अन्यौल हुने उनको भनाइ छ ।
यसैगरी पार्टी प्यालेसमा सिजनको समयमा काम गरी आम्दानी गर्दै आएका उत्सव सुवेदीले दुईवटा पार्टी प्यालेसमा काम गरी दैनिक ७०० रुपैयाँ आम्दानी गर्ने बताए । उनका अनुसार नियमित रुपमा काम नभएतापनि सिजनको समयमा धेरै व्यस्त भइन्छ । अरु समयमा कलेज जानुपर्ने भएकाले फुर्सदको समयमा काम गर्न सहज भएको भन्दै उनले यसको आम्दानीले खर्च निकाल्न सहज हुने बताए ।
आफूजस्ता धेरै युवाहरू नियमित तथा सिजनको समयमा मात्र गरी सहजै रोजगार हुने अवसर पाइरहेको बताउँदै उनले यो कामले आफ्नो पढाई पनि नछुट्ने तथा फुर्सदमा समयको सदुपयोग गरी आम्दानी पनि हुने बताए ।
–रिना खत्री