काठमाडौंमा देखियो जाजरकोटको संस्कृति

जाजरकोट एक सुन्दर भविष्य बोकेको जिल्ला हो । विविध प्राकृतिक श्रोतसाधनले भरिपूर्ण यस जिल्लामा विकास निर्माणबाहेक अन्य विभिन्न प्रकृतिले दिएका सम्पदाहरूले नै धनी बनेको छ । देशभरको संस्कृति बुद्धको काखमा पोखिन्छ । तर जाजरकोटको संस्कृति देशभर नै फैलिन्छ । जो बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा प्रदर्शन भएको नै उदाहरणीय बन्यो ।
राष्ट्रिय सभागृहमा जाजरकोट पर्यटन प्रबद्र्धनका लागि लोक तथा परम्परागत संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी २०७४ कार्यक्रममा जाजरकोटको विकास र संस्कृतिमा केन्द्रीत भएर सबैले चासो राखे । कतिपयले मञ्चमा नै गएर विकास र संस्कृतिका कुरा गरे त कतिले सहभागीले कानेखुसीमै कुरा गरे । कार्यक्रमको उद्घाटनपछि एउटा भुँवा नाच प्रस्तुति गरियो । त्यो सकिनेबित्तिकै कानेखुसी गर्ने एकजना झापालीले आफ्ना नजिकै बसेका सहभागीलाई भनेका थिए, ‘हैजाको जिल्लामा पनि यस्तो संस्कृति बचेको रहेछ ।’
विकास छैन भन्दैमा संस्कृति पनि होइन भनेर तुलना गर्नु गलत हो । संस्कृति र विकास भनेका फरक विषय हुन् । संस्कृति पुख्र्यौलीदेखिको संस्कारसँग जोडिएको हुन्छ भने विकास राज्य पक्षले गरेको हुन्छ । राज्यले विभिन्न अवधारणालाई सम्बोधन गर्दै विकास निर्माणका कामहरूको ढाँचा दिन्छ । जाजरकोटमा हैजा फैलनु संस्कृतिको कमजोरी होइन । त्यो त सरकारी पक्षको स्वास्थ्यप्रतिको संकोच हो । त्यसलाई सम्बोधन गर्नु राज्यको कर्तव्य हो ।
स्थानीय स्तरमा लोपोन्मुख अवस्थामा रहेका विभिन्न कलालाई एकै पटक राजधानीमा प्रस्तुत गर्दा देशभरीकै संस्कृतिजस्तै नै प्रदर्शन भयो । भोकमरी, गरिबी, स्वास्थ्यको अवस्थामा पछाडि परेको जिल्ला भनेर चिनिएको ठाउँमा संस्कृति नै एक्कासी राजधानीमा झल्किएपछि जाजरकोटप्रतिको सद्भाव सबैमा जागेको छ ।
०६२÷०६३ सालको जनआन्दोलनमा धेरै नै पछाडि परेको संस्कृतिलाई जगेर्ना गर्न स्थानीयहरू दिनरात लागि परेका जाजरकोटका स्थानीय नरेश रानामगरले बताए । उनले भने, “देशमा द्धन्द्ध भइरहेको थियो । धर्म, संस्कार र संस्कृतिलाई कसैले पनि ध्यान दिँदैनथे । भएका प्राकृतिक साधन पनि सबै भग्नाबशेषमा परिणत भए । शान्तिकाल सुरु भएदेखि लोप भएका भग्नाबशेष पनि मठ मन्दिरमा रुपान्तरण भयो ।”
कार्यक्रम आयोजक मूल समारोह समिति काठमाडौंले आयोजना गरेको उक्त संस्कृति प्रदर्शनी मेलामा सम्बोधन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले जाजरकोटलाई विकास गर्न संघिय, प्रादेशिक र स्थानीय सरकारको ध्यानाकर्षण गर्ने बताए । उनले भने, “हाम्रो देश संस्कृतिको धनी देश हो ।” हाम्रो संस्कृति नै देखाएर नेपाल धनी बन्नेमा उनले पिश्वास लिएका छन् ।
कार्यक्रममा सम्बोधन गर्न पुगेका पूर्व गृहमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेश सुनको डल्लो भएको तर त्यसलाई उपयोग गर्न नसेकेको बताए । उनले भने, “अबको स्थिर सरकारले १० बर्षभित्र कर्णाली प्रदेश देशकै धनी बन्नेछ ।” कर्णाली प्रदेश सबै कुराहरूले प्रयाप्त हुँदा पनि त्यो ठाउँको विकास नहुनुमा दुखद कुरा भएको उनको धारणा छ । विकास गर्नमा स्थानीयहरूलाई कामम गराउने र आफूले सरकारमा पूर्वाधारको लागि पहल गर्ने र त्यसपछि मात्र कर्णाली प्रदेश पहिलो हुने उनको बुझाइ छ ।
–भूमिराज जोशी