विपन्न महिला आर्थिक सुधारतर्फ अग्रसर «

विपन्न महिला आर्थिक सुधारतर्फ अग्रसर

हुम्लाका विपन्न महिला व्यवसाय गर्दै आर्थिक सुधारमा लागेका छन् । आफूसँग रकम नहुँदा केही गर्न नसकिरहेका महिलालाई सामुदायिक विकास कार्यक्रम हुम्लाले गाउँघरमा केही व्यवसाय र रोजगारीको काम गर्न सकून् र आर्थिकस्तर वृद्धि होस् भनी बीउपुँजी वितरण गर्दा महिलालाई सहज भएको हो ।
सिमकोट, नाम्खा, चंखेली र अदानचुली गाउँपालिकाका रहेक वडामा गठित नागरिक सचेतना केन्द्रका सदस्यलाई दोस्रो चरणमा परिपक्कता हासिल गरेका ७८ वटा नागरिक सचेतना केन्द्रमा आबद्घ अतिविपन्न र गरिब महिलाको जीविकोपार्जन सुधार गर्नका लागि वितरण गरिएकाले महिलालाई आयआर्जनमा सहजता भएको हो । उपक्षेत्र विश्लेषणका आधारमा प्राथमिकतामा रहेका र जीविकोपार्जनका लागि सम्भावना बोकेका विभिन्न व्यवसाय सञ्चालन गर्नका लागि बीउपुँजीको रूपमा उक्त रकम वितरण गरिएको हो ।
हाल ८५ वटा नागरिक सचेतना केन्द्रका विपन्न र गरिब महिलाको जीविकोपार्जन सुधार कार्यक्रमका लागि प्रतिनागरिक सचेतना केन्द्रलाई १ लाखका दरले ८५ लाख रकम वितरण गरिएको थियो । जीविकोपार्जन सुधार गर्न पहिलो चरणमा वितरित बीउपुँजी अन्तर्गत खुद्रा पसल सञ्चालनका लागि ५८ वटा नागरिक सचेतना केन्द्रका ५०८ जना, बाख्रापालनका लागि ७ वटा नागरिक सचेतना केन्द्रका ३३, २ वटा नागरिक सचेतना केन्द्रका ३४ जनाले संयुक्त रूपमा याक पालन गरेका छन् । त्यसैगरी कुखुरा पालनमा २९ जना, तरकारी खेतीमा २० र एउटा नागरिक सचेतना केन्द्रको २१ जना सदस्यले संयुक्त व्यवसायका रूपमा बंगुर पालन गरी आर्थिक अवस्था तथा जीविकोपार्जनमा सुधार गरिरहेका छन् । ७८ वटा नागरिक सचेतना केन्द्रका जम्मा ६४५ जना अतिविपन्न महिलाले साना साना व्यवसाय सञ्चालन गरिरहेका छन् ।
पहिला आफूले घरमा रुपैयाँ के हो भनी राम्रोसँग उपभोग गर्न नपाए पनि अहिले आफूले गरिरहेको व्यवसायबाट राम्रो आम्दानी गर्न सकेको र छोराछोरीलाई राम्रो लगाउन र मिठो खान दिन पाएकोमा हुम्लाका महिलाको मुहारमा खुसी छाएको छ । कुखुरापालन गर्दा एकै कुखुराबाट २ हजारदेखि ३ हजारसम्मको दरमा बिक्री गर्दा कम्तीमा १ हजार ५ सय लगानीभन्दा बढी आम्दानी भइरहेको हिल्सा देवनागरिक सचेतना केन्द्रका सदस्य विन्दु बुढाले बताए । आफूलाई ५२ साता कक्षा सञ्चालनपश्चात छलफल गरी सा–साना व्यवसाय सञ्चालन गर्न छनोट गरेको व्यवसाय सुरुवात गरेको समेत बुढाले बताए । छनोट भएको व्यवसायबाट कोष वृद्घि गर्दै जाने र केन्द्र आबद्घ सबै सदस्यलाई पालैपालो गरी रकम परिचालन गरी जीविकोपार्जन सुधार गर्ने लक्ष्यसमेत रहेको समूहका महिलाको भनाइ छ ।
जीविकोपार्जन सुधारका लागि घुम्ती कोषको मुख्य उद्देश्य आबद्घ नागरिक सचेतना केन्द्रका सदस्यको जीवनस्तर उकास्ने, अतिआवश्यक माग सम्बोधन गर्न सहयोग गर्ने, स्थानीय निकाय र समुदायबीचको अन्तर सम्बन्ध बलियो पार्नुका साथै समुदायका अतिगरिब तथा विपन्न वर्गको सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवा र स्रोतमा पहुँच बढाउने रहेको छ । घुम्ती कोषवापत वितरित बीउपुँजीको प्रभावकारी कार्यान्वयन तथा उपलब्धि मापनका लागि सम्बन्धित वडा कार्यालयका अध्यक्ष, सामुदायिक विकास कार्यक्रमका कर्मचारी र स्वयं नागरिक सचेतना केन्द्रका व्यवस्थापन समितिले संयुक्त रूपमा निर्मित संयन्त्रले गर्ने गरी व्यवस्था मिलाइएको छ । जीविकोपार्जन सुधार कार्यक्रमका लागि यस जिल्लामा सामुदायिक विकास कार्यक्रममार्फत १ करोड ६३ लाख रकम बीउपुँजीको रूपमा वितरण गरिएको सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक राजबहादुर रोकायाले बताए ।
वितरण भएको अनुदान रकमको सही सदुपयोग र पारदर्शी ढंगले कार्यान्वयन गर्न गराउनका लागि अथक प्रयास रहने रोकायाले बताए । रकम वितरण गर्दा हामी वडा कार्यालयको सहभागिता र उत्तरदायी रहने गरी त्रिपक्षीय सम्झौतासमेत गरिएको छ । यसबाट वडाका अतिगरिब तथा विपन्न घरधुरीको जीवनस्तर उकास्नका लागि ठूलो भूमिका रहने चंखेली गाउँपालिका–३ का अध्यक्ष शालिग्राम ऐडीले बताए ।-

रेशमराज रोकाया

प्रतिक्रिया दिनुहोस्