पार्किङस्थल बनाउन रुख कटान «

पार्किङस्थल बनाउन रुख कटान

इटहरीको मुख्य बजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्न भन्दै इटहरी उपमहानगरपालिकाले सडकपेटिका रुख कटान गरेको छ । इटहरी उपमहानगरपालिकाले सडकपेटिमा रहेका पुराना ठूला रुख डोजर लगाएर काटेको हो । शनिबार बिहानैदेखि नगरपालिकाको डोजरले पूर्वपश्चिम राजमार्गअन्तर्गतको सडकपेटिका वरपिपल, स्वामीलगायतका रुख काटेको हो । सडकमा रहेका पुराना सुकेका रुख काट्ने भन्दै सडक पेटिका हरिया ठूला रुख पनि काटिएका छन् ।
तीव्र सहरीकरण हुँदै गरेको इटहरीमा पार्किङको ठूलो समस्या छ । भौगोलिक हिसाबले चौरस्ता चोक रहेको इटहरीमा विभिन्न सहरबाट आवासीय तथा व्यापारिक कारोबार गर्न ठूला व्यापारिक भवन निर्माणले तीव्रता पाएको छ । ठूला व्यापारिक कम्प्लेक्स सडकसँगै जोडेर बनाएपछि मुख्य चोकमा पार्किङको समस्या भएको हो । पार्किङ समस्या समाधान गर्न पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघ इटहरीले युक्त रूपमा पहल सुरु गरेका हुन् । पार्किङस्थल बनाउन ठूला रुखले समस्या पारेको भन्दै हटाइएको पार्किङ व्यवस्थापन समितिका संयोजक तथा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेष विष्टले जानकारी दिए । उनले भने, “व्यवस्थित पार्किङस्थल बनाउन सबै सरोकारवालको छलफलपछि अभियान थालिएको हो, यसमा केही सुकेका र बुढा रुखलाई पनि हटाइएको छ ।” रुख काटिएको बदलामा नयाँ बिरुवा रोप्ने तयारी पनि भइरहेको संयोजक विष्टले बताए । काटिएका रुख जिल्ला वन कार्यालयलाई बुझाइने विष्टले जानकारी दिए ।
सहरको सुन्दरतासँगै वातावरणीय हिसाबले ठूला हरिया रुख काटिनु गलत भएको किप इटहरी क्लिनका सामाजिक अभियन्ता दिव्यराज गुरुङ बताउँछन् । उनले भने, “हामी वातावरण स्वस्थ हराभरा बनाउन रुख विरुवा रोप्छौं, हुर्काउन धेरै वर्ष लाग्छ तर ठूला रुख काटिनु गलत हो ।” पार्किङस्थल नै बनाउन अन्य विकल्प हुन सक्थे तर त्यसमा विचारै नगरी सडकपेटिका रुख काट्न नहुने उनको भनाइ छ ।
विवेक भट्टराई 

प्रतिक्रिया दिनुहोस्