कर्मचारीको बयानपछि महानिर्देशक पक्राउ «

कर्मचारीको बयानपछि महानिर्देशक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धानले वैदेशिक रोजगार विभागमा महानिर्देशक विश्वराज पाण्डेलाई पक्राउ गरेको छ । अख्तियारबाट खटिएको प्रहरीको विशेष टोलीले पाण्डेलाई चाबहिलबाट पक्राउ गरेको हो । पाण्डेलाई टंगालस्थित अख्तियारको हिरासतमा राखिएको छ । यसअघि पक्राउ परेका विभागकै २ कर्मचारीको बयानका आधारमा अख्तियारले पाण्डेललाई पक्राउ गरेको हो ।
मंगलबार अख्तियारको टोलीले वैदेशिक रोजगार विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई सेवाग्राहीबाट १० लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । अधिकृत पौडेल र नासु केसी नयाँबानेश्वरस्थित इन्द्रेणी फुटल्याण्डबाट प्रक्राउ परेका थिए । आफ्नै कार्यालयका कर्मचारीले घुस लेनदेनमा महानिर्देशकको संलग्नता रहेको बयान दिएपछि अख्तियारले पाण्डेलाई प्रक्राउ गरी अनुसन्धान सुरु गरेको हो ।
विभागका कर्मचारीले म्यानपावर एजेन्सीको कारबाही फुकुवा गर्न रकम लिएका थिए । राजधानीको एक म्यानपावर एजेन्सीलाई अदालतले रोक्का फुकुवा गर्न आदेश दिए पनि विभागका कर्मचारीले निर्णय कार्यान्वयन गर्न घुस लिएका थिए । विभागले कारबाही रोक्का गरेको म्यानपावर कम्पनीले वैदेशिक रोजगारीका लागि विदेश पठाएका नेपाली युवाले ९ महिनासम्म तलब नपाएपछि विभागमा उजुरी दिएका थिए । बिनातलब अलपत्र परेर स्वदेश फर्केका ६० नेपालीले म्यानपावरबिरुद्ध उजुरी दिएपछि विभागले म्यानपावरको कामकारबाही र बैंक खाता रोक्का गरेको थियो । विभागले कामदारको उजुरीका आधारमा सो म्यानपावर कम्पनीलाई रोक्का गरेको जनाएको छ । म्यानपावर कम्पनीका सञ्चालकले ६० नेपालीलाई उजुरीअनुसार क्षतिपूर्ति दिए पनि विभागले म्यानपावर कम्पनीको रोक्का फुकुवा नगरेर घुस मागेको एक व्यवसायीले बताए । “कामदारले क्षतिपूर्ति पाएर अदालतले रोक्का फुकुवा गर्न आदेश दिए पनि विभागका कर्मचारीले फुकुवा गर्न रकम माग गदै आएका थिए,” एक व्यवसायीले भने, “सरकारले विदेश गएका कामदारको तलब सुविधा नदिने रोजगादातालाई कारबाही गर्नुपर्नेमा बारम्बार घुस माग्दै आएका थिए ।”

 

प्रतिक्रिया दिनुहोस्