व्यावसायिकतातर्फ नेपाली खेलकुद

काठमाडौं –खेलकुद कसैको लागि व्यायाम हुनसक्छ, कसैको लागि मन बहलाउन तथा सकृय रहन मनोरञ्जनको लागि हुनसक्छ । तर खेलकुदले मानिसलाई फुर्तिलो र निरोगि बनाउनका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलले सामूहिक भावनाको विकास गर्नुका साथै आपसी प्रतिस्पर्धाको भावना पनि सिर्जना गर्दछ । मानसिक तथा शारीरिक स्वस्थ्यको लागि खेलकुदबाट सिर्जित प्रतिस्पर्धाको भावनाले व्यक्तिको विकास तथा समाजमा भाइचाराको भावना पनि विकास गर्छ । समाज सभ्य तथा अनुशासित रहन मद्दत गर्दछ ।
खेलकुदलाई हेरिने दृष्टिकोण
कुनै समय खेलकुदलाई धनाढ्यहरूको मन बहलाउन वा मनोरञ्जनको साधनको रुपमा लिइने गरिन्थो । तर वर्तमान समाजका खेलकुद सम्मान तथा व्यक्तित्व विकासको एउटा पाटो हो । नेपालमा पनि प्राचीन कालदेखि टोलटोलमा विभिन्न जात्रा, पूजाआजा र चाडपर्वका अवसरमा सामान्य प्रकृतिका खेलकुद आयोजना गरिन्थ्यो तर हालका दिनमा भने राज्य तथा समाज आफ्नै तवरबाट पनि खेलाडीलाई सम्मानको आँखाले हेर्न थालिएको छ । खेलकुल जीवनशैलीको एउटा अभिन्न अंगमात्र होइन, व्यवसायिक रुपमा नै पनि अत्यन्त सम्भावना भएको क्षेत्र हुन थालेको छ । सन्दीप लामिछानेलाई दिल्लीको क्लबले आफ्नो टिमबाट आइपीएल खेल्न अनुबन्ध गरेपछि धेरै अभिभावकले आफ्ना छोराछोरीको खेलकुदप्रतिको मोहलाई राम्रै मान्न थालेको पनि देखिन्छ । यस बाहेक पनि धेरै नेपाली फुटबल खेलाडीहरू विदेशी क्लबबाट खेल्न अनुबन्ध हुन थालेको धेरै भइसकेको छ ।
खेलको विकास
राणाकालअघिको कालखण्डमा नेपालको खेलकुद विकासका लागि राज्यले अन्य क्षेत्रझैं खासै प्रयत्न नगरेकोले खेलकुद विकासको पाटो अँध्यारो नै थियो । राणकालको अन्त्यतिर आइपुग्दा राणाहरू एसिया र यूरोपका विभिन्न देशमा पुग्न थालेपछि उनीहरू फर्कदा आफूसँगै विभिन्न खेलहरू भित्र्याए । खेलकुदलाई धनाड्यहरूको मन बहलाउने कार्य गरेपनि यो समयमा मुलुकमा खेलकुदको विकासको जग बसेको मान्न सकिन्छ । नेपाली खेलकुदले प्रजातन्त्र प्राप्तिपश्चात पनि खासै गति लिन सकेन तर आशा गर्न सकिने प्रशस्त सम्भावनाहरू भने देखाएको थियो ।
राजधानीमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनु, राजधानी बाहिरका विभिन्न जिल्लामा क्षेत्रिय र जिल्ला स्तरका रंगशाला र अन्य भौतिक पूर्वाधार निर्माण, राष्ट्रिय र क्षेत्रिय स्तरमा विभिन्न खेलकुद संघहरूको स्थापना, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि आदिले गर्दा मुलुकको खेलकुद विकासको क्षेत्रमा ढोका खोलेका अनुभव गर्न सकिन्छ । ओलम्पिक खेलकुदमा लामो समयदेखिको निरन्तर सहभागिताले पनि नेपालको खेल क्षेत्रलाई उकास्न मद्दत पु¥याएको मान्न सकिन्छ ।
विश्वको लहरमा लहरिँदै केहि वर्षयता नेपाली खेलकुद क्रमशः व्यावसायिकता तर्फ लम्किरहेको भए पनि दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान, श्र्रीलंका, माल्दिभ्स जस्ता मुलुक भन्दा निकै अघि खेलकुदको जग बसालेको नेपालको खेलकुद स्तर अहिले यी राष्ट्रको भन्दा कमजोर देखिएको छ । तर पछिल्लो दश वर्षयता मुलुकको खेलकुदले आशातित प्रगति पनि गरेको छ । खेलकुद क्षेत्रमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भइरहेको छ । नेपाली खेलकुदकै सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्मा एक सय ७० भन्दा बढी संस्थाहरू आबद्ध हुनु मुलुकका खेलकुद विकासको एउटा सकारात्मक पाटो हो । जसमा क्रिकेट, फुटबल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, तेक्वाण्डो, कराँते, गल्फ, सुटिङ, टेवलटेनिस, पौडीजस्ता केही खेल सघंमात्र सक्रिय भएका छन् र बाँकी संघहरू त्यति सक्रिय भएको पाइँदैन ।
खेलबाटै धेरै अवार्ड जितिसकें
नविता श्रेष्ठ, टेवलटेनिस खेलाडी
टेवलटेनिस कहिलेदेखि खेल्न शुरु गर्नुभएको हो ?
मैले टेवलटेनिस बच्चादेखि नै खेल्थें तर टे«निङ चाहिँ कक्षा ८ मा हुँदादेखि शुरु गरेको हँु । पहिले त म तेक्वान्दो खेल्थें पछि टेवलटनिस खेल्न शुरु गरेको हँु ।
पहिले यस खेलमा कसले ल्याएको हो वा आफैं आउनु भएको हो ?
मलाई यस खेलमा राकेश महर्जनले ल्याउनु भएको हो । उहाँको हौसलाले गर्दा नै मैले टेबलटेनिसमा धेरै प्रगति गर्न सकेको छु । पछि उहाँसँगै निकटता बढ्दै गयो र हाम्रो विवाह पनि भयो ।
तपाईंले सबैभन्दा पहिलो पटक टेवलटेनिसमा सहभागिता कहिले जनाउनु भएको थियो ?
मैले पहिलो पटक लैनचौरमा भएको अन्तर विद्यालय टेवलटेनिस च्याम्पियनसिपमा सहभागिता जनाएको थिएँ । त्यस बेला राष्ट्रिय स्तरका जुनियर खेलाडिहरूलाई पराजित गर्न सफल भएको थिएँ ।
तपाईंले खेलको सिलसिलामा कुन कुन देश भ्रमण गर्ने मौका पाउनुभयो ?
मैले १२ वटा भन्दा बढी देश भ्रमण गरिसकें । जापान, कोरीया, चिन, मलेसिया, थाईल्याण्ड, बंगलादेश, भारत, ग्रिसलगायत अरु देशमा टेवलटनिसकै सिलसिलामा भ्रमण गर्ने मौका पाएँ ।
अहिलेसम्म कुनकुन अवार्डलाई हात पार्न सफल हुनुभयो ?
मैले अहिलेसम्म सबैभन्दा मूल्यवान अवार्ड वजाज पल्सर पिपुल च्वाईस अवार्ड जितेको छु । २०६७÷६८÷६९ मा बेस्ट प्लेयर अफ द ईयरको अवार्डचाहिँ एनएनआईपीले गरेको जितेको छु ।
अहिले तपाई कुन सस्थासंग आबद्ध हुनुहुन्छ ?
अहिलेचाहिँ म तीनवटा संस्थामा आवद्ध छु । काठमाण्डु डिस्ट्रिक टेवलटेनिस एसोसीएसन, नेपाल नेशनल एण्ड इन्टरनेशनल एशोसीएसन र रोटरी क्लव अफ बानेश्वरमा आबद्ध छु ।
–यशोदा सुनुवार