डडेल्धुरा सांस्कृतिक मेला शुक्रबार र शनिबार

डडेल्धुरा – डडेल्धुरामा हुन लागेको ‘डडेल्धुरा सांस्कृतिक मेला २०७४’ को सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । यही चैत २३ र २४ गते कोशेली फिल्म्स प्रालि काठमाडौंले उक्त मेलाको आयोजना गर्न लागेको हो ।
बुधबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी आयोजनकले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । अभिनेत्री रेखा थापासहितका चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने मेलाको तयारी अन्तिम चरणमा पुगेको आयोजक कोसेली फिल्म्स प्रालिका प्रवन्धक तथा कलाकार सौगात ओझाले बताए ।
सुदूरपश्चिमको कला संस्कृतिो संरक्षण र प्रवद्र्धनका लागि मेलाको आयोजना गरिएको उनले जानकारी दिएका छन् । नयाँ वर्ष २०७५ को अवसर पारी ‘बाल विवाहको अन्त्य गरौं’ ‘समग्र डडेल्धुरा जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण र प्रवद्र्धनका लागि’ सांस्कृतिक मेला आयोजना गरिएको आयोजक संस्थाका डडेल्धुरा संयोजक रमेश मल्लले बताएका छन् ।
मेलामा चर्चित डेउडा गायक भोजराज भट्ट, लोक गायक सौगात ओझा, मोडल तथा गायक चक्र बम, लोक तथा डेउडा गायक सूर्य विरही साउँद, रमेश मल्ल, डेउडा गायिका पुष्पा बोहरा, मेरी बास्सैका हास्य कलाकार प्रकाश कँडेल गेलुली कान्छा, गायक जनक ताम्राकार, भानुभक्त जोशीको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेला जिल्ला सदरमुकामको महेन्द्र माविको प्राङ्गणमा दुई दिनसम्म हुने आयोजकले जानकारी दिएको छ ।