लगानीकर्ता आशावादी, बजार भने सुस्त
काठमाडौं: राजनीतिक परिवर्तनसँगै सेयर बजार गएको साता २१ अंकले बढेर बन्द भएको छ । साताका पहिलो केही दिनमा लगानीकर्तामा केही आशा देखिए पनि अन्ततिर निरास हुँदै गएको देखिन्छ ।
यस्तै, कारोबारमा पनि साताको पहिलो दोस्रो दिनको तुलनामा पछिल्ला दिनमा कमी आएको छ । सेयर बजारको मागको तुलनामा आपूर्ति धेरै हँुदै आएको देखिन्छ । सूचीकृत कम्पनीको नाफा बोनसभन्दा पनि राजनीतिक परिवर्तनको हल्लाले सेयर बजार प्रभावित भएको देखिन्छ । लगानीकर्ताले सेयर बजार अझै बढ्न सक्ने आशामा सेयर खरिद गरिरहेको देखिन्छ ।
यसबाहेक नियमनकारी निकायले ल्याउने नीतिले पनि लगानीकर्ता आशावादी देखिएका छन् । नयाँ स्टक एक्सचेन्जसँगै नयाँ र गुणस्तरीय प्रविधि आउला, झन्झटरहित र साना लगानीकर्ताको सजिलै पहँुचमा सेयर पुग्ला भन्ने अपेक्षा लगानीकर्ताको छ । तथापि, गएको साता नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा अर्थ मन्त्रालयका सचिव तथा नेपाल राष्ट्र बैंकका गभर्नरको भनाइले लगानीकर्ता निरास भने छन् ।
नेपाल स्टक एक्सचेन्जलाई आधुनिकीकरण गर्नुपर्छ भन्नेमा कसैको दुईमत छैन, तर अहिलेको समयमा एक्सचेन्ज जस्तो हुनुपर्ने हो, त्यो भने छैन । आधुनिक प्रविधि ल्याउन आलटाल गर्ने, कानुन र नीति भन्दा पनि बोलीको भरमा नियम बनाउने, नियमनकारीको आदेश नटेर्ने, बोर्डको भन्दा बढी मन्त्रालयको चाकडी गर्ने गरेको आरोप स्टकलाई लाग्ने गरेको छ ।
स्टकले बेलाबेलामा लगानीकर्ताले आफूमाथि लागेको आरोप खण्डन पनि गर्ने गरेको छ । तथापि दक्षिण एसियामा नेपाली स्टक बजार पुँजी र प्रविधिमा निकै पछि भने परेको छ । फ्रन्टलाइन रेगुलेटरको रूपमा रहेको नेप्सेले सेयर बजार लगानीकर्ताको लागि धेरै गर्न सक्छ ।
आफूले गर्न सक्ने काम पनि धितोपत्र बोर्डले आदेश नदिएसम्म चुप लागेर बस्ने गरेको छ । मार्केट डेप्थ हेर्न, १० कित्ता भन्दा सानो सेयर कारोबार गर्न नेप्सेलाई बोर्डको आदेश नै कुर्नुप¥यो, जुन स्टकले आफैँ गर्न सक्थ्यो । अहिले विभिन्न क्षेत्रको दबाब र धितोपत्र बोर्डमा अर्के स्टकको चर्चा सुरु भएपछि नेपाल स्टक जुर्मुराएको त देखिन्छ, तर यो विज्ञप्तिमा मात्र हो या काम गरेर नै देखाउने हो, यो भने लगानीकर्ताले हेर्न बाँकी छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार ३४२७४ कारोबारबाट तीन अर्ब ३५ करोड सात लाख ११ हजार रुपैयाँबराबरका ५९ लाख ४३ हजार १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १७.६४ प्रतिशत बढी हो । गत साता १५८ कम्पनीहरुको कारोबार भएको थियो ।
जसअनुसार २७३४१ कारोबारबाट दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार रुपैयाँ बराबरका ५१ लाख २१ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.३८ अंकले बढेर अन्तिम दिन १६१५.१९ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.०५ अंकले बढेर ३४३.१२ अंकमा आइपुगेको छ । यस साता कारोबार रकम (३० करोड १२ लाख रुपैयाँ) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ५२ हजार कित्ता) को आधारमा सिभील बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (३९६२ वटा) को आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सेयर बजार आइतबारदेखि मंगलबारसम्म बढे पनि बुधबार र बिहिबार घटेको देखिन्छ । यसले आगामी साता सेयर बजार ओरालो लाग्न सक्ने संकेत मिल्छ ।