काठमाडौं–सुर्खेत हवाई परीक्षण सफल, बुद्ध एयरको ४२ सिटे जहाज आउने

बुद्ध एयरलायन्सको ४७ सिटे जहाजले आगामी वैशाखदेखि नियमित रूपमा काठमाडौं–सुर्खेत सीधा हवाई उडान भर्ने भएको छ ।
एयरलाइन्सले बुधबार सुर्खेत विमानस्थलमा ४७ सिटे मध्यम जहाजको सफल परीक्षण गरेछपछि सुर्खेत काठमाडौं नियमित सीधा हवाई उडान गर्ने भएको हो । बुद्ध एयरले सुर्खेत विभानस्थलमा परीक्षण सफल भएको भन्दै अबदेखि नियमित परीक्षण गर्ने जनाएको छ । सुर्खेत विमानस्थलमा पहिलो पटक ४७ सिटे जवाज अवतरण भएको हो ।
विमानस्थलको धावनमार्गलगायत अन्य प्राविधिक दृष्टिले समेत ४७ सिटे जहाज अवतरण गर्न सकिने भएकाले नियमित सीधा उडान गर्ने एयरलायन्सले जनाएको छ । विमानका क्याप्टेन रञ्जनकुमार शर्मा, फ्लाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न कुनै समस्या नभएको बताए । बुधबार बिहान १० बजे बुद्ध एयरको ४७ सिटे ९ एन—एआइएन विमान प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको पाँच फन्का घुमेर अवलोकन गरेको थियो । सफल उडानसहित अवलोकन गरेपछि फ्लाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले ४७ सिटे जहाज अब सुर्खेतबाट सञ्चालन गर्न सकिने बताए । क्याप्टेन शर्माले पनि उडानमा कुनै प्राविधिक समस्या नदेखिएको जनाए । ४७ सिटेभन्दा अझ ठूलो जहाजका लागि भने धावनमार्ग विस्तार गर्नुपर्ने सुझाव दिएका छन् । विमानस्थल प्रमुख विनोदकुमार पन्तले पनि बुद्ध एयरको परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा ढुक्क भएको बताए ।
परीक्षण उडानका लागि आएको बुद्ध एयरको कर्णाली प्रदेश सरकार, व्यवासयी तथा स्थानीयवासीले स्वागत गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी, भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री, वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाललगायत स्वागत गर्न विमानस्थल पुगेका थिए । केन्द्रीय राजधानीसँगको सीधा हवाई सम्पर्कले कर्णाली प्रदेशमा सहजता हुने विश्वास गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बुधबार संसद बैठकमा बोल्दै केन्द्रीय राजधानीसँग सीधा हवाई सम्पर्क जोडिएको जानकारी गराउँदै खुसी व्यक्त गरेका छन् । काठमाडौं–सुर्खेत हवाई उडानमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद पनि दिए ।
–गोविन्द खत्री