निर्माण व्यवसायी र व्यवसायीका उपकरणहरूलाई पूर्णसुरक्षा दिन महासंघको माग «

निर्माण व्यवसायी र व्यवसायीका उपकरणहरूलाई पूर्णसुरक्षा दिन महासंघको माग

नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेटी निर्माण क्षेत्रलाई अस्तव्यस्त पार्ने गरी भइरहेका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार मन्त्री महासेठलाई भेटी निर्माण व्यवसायी र व्यवसायीका उपकरणहरूलाई पूर्ण सुरक्षा दिन माग गरेको हो । धरान सिन्धुली चतारा सडक खण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी–५ मा रहेको अस्थायी क्याम्पमा राखिएका सवारी साधनहरूमा अज्ञात समूहबाट गत सोमबार बिहान बम प्रहार गरी ठूलो क्षति पु¥याइएको महासंघले जनाएको छ । राष्ट्रिय गौरवको उक्त सडक खण्ड निर्माणमा रेन्केन–कालिका–स्वछन्द प्रालि संलग्न रहेको छ भने क्षति पु¥याइएका सवारी साधनहरू कालिका कन्स्ट्रक्सनको नाममा छ ।
महासंघका अनुसार बमको छर्रा लागेर कालिका कन्स्ट्रक्सन प्रालिको निर्माण स्थलमा काम गर्ने चितवनका विक्रम गुरुङ घाइते भएका छन् । साथै सूर्य कन्स्ट्रक्सन फर्मको नाममा रहेको एक्साभेटर सोही दिन गोरखाको लिवेलमा पूर्ण रूपमा ध्वस्त हुने गरी अज्ञात समुहबाट जलाइएको मन्त्री महासेठलाई महासंघले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सडक निर्माण आयोजनामा प्रयोग भइरहेका ट्रिपर, रोड रोलर, लोडर, बोलेरो जीप लगायतका सवारी साधनमा बम प्रहारका कारण भएको आगजनीबाट करोडौं मूल्यबराबरको क्षति भएको महासंघले जनाएको छ ।
स्थायी सरकारको गठनसँगै आर्थिक समृद्धिको परिकल्पना गरिरहेको महासंघ यस्ता आततायी घटनाको कडा शब्दमा भत्सर्ना गर्छ ज्ञापनपत्रमा भनिएको छ । सिंगो निजी क्षेत्रसहित देश निर्माणमा अहोरात्र खटिँदै आएका निर्माण व्यवसायीहरूलाई पेसाबाट नै पलायन पार्ने गरी भएको यस किसिमको घटनाले मुलुकको शान्ति सुरक्षाको अवस्था कति फितलो छ भन्ने प्रमाणित गरेको महासंघले जनाएको छ । निर्माण व्यवसायी र उनीहरूका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन विगतमा समेत पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि यस्ता निन्दनीय घटनामा खासै कमी आउन नसकेको महासंघको भनाइ छ ।
घटनाको छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरी बम प्रहार तथा आगजनीबाट सम्बन्धित निर्माण कम्पनीहरूलाई भएको नोक्सानीको उचित क्षतिपूर्तिको व्यवस्था मिलाइदिन महासंघले सरकार समक्ष जोडदार माग गरेको छ । दोषीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कार्वाही नगरिएमा महासंघ देशव्यापी रुपमा शशक्त आन्दोलन सुरु गर्न बाध्य हुने महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठले बताए । जवाफमा मन्त्री महासेठले व्यवसायीहरूका समस्याप्रति आफू गम्भीर रहेको बताए । महासंघ तथा निर्माण क्षेत्रका अन्य सरोकारवालाहरूबीच बैठक राखी व्यवसायीहरूका समस्या दीर्घकालीन रूपमा नै समाधान गर्न पहल गर्ने आश्वासन पनि मन्त्री महासेठले दिए ।

प्रतिक्रिया दिनुहोस्