उवामहासंघको प्रदेश भवन

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ ।
विराटनगर बरगाछीस्थित भवनको महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गरिन् । प्रदेश–१ का उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न महासंघले ७ वटै प्रदेशमा कार्यालय सञ्चालनमा ल्याउने भएको छ । जसअन्तर्गत १ नम्बर प्रदेशका लागि अस्थायी राजधानी विराटनगरमा कार्यालय सञ्चालनमा ल्याइएको छ । १४ वटै जिल्लाका उद्योगीहरूका समस्या समाधानका लागि कार्यालयले सहजीकरण गर्ने महासंघको प्रदेश–१ का उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । सचिवालय सार्वजनिक बिदाको दिनबाहेक हरेक दिन सञ्चालन हुनेछ । महासंघले दुई हप्ताअघि सचिवालय हेर्ने गरी विराटनगरकै श्याम भण्डारी (राधारमण) लाई निर्देशकमा नियुक्त गरेको थियो ।
उद्घाटन समारोहमा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, केन्द्रीय सदस्य अविनाश बोहरा, प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्का, उपाध्यक्ष राजेन्द्र राउतलगायतको उपस्थिति थियो ।