अरनिको राजमार्गमा मयूरसँगै साझा पनि थपियो

यातायातको सिन्डिकेट तोडिएको लामो समय भइसक्दा पनी काठमाडौं पूर्वको अरनिको राजमार्गमा भने सिन्डिकेटको दबदबा कायमै छ । बुधबारदेखि १३ वटा समितिले अरनिको पूर्व राजमार्गमा सवारी नचलाउँदा यात्रु समस्यामा परेका हुन । मयूर यातायातले काठमाडौं बनेपा रुटमा बस चलाउने अनुमति पाएपछि १३ वटा समितिले ग्रामीण र सहरी दुवै भेगका बस चलाउन छाडेका छन् भने उनिहरूले मयूरको इजाजत खारेजको माग गरेका छन् ।
काभ्रे र भक्तपुरका सडकमा एकाधिकार कायम गरेका समितिहरूले सेवा अवरुद्ध पर्दा कोटेश्वरबाट पूर्व चल्ने बसहरू गुडेनन् । यसभित्र रहेका अरनिको यातायात, काभ्रे बस, काभ्रे मिनिबस, हिमाल तराई, हेलम्बू, माथिल्लो सगरमाथा, उपत्यकालगायतका बसहरू चलेका छैनन् । नियमित कामका लागि हिँड्ने यात्रुहरू, ग्रामीण भेगमा पुग्नुपर्ने यात्रुहरूलाई यातायात सुविधा नहुँदा यात्रु अलपत्र परेका छन् । आज मयूर यातायात र मध्यपुर यातायातले मात्रै सेवा दिइरहेको छ । मयूरले कोटेश्वरबाट बनेपा र बनेपाबाट कोटेश्वरसम्मको यात्रु ओसारी रहेको । अन्य बस नचल्दा मयूरमा चढ्ने यात्रुहरूको भीड देखिन्छ । बस नचल्दा काठमाडौंबाट भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा, खोटाङ लगायतका यात्रु अलपत्र परेका हुन् ।
विभागले रुट इजाजत नवीकरण गर्न पनि अब कम्पनीमा दर्ता भएर पञ्जीकरण गरेकै हुनुपर्ने बताएको छ । पछिल्लो पटक काठमाडौं बनेपा रुटमा मयूर यातायातलाई रुट इजाजत दिएपछि अरनीको राजमार्गमा चल्ने बसका समितिहरूले आन्दोलनमा उत्रिएका हुन् । विगतका समयमा विभिन्न सिन्डिकेट खडा गरेर रूटहरू बिक्री गरिरहेको व्यवसायीहरूको गुनासो थियो । पञ्जीकरण भएका सवारीले मात्रै रुट इजाजत पाउने हुँदा यो किसिमको भ्रष्टाचार हट्ने विश्वास लिइएको छ भने करौडौंको राजस्व छलि पनि रोकिने विश्वास छ ।
रुट दिए ग्रामीण भेगमा पनि जान्छौं
चैत १ गतदेखि मयूर यातायातका बस बनेपाबाट कोटेश्वर पुगेपछि चक्रपथको दायाँबायाँ परिक्रमा गर्दै पुनः कोटेश्वर हुँदै बनेपा आइरहेका छन् । यी रुटमा मयूरले विभिन्न छुट सुविधासहित प्रविधिमैत्री ४२ सिटे र ३७ सिटे बस सञ्चालन गर्दै आएको छ । यही सुविधाको विरोध गर्दै विभिन्न यातायात समितिले अबरोध गरे पनि १९ दिनसम्म आइपुग्दा मयूर यातायातले आफ्नो सेवालाई निरन्तर गरेको छ । मयूरमा २४ वटा बसले रिंगरोड घुमेर बनेपासम्म सेवा दिइरहेका छन् । चल्न सुरु भएको २० दिनभित्र मयूरका १० वटा बसमा तोडफोड भइसकेको छ ।आफ्नो सेवाविरुद्ध कोटेश्वर पूर्वका १३ यातायात समितिले आन्दोलनको घोषणा पछि बनेपामा पत्रकार सम्मेलन गर्दै समितिका सचिव रामबहादुर केसीले सरकारले अनुमति दिएको खण्डमा ग्रामीण भेगमा समेत सेवा दिने बताए
प्रशासन नियमअनुसार जाने
व्यवसायीले अर्को यातायात सञ्चालनको विरोधमा ग्रामिण तथा अरनिको राजमार्ग भेगमा यातायात बन्द गरेपछि जिल्ला प्रशासनले सहजीकरणसमेत गरेको थियो । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाको कार्यकक्षमा भएको छलफलमा व्यवसायीहरूलाई यातायात सञ्चालनका लागि आग्रह गरिएको थियो । प्रशासनले यातायात सञ्चालन नगरे नियमअनुसार ग्रमीण भेगमा जाने अस्थायी रुटपरमिट खारेज गर्ने बताएको छ । “व्यवसायीहरूलाई झिकाएर छलफल भयो, यदि उहाँहरू यातायात चलाउन मान्नुभएन भने नियमअनुसार हुनेछ,” प्रमुख जिल्ला अधिकारी सिम्खडाले जानकारी दिए ।
काठमाडौँ–धुलिखेल रुट खुल्यो
कोटेश्वर पूर्वका १३ वटा समितिले अरनिको राजर्मागमा बस रोकेपछि सरकारले अन्य व्यवसायी तथा कम्पनीलाई काठमाडौंबाट धुलिखेलसम्मको रुट इजाजत लिन आउन आह्वानसमेत गरेको छ । यातायात व्यवस्था विभागले धुलिखेलसम्म चलाउन इच्छुकलाई बुधबार नै सबै प्रक्रिया पूरा गरेर रुट दिने गरी यस्तो आह्वान गरेको हो । विभागले व्यवसायीको अघि घुँडा नटेक्ने भन्दै धुलिखेलसम्मको रुट इजाजतलाई खुला गरेको हो । अत्यावश्यक सार्वजनिक सेवामा समितिहरूले हड्ताल गरेपछि विभागले काठमाडौं उपत्यका चलिरहेका अन्य व्यवसायी समिति र कम्पनीहरूलाई धुलिखेलसम्मको रुट इजाजत खुला गरेको हो । यही समस्यालाई ध्यानमा राखेर विभागले धुलिखेसम्म अन्यलाई पनि रूट इजाजत दिने निर्णय गरेको हो । बुधवार नै साझाले रुट लिएर बस चलाउन सुरु गरिसकेको छ ।