नेपाली कफीलाई अन्तर्राष्ट्रिय अवसर

विगत केही वर्षदेखि नेपालका व्यावसायिक रूपमा उत्पादन हुँदै आएको कफीले अन्तर्राष्ट्रिय मूल्यांकनमा उत्कृष्टता साबित गरेको छ । नेपालको उच्च पहाडी भेगमा उत्पादन हुने कफीमा उच्च गुणस्तर र विशिष्ट प्रकृतिको सुवास हुने भएका कारण उत्कृष्टतामा ९० स्कोर पाएको हो । यससँगै अब अन्तर्राष्ट्रिय बजारमा नेपाली कफी निर्यातको अवसरका थप सम्भावना बढेको छ । नेपालमा २०४० सालबाट यसको व्यावसायिक उत्पादन हुन थालेको भए पनि विगत १५ वर्षमा कफी उत्पादन र यसको निर्यात ह्वात्तै बढेको छ । विगतमा गुल्मी, पाल्पासहितका केही जिल्लाका सीमित कृषकहरूले मात्र कफी उत्पादनमा हात हालेकोमा अहिले देशभरि करिब ३२, हजार साना कृषकहरूले करिब ४१ जिल्लामा नगदेबालीको रूपमा कफीको व्यावसायिक खेती गरिरहेका छन् । खासगरी प्रदेश नं. ४ र ५ का मध्य–पहाडका कृषकहरूले कफीको व्यावसायिक सम्भाव्यताको लाभ उठाइरहेका छन् । चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७३-७४ मा देशभरिमा ४ सय ६६ मेट्रिक टन कफी उत्पादन भएकोमा ८ करोड ८५ लाख रुपैयाँबराबरको निर्यात भएको छ, यद्यपि यो रकमगत आधारमा अघिल्लो वर्षभन्दा घटेको हो । कफीको आन्तरिक र बाह्य दुवैतर्फ ठूलो बजार छ, तर कृषकहरूले उत्पादन बढाउन नसक्दा त्यसबाट आशातीत रूपमा लाभ उठाउनै सकेका छैनन् । आन्तरिक बजारकै कुरा गर्दा पनि नेपालीहरूको जीवनस्तरमा आएको सुधार र जीवनशैलीमा भइरहेको परिवर्तनले कफी पिउने संस्कार बढेर गएको छ, तर बजारमा स्वदेशी कफीको कम उपलब्धता र यहाँको उत्पादनप्रतिको कम विश्वासले विदेशी कफीको आयातमा ठूलो धनराशि खर्च भइरहेको छ ।
उच्च मूल्यसहितको प्रतिफल लिन सकिने कफीको उत्पादन बढाउनका लागि राज्य, निजी क्षेत्र, सहकारी र समुदाय चारै पक्षको साझेदारी बढाउनुपर्ने आवश्यकता छ । नेपालको निजी क्षेत्र प्रतिफल कम हुने, जोखिम बढी हुने सोचेर हो वा अन्य कुनै कारणले व्यावसायिक कृषि र कृषिसम्बद्ध उद्योगमा लगानी गर्न हिचकिचाइरहेको देखिन्छ । केही अन्तर्राष्ट्रिय कम्पनीहरूले कफीमै ठूलो ब्रान्ड बनाइ विश्वबजार नै कब्जा गरिरहेको सन्दर्भमा ‘हिमालयन अग्र्यानिक कफी’लाई त्यसैगरी ब्रान्डिङ गर्न सकिए यहाँ पनि लाभ कमाउन सकिने अवसर प्रशस्त छ । बिरालोको घाँटीमा घण्टी बाँध्ने नेपाली उखानजस्तो अग्रसरता कसले लिने भन्ने मात्र अहिलेको प्रश्न हो ।
नेपाली कफीको उत्पादन उत्कृष्ट हुँदाहुँदै पनि यसको प्याकेजिङ र ब्रान्डिङमा समस्या रहेकै कारण अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा समस्या भएको हो । यदि सरकारी तहबाट कफीको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय मान्यता पाउन सक्ने ल्याबसमेतको स्थापना गरी सरकारी, निजी वा सहकारी स्तरबाट कफीको एकीकृत ब्रान्डिङ र प्याकेजिङ गरी अन्तर्राष्ट्रिय बजारमा पठाउने हो भने अहिलेको भन्दा बढी लाभ पाउन सक्ने सम्भावना अत्यधिक छ । यद्यपि अहिलेको समस्या बजारको भन्दा पनि उत्पादनको हो । नेपाली कृषकहरूले परम्परागत ढंगले बारीका कान्लामा लगाउँदै आएको कफीलाई व्यावसायिक उत्पादनमा परिणत गराउनका लागि यस क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाहरूले यदि पहल गरे अन्तर्राष्ट्रिय स्तरमा अहिले प्राप्त भएको अवसरबाट लाभ उठाउन सकिने प्रशस्त सम्भावना छ ।