उत्पादन बढाउन सहकारी मोडल उपयुक्त : प्रधानमन्त्री «

उत्पादन बढाउन सहकारी मोडल उपयुक्त : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन वृद्धि गर्न सहकारी मोडल उपयुक्त भएको बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको संयुक्त आयोजनामा भएकोे दोस्रो सहकारी महासम्मेलको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देश विकासका लागि सहकारीको विकल्प नभएकाले उच्च प्राथमिता दिइएको दाबी गरे । “उत्पादन वृद्धि गरी देशमा व्यापारघाटा कम गर्न र आर्थिक समृद्धि हासिल गर्न सहकारीको धेरै महत्व छ,” उनले भने, “तपाईंहरु भिजन, योजना र प्रतिबद्वतासहित आउनुहोस्, सहजीकरण गर्न सरकार तयार छ” । खण्डीकरण भएको जग्गा जमिन एकीकृत गरी सहकारीमार्फत उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
सहकारीमार्फत देशको मुहार फेर्न सकिने र त्यसका लागि सहकारीको कार्यदिशा स्पष्ट हुनुपर्ने प्रधानमन्त्री ओलीको जोड थियो । “सहकारीले सदस्यको जीवनस्तर उकास्ने कुरामा पहिलो प्राथमिकता दिएर काम गर्नुपर्छ,” उनले भने ।
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक रूपान्तरणका लागि सहकारीलाई महत्व दिइएको बताए । “हामी सहकारीलाई साथमा लिएर देश विकासमा जुट्न क्रियाशील भएका छौं,” उनले भने, “सहकारी–निजी, सहकारी सार्वजनिक र निजी–सहकारी अवधारणमा काम गर्नसके देश विकास हुन्छ ।” अधिकांश युवा रोजगारीका लागि विदेशिन बाध्य भएको भन्दै अर्थमन्त्री खतिवडाले प्रत्येक वर्ष १० लाख युवाले नेपालमै रोजगारी पाउने गरी सहकारीले लगानी गर्नुपर्ने आवश्यकता रहेको बताए । सहकारीमार्फत गरिवी शून्यमा झार्दै उद्यमशिलताको विकास गर्न आवश्यक भएको सुझाव दिँदै उनले भने, “संस्थाको ब्यालेन्स बढ्दै जाने तर सदस्यको आर्थिक स्थिति खस्किने प्रवृत्ति अन्त्य हुनुपर्छ,” उनले भने ।
दुई दिनसम्म चल्ने महासम्मेलनको पहिलो दिन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले नेपालको सहकारी अभियान : २०२२ सम्मको कार्यदिशा, डा. खिमलाल देवकोटाले सहकारीको प्रवद्र्धनमा सरकारका विभिन्न तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी प्रा. डा. पुष्पराज कँडेलले दीगो विकास लक्ष्य र यसको कार्यान्वयनका लागि सहकारी क्षेत्रको सहभागिता, पूर्व मूख्यसचिव डा. विमल कोइरालाले वित्तीय सहकारी, चुनौती र सम्भावना, डा. रामशरण खरेलले तीनखम्बे अर्थनीतिका सन्दर्भमा सहकारी, निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
महासम्मेलनमा सहकारी संघ–संस्था, सहकारी सम्बद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरू गरी करिव १ हजार जना सहभागी छन् । नेपालसहित भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तान र इन्डोनेसियाका सहकारी अभियन्ता सहभागी महासम्मेलनले सहकारी क्षेत्रलाई आगामी ५ वर्षका लागि दिशानिर्देश गर्ने महासंघका अध्यक्ष केशवप्रसाद बडालले बताए ।

प्रतिक्रिया दिनुहोस्