६ महिनाभित्रै नेपालमा रेल कुदाउँछौं : मन्त्री महासेठ «

६ महिनाभित्रै नेपालमा रेल कुदाउँछौं : मन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा मन्त्री महासेठले बढीमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने दाबी गरेका हुन् “प्रधानमन्त्रीले त दुई वर्षभित्र भन्नुभएको थियो, तर हामी बढीमा अबको ६ महिनाभित्रै निश्चित दुरीमा रेल कुदाउँछौं, अहिले द्रुत गतिले काम भइरहेको छ,” उनले भने, “दुई वर्षभित्र त हामी रेलमार्गका लागि धेरै काम गरिसकेका हुनेछौं, यो सरकारको चाहना पनि हो ।” उनले पूर्व–पश्चिम रेलमार्गलाई पनि अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री महासेठले पाँच वर्षभित्रमा काठमाडौंवासीले रेल चढ्न पाउने दाबी गरे । “हेर्नुहोस्, यो पाँच वर्ष त धेरै छोटो समय हो, जापानले बनाइदिएको सडक बनेपा–बर्दिवास १९८२ मा सुरु गरेको हो, तर २०१५ मा सम्पन्न भयो,” उनले भने, “हामीले त कम्तिमा पनि ५ वर्ष भनेर भनेका छौं, लुम्बिनीसम्म रेल पुर्या उन कम्तिमा पनि ५ वर्ष समय लाग्छ, त्यही भएर मैले यसो भनेको हुँ ।” उनले नेपालमा कुद्ने रेल नेपालकै हुने र त्यो पनि आधुनिक हुने दाबी गरे ।
मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधीन हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको बताए । “यो राजमार्गका लागि हामीले ६ खण्ड छुछ्याएका थियौं, त्यसमध्ये एक खण्डको काम करिब–करिब सम्पन्न भइसकेको छ, ७० किमीको एउटै सेक्टरमा त करिब पीच नै भैसकेको छ,” उनले भने, “१५१ पुलमध्ये ५२ वटा बनिसकेका छन्, ६० पुल पूर्ण हुने चरणमा छन् ।”

प्रतिक्रिया दिनुहोस्