कर्णाली प्रदेशको आर्थिक विधेयक पारित «

कर्णाली प्रदेशको आर्थिक विधेयक पारित

सुर्खेत-कर्णाली प्रदेशको आर्थिक कार्यविधि विधेयक कार्यविधि पारित भएको छ । बुधबार बसेको प्रदशसभाको ९ औं बैठकले प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको आर्थिक कार्यविधि विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।
मंगलबार बसेको बैठकमा सैद्धान्तिक छलफल भएको विधेयकमाथि बुधबारको बैठकमा दफावार छलफल गरिएको थियो । दफावार छलफलमा प्रदेशसभा सदस्य सीता नेपालीले मात्रै उल्लेख गरिएका शब्द लगायतका विषय सुधार गर्नुपर्ने सुझाव दिएकी थिइन् । छलफलपछि दु्रत मार्गबाट विधेयक पारित गरिएको छ ।
विधेयक पारित भएपछि अब प्रदेश सरकारलाई आर्थिक क्रियाकलाप सञ्चालनका लािग बाटो खुलेको छ । प्रदेश सरकारले तत्कालै चालु आर्थिक बर्षको बजेट ल्याउने, प्रदेश सञ्चित कोष खडा गर्ने, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय स्थापना गर्ने जस्ता काम गर्ने जनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक विधेयक पारित भएपछि प्रदेश सरकारलाई आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको जनाए । “आर्थिक कार्यविधि विधेयक पारित भएको छ,” आर्थिक मामिला मन्त्री ज्वालाले भने, “अब प्रदेश सरकारले आर्थिक क्रियाकलाप अगाडी बढाउँछ ।” चालू आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरिरहेको प्रदेश सरकारले सरकारका लागि बजेट ल्याउने बाटो खुलेको छ । चालू आर्थिक वर्षका लागि बजेट निर्माणको तयारी भैरहेको र चैत अन्तिमसम्मा बजेट प्रस्तुत गरिने मन्त्रीले ज्वालाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्