सम्बन्ध सुमधुर बनाउन भारत जाँदैछु : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सद्भावना भ्रमण भएको बताएका छन् । बुधबार बिहान सरकारी निवास बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा ओलीले भारत भ्रमण देशको हितका लागि बताए । “यसपालिको भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैन । देशको अहितमा कुनै काम गरिँदैन,” उनले भने, “विगतका सन्धी सम्झौता कार्यान्वयनमा जोड दिइने र भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
पूर्व प्रधानमन्त्रीहरुले ओलीलाई भ्रमणको सफलताको शुभकामना दिँदै नेपाल–भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्न सुझाएका छन् । उनीहरुले पुरानो मानसिकता राखेर २१ औं शताब्दीको सम्बन्ध विकास गर्न नसकिने धारणा राखे । उनीहरुले भारतसँगको सम्बन्ध सुधार, विकास निर्माणमा सहयोग लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । साथै उनीहरुले राष्ट्रहित विपरीत र मुलुकलाई दीर्घकालीन असर पर्ने कुनै पनि सम्झौता नगर्न पनि सचेत गराएका छन् ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताएका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।
यस्तै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताए । उनले भारतलाई संविधान कार्यन्वयनमा भइसकेको र समस्या नभएको भनेर बुझाउनुपर्ने बताए । छलफलमा पूर्व प्रधानमन्त्री देउवा, नेपाल, दाहाल, झलनाथ खनाल, लोकेन्द्र बहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिती थियो ।