पुँजी परिचालनमा बैंकहरू कमजोर

बैंकहरूले पुँजी वढाएको अनुपातमा लगानी गर्न नसकेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको इक्विटीमा प्रतिफल (आरओई) घटेपछि बैंकहरूले लगानी गर्न नसकेको देखिएको हो । चालू आवको पहिलो त्रैमासमा बैंकहरूको वास्तविक वित्तीय अवस्थालाई चित्रित गर्ने आरओई घटेको छ । यो अवधिमा बैंकहरूले ४२ प्रतिशतले पुँजी वढाएका छन् भने नाफा ३ प्रतिशतले मात्र बढाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए । “बैंकले पुँजी बढाएअनुसार लगानी गर्न नसक्दा रिटर्न अन इक्विटी घटेको हो,” उनले भने ।
वित्तीय क्षेत्रमा देखिएको कर्जा लगानीयोग्य पुँजी अभावका कारण बैंकहरूले पहिलो त्रैमासमा लगानी बढाउन नसकेका हुन् । बैंकहरूले पुँजी वृद्धिको अनुपातमा लगानी गर्नका लागि निक्षेप बढाउनुपर्ने अवस्था भए पनि लगानी गर्न भने नसकेको देखिन्छ । बैंकहरूले निक्षेपका लागि वढाएको ब्यजादर आजसम्म पनि घट्न सकेको छैन । सञ्चालनमा रेहका २७ वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा बैंकहरूको यो आवको पहिलो त्रैमासमा आरओई घटेको हो । आरओईलाइ वार्षिक रूपमा गणना गरिने हँुदा असोज मसान्तसम्मको तथ्यांकलाइ वार्षिकीकरण गरी निकालीएको तथ्यांकअनुसार सबै बैंकको इक्विटीमा प्रतिफल घटेको छ ।
बैंकको पुँजी परिचालनको अवस्था देखाउने सूचककको रुपमा रहेको आरओई १५ प्रतिशतभन्दा माथि हुनु सकरात्मक हो । तर, चालू आवको पहिलो त्रैमासमा १९ बैंकको आरओई १५ भन्दा तल रहेको छ । आरओईको औसत मापदण्डदेखि माथि रहनेमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक, स्ट्यण्डर्ड चार्टर्ड बैंक र सानिमा बैंक रहेका छन् ।
“सबै वाणिज्य बैंकको रिटर्न अन इक्विटी घटेको छ,” दाहालले भने, “बैंकहरूले नाफा वढाउन नसकेपछि रिटर्न अन इक्विटी घटेको हो ।” चालू आवको पहिलो त्रैमासमा बैंकहरूको कर्जा प्रवाह वृद्धिदर २१ प्रतिशत मात्र रहेको हुनाले पनि आरओई घटेको दाहालले बताए । पुँजी धेरै बढाए पनि नाफा वृद्धिदरमा उच्च गिरावट आएपछि घटेको आरओई तत्काल बढ्ने सम्भावना पनि नरहेको दाहालले बताए । “यो तीन महिनामा क्यापिटल एडिक्वीसी रेसियो पनि औसत १४.६३ पुगेको छ,” उनले भने, “यो बढ्नु भनेको पुँजी आइडल हुनु हो ।”
चालू आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै जनता बैंक र प्रभु बैंकको आरओई घटेको छ । दुबै बैंकको आरओई १६ प्रतिशतभन्दा धेरैले घटेको छ । सो अवधीमा सबैभन्दा धेरै नेपाल बैंकको रहेको छ । नेपाल बैंकको पनि गत आवको तुलनामा चालू आवको पहिलो त्रैमासमा साढे १२ प्रतिशतले घटेको छ । गत आवको तुलनामा चालू आवको असोजसम्ममा नेपाल इन्भेष्टमेन्ट बैंक र एनएमबी बैंकको पुँजी परिचालन आवस्था करिब उस्तै रहेको देखिन्छ ।
सेयरमा लगानी गर्ने लगानीकर्ताले पनि बैंकको रिटर्न अन इक्विटीलाइ हेरेर लगानी गर्ने गर्छन् । कुनै पनि कम्पनीको रिटर्न अन इक्विटी १५ प्रतिशत छ भने त्यो कम्पनीको सेयरका लागि लगानीकर्ता नेटवर्थको २ गुणासम्म लगानी गरेर सेयर खरिद गर्दा समेत प्रतिफल आउने विश्लेषण गर्न सकिन्छ ।
आरओईको आधारमा सेयरमा लगानी गर्ने लगानीकर्ताको लागि १९ बैंकको सेयरमा जोखिम देखिएको छ । तर, पहिलो त्रैमासको विवरणअनुसार ८ वाणिज्य बैंकको सेयरमा लगानी गर्दा जोखिम कम हुने देखिएपनि गत आवको तुलनामा घटेको छ । आरओइलाइ आधार मानेर सेयरमा लगानी गर्ने लगानीकर्ताले हालको बजार मूल्यलाइ कम्पनीको नेटर्वले भाग गरी १५ भन्दा माथि आरओई भएका कम्पनीको सेयर मात्र किन्ने नकिन्ने निर्णय गर्न सक्छन् । तर, पहिलो त्रैमासअनुसार अधिकासं बैंकहरूको सेयर खरिदमा जोखिम देखिएको छ ।