क्लिङ्कर समस्या र पारवहन सन्धि पुनरावलोकन «

क्लिङ्कर समस्या र पारवहन सन्धि पुनरावलोकन

वीरगन्ज- वीरगन्जका उद्योगी व्यवसायीहरूले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा नेपालमा आयात गर्ने क्लिङ्करमा देखिएको समस्या समाधान गर्न र १९९६ को नेपाल भारतबीचको व्यापार तथा पारवहन सन्धि पुनरावलोकन गर्न माग गरेका छन् । शुक्रबारदेखि हुन लागेको ओलीको भारत भ्रमणमा व्यापार तथा पारवहन सन्धिलाई समय सापेक्ष परिमार्जन गरी व्यापार घाटा न्यून गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
नेपाल भारत मैत्री संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेश उपाध्यक्ष अशोक वैदले नेपाल र भारतबीच अन्य मुलुकसँग भन्दा छुट्टै खालको सम्बन्ध रहेकोले यसलाई कायम राख्दै विगतमा भएको सन्धि सम्झौता कार्यान्वयन गराउनतर्फ नेपालले जोड दिनुपर्ने बताए । उनले भने, “नेपाल भूपरिवेष्ठित देश हो, दुईदेशबीचको कनेक्टिभीटी महत्वपूर्ण छ । हवाईमार्ग र रेलमार्गको सम्पर्कलाई पनि जोड दिनुपर्छ ।”
यस्तै, रक्सोलमा वातावरण प्रदूषणको बहानामा क्लिङ्कर अनलोडमा लगाइएको रोकावटले नेपालका १३ वटा सिमेण्ट उद्योग संकटमा रहेकोले त्यसको समाधानका लागि पहल गर्नुपर्ने र अहिले मुज्जफरपुरबाट हुँदै आएको ढुवानीका लागि मोतिहारीदेखि रक्सोलसम्मको सडक खराब रहेकोले त्यसको मर्मतमा पनि भारत सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
“रक्सोलको समस्या रेलवेको भएपनि पर्यावरणको बहानामा नेपालको सिमेन्ट उद्योगलाई संकटमा पारेको छ, यो नेपालले गम्भीर रुपमा लिएर भारत सरकारसँग कुरा गर्नुपर्छ,” उनले भने । क्लिङ्कर आयातामा अवरोधका कारण अहिले नेपालको सिमेण्ट उद्योगहरूमा ४१ प्रतिशत उत्पादन लागत बढेको वैदको भनाइ छ । त्यस्तै कोलकाताबाट हुने पारवहन सेवामा पनि ड्यामरेज (विलम्ब शुल्क), टिडेन्सन लगायतका शुल्क तिर्नुपर्ने बाध्यता रहेकोले कोलकतादेखि वीरगन्जसम्म ढुवानीका लागि बेग्लै रेलसेवाको माग गर्नुपर्ने बताए ।
नेपाल र भारतको धर्म र संस्कृतिमा मेल खाने भएकोले नेपालर भारत दुवै देशबीच संयुक्त धार्मिक तथा पर्यटन वोर्डको गठन गरी धार्मिक पर्यटनको विकास गरेर आर्थिक विकास गर्न सकिने भएकोले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरेका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका सदस्य सुरेशकुमार रुंगटाले दुई देशबीचको व्यापारघाटा कम गर्न भन्सार राजस्व नीतिमा पुनरावलोकन गर्नुपर्ने बताए । भारतबाट आउने तयारी सामानमा कम भन्सार महशुल लग्ने तर नेपालमा उत्पादनका लागि आयात गरिने कच्चा पदार्थमा बढी भन्सार महशुल लाग्ने भएकोले नेपाली वस्तुले पतिस्पर्धा गर्न नसकी धरासायी हुदै गएको उनले बताए । यसका लागि नेपालको आयात प्रतिस्थापनका लागि प्रभावकारी नीति बन्नु आवश्यक रहेको उनको भनाइ छ । उनले भने, “नेपालका मैदा मिलहरूले उत्पादन गर्दा भिटामिन मिसाउनुपर्ने भन्दै कडाई गर्ने तर भारतमा उत्दान हुने मैदा सहज आयात हुन्छ । त्यसैले यसको असमान व्यावस्था हटाउनुपर्छ ।”

‘भारतीय कर्मचारीको भ्रमण गन्तव्य नेपाल’
काठमाडौं- पर्यटन व्यवसायीले प्रधानमन्त्रीको भ्रमणमा भारतका सरकारी कर्मचारीको भ्रमण सूचीमा नेपाललाई पनि सहभागी गराउने यसअघिको घोषणा कार्यान्वयनमा जोड दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँका सरकारी कर्मचारीले नेपाल भ्रमणमा आउँदा पनि सुविधा पाउने घोषणा गरे पनि हालसम्म कार्यान्वयन भएको छैन । “भारतका कर्मचारीहरू समरको छुट्टीमा जाने बेला भएकाले अहिले नै यो व्यवस्था कार्यान्वयन हुनसके नेपालको पर्यटन क्षेत्रमा ठूलो राहत पुग्नेछ,” होटल संघका नेपालका महासचिव विनायक शाहले भने, “प्रधानमन्त्रीको भारत भ्रमणमा यसलाई प्राथमिकतामा साथ उठाउनु जरुरी छ ।” उनले भारतीय कर्मचारीहरू नेपाल भ्रमणका लागि निकै उत्सुक रहेको भन्दै यो घोषणा राजनीतिक तहमा सीमित रहेकाले कार्यान्वयन गर्न भारतीय पक्षलाई स्मरण गराउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्