पैसा नपाएपछि गौचनको हत्या

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गुण्डाहरूले पैसा नपाएपछि भएको खुलेको छ । गौचन हत्याको ३५ दिनपछि आरोपित ५ जना अभियुक्त सार्वजनिक गर्दै प्रहरीले हत्याको मुख्य कारण टेन्डर स्वीकृत हुनुअघिको आर्थिक लेनदेन भएको स्पष्ट पारेको हो । समीरमान बस्नेत र मनोज पुनको समूहले गौचनसँग मोलमोलाई गर्नेक्रममा डेढकरोड रुपैयाँ मागेको स्रोतको भनाइ छ ।
“गौचनको हत्याको मुख्य कारण आर्थिक लेनदेन नै देखिन्छ,” अनुसन्धानमा संलग्न एक अधिकारीले भने, “गौचन संलग्न भएका विभिन्न टेन्डर स्वीकृतिपछि गुन्डाहरूले आर्थिक मोलमोलाइ गरे, त्यसक्रममा कुरा नमिलेपछि उत्पन्न रिसइवी हत्यामा परिणत भयो ।” प्रहरीले पछिल्लो १ वर्षयता गौचन संलग्न ठेक्कापट्टासम्बन्धी कागजातमाथिसमेत अनुसन्धान अघि बढाएको छ ।
डाँफे कन्स्ट्रक्सनका अध्यक्षसमेत रहेका गौचनको नयाँबानेश्वर ओमशान्ति चोकबाट खरिबोटतर्फ मोडिने क्रममा २ जना अपरिचित व्यक्तिको गोली प्रहारबाट उनको हत्या भएको थियो । वा १३ च ४९४८ नम्बरको कारमा सवार रहेको गौचनको टाउको, वायाँ कोख र छातीमा गोली लागेपछि सिभिल अस्पताल लैजानेक्रमम बाटैमा निधन भएको थियो । सरकारले गोचनलाई शहीद घोषणा गरीसकेको छ ।
महानगरीय प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले हत्यामा संलग्न ५ जना अभियुक्तलाई सार्वजनिक गर्दै मुख्य अभियुक्तलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताए । एआइजी चन्दले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न पञ्चकन्या गाउँपालिका–५ नुवाकेटका २१ वर्षीय राजिव स्याङतान (तामाङ), राजीव तामाङ (स्याङतान), कालिकामाई गाउपालिका–१ पर्साका ३५ वर्षीय शिवजी महतो, वेतिया ग्रामपञ्चायत विहार (भारत)का २४ वर्षीय मुकेशकुमार पाण्डे, ठोरी गाउँपालिका–५ पर्साका १८ वर्षीय सन्तोष गुरुङ र नागार्जुन नगरपालिका–४ काठमाडौंका २२ वर्षीय प्रकाश बुढाथोकीलाई सार्वजनिक गरेका हुन् । गौचन हत्याको भोलिपल्ट असोज २४ गते प्रहरी प्रहरीका अनुसार स्याङतान सुटर हुन् । प्रहरीका अनुसार हत्यामा प्रयोग गरिएको बरामद मोटसाइकल काठमाडौं वेवारिसे अवस्थामा फेला पारिएको थियो भने आरोपित पाँचजनालाई वारा र वीरगञ्जबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका महतोले हतियार र मोटरसाइकल व्यवस्थापन गरेका थिए । भारत विहारका पाण्डेले हतियार तथा गुरुङले मोटसाइकल व्यवस्थापनमा सहयोग गरेको अनुसन्धानबाट खुलेको छ । हत्याका अर्का आरोपित बुढाथोकी विहार र वीरगञ्जबाट आएका अभियुक्तलाई व्यवस्थापन गर्ने जिम्मा पाएका थिए । हत्याका मुख्य योजनाकार समीरमान बस्नेत र मनोज पुन रहेको खुलेको छ । पक्राउ परेका बुढाथोकी समीरमानकै सहयोगी रहेको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए । त्यस्तै लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्यामबहदुर गुम्वे, काले दाई भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा फरार छन् । अधिकांश अभियुक्त भारत र खाडीमुलुकमा लुकेर बसेको प्रहरी आशंका छ । पुन, बस्नेत र लोप्साङ लामा भारतमा रहेको अनुसन्धानम संलग्न प्रहरी अधिकरीले बताएका छन् ।
प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयका डीआइजी गणेश केसीको संयोजकत्वमा विशेष ब्यूरोका एसएसपी शेरबहादुर बस्नेत, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दिवेश लोहनी सहित ७ सदस्यीय टोलीलाई घटनाको अनुसन्धान गर्न जिम्मेवारी दिएको थियो ।
प्रहरीका अनुसार आपराधिक गिरोहले १ महिना अघिबाटै हत्याको योजना बनाएको पनि खुलेको छ । हत्यामा प्रयोग गरिएको मोटरसाइकल समेत भारतबाट वीरगञ्ज हुँदै काठमाडौं ल्यएर नेपाली नम्बरप्लेट राखिएको पाइएके छ । “१ महिना अघिबाटै गौचनको हत्या योजना बनाएको देखिन्छ,” एआइजी चन्दले भने, “सोही प्रयोजनका भारतबाट साइन मोटरसाइकल ल्याएर बा ३५ प २४६९ नम्बरको प्लेट राखिएको देखिन्छ ।” पक्राउ परेका महतोले भारतको वेतियाबाट १८ हजार रुपैयाँमा मोटरसाइकल खरीद गरी काठमाडौंमा रहेका श्याम गुम्बे गुरुङलाई विक्री गरेका थिए । महतोले नै वेतियाबाटै ५५ हजारमा पेस्तोल खरिद गरी गुरुङलाई ६५ हजारमा बेचेको खुलेको छ । वेतियामा पाण्डेले हतियार र मोटरसाइकलवीरगञ्ज हुदै काठमाडौं सम्म ल्याउन सहयोग पु¥याएका थिए ।