कर्णाली प्रदेश समृद्धिका आधार «

कर्णाली प्रदेश समृद्धिका आधार

सुर्खेत
सबैभन्दा पहिला प्रदेशको नाम र स्थायी राजधानी निक्र्योल गरेको कर्णाली प्रदेशमा अहिले प्रदेशको आर्थिक समृद्धिका आधारका बारेमा विभिन्न बहस तथा छलफल हुन थालेका छन् । त्यस्ता बहस र छलफलबाट निकालिने निश्कर्ष भने उस्तैउस्तै छन् । विभिन्न विषयका विज्ञ, निजी क्षेत्र, सरोकारवाला व्यक्ति तथा संस्थाले कर्णालीको आर्थिक समृद्धिका लागि जलविद्युत्, वन जंगल, जडिबुटी, पर्यटन र कृषि तथा पशुपालनको विकल्पन नभएको सुझाव दिएका छन् । मुख्य आधार पूर्वाधार जलविद्युत् विकास गर्नुपर्छ ।
विभिन्न सूचकांकहरू हेर्ने हो भने अहिलेको अवस्थामा कमजोर प्रदेशका रूपमा देखिएको कर्णाली प्रदेशका सम्भावनालाई योजनामा बदल्न सक्ने हो भविष्यमा समृद्ध प्रदेशका रूपमा स्थापित हुने देखिन्छ । मुख्यगरी जलविद्युत्, पर्यटन र जडिबुटीले यस प्रदेश आर्थिक समृद्धिको ढोका खोल्ने सरोकारवालाको भनाइ छ ।

पर्यटन
कर्णाली प्रदेशको आर्थिक विकासको एक महत्वपूर्ण आधार पर्यटन हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण कर्णाली प्रदेशमा सांस्कृतिक सम्पदासमेतले पर्यटकीय महत्व बोकेका छन् । यस प्रदेशको मुख्य पर्यटकीय क्षेत्रको रूपमा स्वर्गकी अप्सरा भनेर चिनिने देशकै ठूलो ताल मुगुको रारा ताल, डोल्पामा रहेको से–फोक्सुन्डो ताल, कालिकोटमा रहेको नेपालकै अग्लो पचाल झरना, सुर्खेतको बुलबुले ताल, काँक्रेबिहार, जुम्लाको चन्दननाथ, दैलेखको पंञ्चकोशी क्षेत्र, सल्यानको कुपिण्डे दह, देवस्थल यहाँका पर्यटनको मुख्य आकर्षक गन्तव्य हुन् । यसका साथै सुर्खेतको बराह ताल, चमेरो गुफा, भेरी नदी कर्णाली नदी, ¥याफ्टिङ दैलेखमा भूर्तीमा रहेका २२ वटा देवल, नेपालकै प्रमुख मानिने एक मात्र शिलालेख दूल्लुस्थित कृतिखम्म रहेका छन । जाजरकोटको प्रमुख पर्यटकीय क्षेत्रको रूपमा मालिका गुफा, भकारे दह रहेका छन् । जुम्लामा पातारासी हिमाल, पाण्डु गुफा रहेका मुगुको रारा राष्ट्रिय निकुञ्ज, हुम्लाको बौद्ध धर्मालम्बीहरूको गुम्वाहरूमा रलिङ्ग गुम्वा, याल्वाङ्ग गुम्वा, रिझिलिङ्ग गुम्वा, कालिकोटमा तिला गुफा, ढुँगे बगैचा, रामारोशन, फुगाड झरना, पचछहरी झरनारहेका छन् । पर्यटनसम्बन्धी दख्खल रान्ने मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक खगेन्द्र अधिकारी सरकारले पर्यटनको विकासमा ध्यान दिने हो भने पर्यटनबाटै प्रदेशको आर्थिक समृद्धि सम्भव भएको बताउँछन् । कर्णाली प्रदेशमा पर्यटनका प्रचुर संभावना रहकोले उचित विकास गरी सरकारले लाभ लिनसक्नुपर्ने उनको भनाइ छ । उनका अनुसार कर्णालीमा पर्यापर्यटन, धार्मिक, साहासिक पर्यटनको प्रचुर सम्भावना रहेको छ ।
यहाँका हिमाल समुन्द्री सतहदेखि ८ हजार मिटरभन्दा बढीसम्मको उचाइमा रहेका छन् । समथल भूमिदेखि उच्च हिमाली क्षेत्रमा फैलिएको यस प्रदेशमा विविध प्रकारका वन्यजन्तु तथा वनस्पति पाइन्छन् । यसले यस प्रदेशलाई जैविक विविधतामा धनी बनाउन सक्छ । यस क्षेत्रमा रहेका हिमाल, पहाड, वनजङगल, नदी, झरना, ताल आदिले प्राकृतिक सम्पदामा पनि धनि बनाउन सक्छ ऐतिहासिक स्थल तथा साँस्कृतिक सम्पदाका हिसाबले हेर्ने हो भने पनि कर्णाली प्रदेश धनी छ । कर्णाली प्रदेश ऐतिहासिकस्थल तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण छ । खस भाषाको उत्पति स्तल जुम्लाको सिंजा, खस राज्यको राजधानी, दैलेखको दुल्लु राज्य, सुर्खेतको काक्रेबिहारलगायतका थुप्रै ऐतिहासिक स्थलको अवस्थिति तथा खस संस्कृति, थारु संस्कृति, हिमाली क्षेत्रको संस्कृतिलगायतका धेरै प्रकारका जनजातिको संस्कृतिले यस क्षेत्रलाई ऐतिहासिकस्थल तथा साँस्कृतिक सम्पदामा पनि धनी बनाएर यहाँको पर्यटन सम्भावनालाई थप प्रवल बनाएका छन् । धार्मिक पर्यटनका हिसाबले पनि कर्णाली प्रदेशको उत्तिकै सम्भावना रहेको छ । सुर्खेतको देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, दैलेखको पञ्चकोशी तीर्थस्थल, जुम्लाको चन्दननाथ मन्दिर, भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर, हुम्लाको खार्पूनाथ, महादेवल मन्दिर, कालिकोटको बडीमालिका मन्दिर, सल्यानकको खैरावाङ भगवती मन्दिर, छत्रेश्वरी मन्दिरलगायतका यस प्रदेशमा अवस्थित अन्य विभिन्न मठमन्दिर र धार्मिकस्थलका कारण यस प्रदेशलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । हिन्दुहरूको पवित्र तीर्थस्थल मानसरोवर जाने पर्यटकलाई पनि यस प्रदेश भएर जान छोेटो पर्दछ । यसले गर्दा पनि धार्मिक पर्यटनमा थप टेवा पुग्ने देखिन्छ । भित्री मधेसदेखि हिमालसम्मको भूअवस्थिति तथा कर्णाली र भेरी नदीहरूका कारण यस क्षेत्रलाई ¥याफ्टिङ, प्याराग्लाईडिङ, टे«किङ, र पर्वतारोहणजस्ता साहसिक पर्यटकीय क्षेत्रका रूपमा समेत विकास गर्न सकिने सम्भावना यस प्रदेशमा रहेको छ ।
पर्यटनको सम्भावनाबारे प्रदेश सरकार पनि गम्भिर रूपमा लागेको देखिएको छ । प्रदेश सरकारले आउँदो साललाई पर्यटन वर्षका रूपमा मनाउने घोषणागरी आवश्यक तयारी गरिरहेको छ । कर्णाली प्रदेशको पर्यटन विकासका लागि यातायात, सञ्चार, पहुँच मार्गलगायतमा भने चुनौती देखिन्छन् । यसका लािग समेत प्रदेश सरकारले कम्मर कसेर लाग्नुपर्ने देखिन्छ ।
जडिबुटी
कर्णाली प्रदेशलाई जडिबुटीको राजधानीको उपमा दिने गरिएको छ । कर्णाली प्रदेशमा बहुमूल्य यार्सागुम्बादेखि गुच्ची च्याउ, पाँचऔँले, बोझो, सुनाखरी, चिराइतो, भुत्ले, टिमुरलगायत सयौँ प्रकारका जडिबुटी पाइन्छन् । हिमाली तथा पहाडी क्षेत्रमा पाइने जडिबुटीको अहिले कच्चा पदार्थकै रूपमा भारत तथा चीनतर्फ निर्यात हुने गरेको छ । जडिबुटीलाई यस प्रदेशमै प्रशोधनगरी बिक्री गर्ने हो भने राम्रो आम्दानी हुनेछ भने स्थानीयले रोजगारी पनि पाउनेछन् । हालसम्म सरकारले जडीबुटीबाट राजश्व समेत उपयुक्त ढंगबाट संकलन गर्न सकेको छैन । बहुमूल्य यार्चा संकलनका लागि हजारौँ मान्छेहरु पाटनमा जान्छन । त्यहाँ संकलन गरिएको यार्चा चिनियाँ व्यापारीले खरिदगरी उतैबाट चीन जानेहुँदा ठूलो मात्रामा राजश्व घाटा भैरहेको सम्बन्धि सरोकारवालाको भनाइ छ ।
उत्तरी नाका
७ वटा प्रदेश मध्य कर्णाली प्रदेशमात्रै त्यसो प्रदेश हो जसको भारतसँग सिमाना जोडिएको छैन ।
कर्णाली प्रदेशका चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला नाकालाई भने समृद्धिका ढोकाका रूपमा हेरिएको छ । हुम्लाबाट तिब्बत जोड्ने हिल्सा नाका अहिले आंशिक रूपमा सञ्चालनमा छ । यसलाई व्यापारिकभन्दा पनि मानसरोवर जानका लागि आउने पर्यटकले प्रयोग गर्ने पर्यटकीय नाकाका रूपमा अहिले प्रयोग गरिँदै आएको छ । यसलाई व्यापारिक नाकाका रूपमा पनि प्रयोग गर्न सकिने संभावना भए पनि हुम्लासम्म सडक नपुगेकाले व्यापारिक रूपमा प्रयोग गर्न सकिएको छैन । हुम्लासम्म सडक पु¥याई व्यापारिक रूपमा प्रयोग गर्न सकिए हिल्सा नाकाबाट राम्रो आम्दानी हुने यस क्षेत्रका सरोकारवालाले बताउँदै आएका छन् । हिल्सा नाकालाई खासगरी नेपालगन्ज भएर भारतसँग जोड्ने त्रिदेशीय नाकाका रूपमा विकास गर्न सकिने सरोकारवालाको भनाइ छ । नेपालगन्ज सिमिकोट सहज मोटर बाटो सञ्चालन भएको खण्डमा हिल्सा कर्णाली प्रदेशको प्रमुख व्यापारिक नाका हुनसक्ने छ । यहाँको अर्काे नाका हो मुगुको नाक्चेलाग्ना । मुगुको गमगढीदेखि नाक्चेलाग्नासम्म ९१ किलोमिटर सडक निर्माणको काम समेत अहिले भैरहेको छ । यसलाई पनि विकास व्यापारिक नाकाका रूपमा विकास गर्न सके प्रदेशको एक महत्वपूर्ण नाका बन्ने देखिन्छ । डोल्पाबाट तिब्बतको मरिङलामा नाका जोड्न सकिने अर्काे सम्भावना रहेको छ । उत्तर तिरका नाका खोल्नका लागि प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने प्रदेश उद्योग वाणिज्य संघका संयोजक पदम शाही बताउँछन् । दक्षिणतर्फ नाका नजोडिएको कर्णाली प्रदेशको आर्थिक विकासका लािग उत्तरी नाकाले महत्वपूर्ण योगदान गर्ने उनको विश्वास छ ।
२८ हजार ९७३ वर्ग किमि क्षेत्रफल पर्ने यहाँ कुल जनसंख्याको ४.८२ प्रतिशत नागरिक बसोबास गर्छन् । केन्द्रीय राजस्व संकलनमा यहाँको योगदान ज्यादै कम अर्थात् ०.१२ प्रतिशत मात्रै छ । वार्षिक ८० हजार प्रतिव्यक्ति आय रहेको यो प्रदेशमा शिक्षा स्वास्थ्य, औषत आयू, रोजगारीका सूचकांकमा पनि पछाडि नै देखिएको छ । अहिले विभिन्न कम्जोर प्रदेशका रूपमा देखिएको कर्णाली प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि संभावनालाई व्यवस्थित योजना बनाएर प्रदेश सरकारले उचित विकास गर्नुपर्ने आवश्यकता छ । मध्यपश्चिमाञ्चल विश्व विद्यालय व्यवस्थापन क्याम्पसका प्रमुख डा.नारायण पौडेल कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि रोजगारी सिर्जना गर्ने खालका व्यवसायमा सञ्चालन गर्नुपर्ने बताउँछन् । रोजगारी सिर्जना गर्नका लािग व्यवसायिक कृषि र उच्च मूल्य कृषि आयोजना सञ्चालन गर्नुपर्ने, व्यावसायिक पर्यटनको विकास गर्नुपर्ने तथा औधोगिक विकासमा प्रदेश सरकारले जोड दिनुपर्ने डा.पौडेलको भनाइ छ । उनले प्रदेशको समृद्धिका लागि प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा पनि उत्तिकै महत्पूर्ण हुने बताए । बैंकिङ क्षेत्रले अहिले भौतिक पूर्वाधारमा मात्रै लगानी गरेको भन्दै उत्पादन मुलक क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने पनि उनले बताए ।
गोविन्द खत्री 

प्रतिक्रिया दिनुहोस्