राराबाट ‘रारा कर्णाली पर्यटन वर्ष’ घोषणा «

राराबाट ‘रारा कर्णाली पर्यटन वर्ष’ घोषणा

 कर्णाली प्रदेशलाई पर्यटनको माध्यमबाट अगाडि बढाउन ६ नम्बर प्रदेशमा रहेको राराबाट आगामी वैशाख १ गते रारा कर्णाली पर्यटन वर्षको घोषणा हुँदैछ ।
रारा कर्णाली पर्यटन वर्षको सुरुवात आगामी वैशाख १ गतेबाट रारामा हुने भएपछि सो विषयमा छलफल गर्न सदरमुकाम गमगढीमा सोमबार अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मुगु जिल्लाका स्थानीयबासीले पर्यटन वर्ष घोषणा कार्यक्रममा गर्न सक्ने सहयोगबारे छलफल गरे ।
कर्णाली समृद्घिको आधार पर्यटनको पूर्वाधार मूल नाराका साथ सुरु हुन लागेको पर्यटन वर्ष घोषणा कार्यक्रमको पूर्वतयारीका लागि गृह कानुन तथा मामिलामन्त्री नरेश बहादुर भण्डारी, पर्यटन मन्त्री नन्दसिंह विष्ट, कृषिमन्त्री विमला केसीसमेतको एक टोलीले मुगुको राराताल किनारबाट पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
गृह, कानुन तथा मामिला मन्त्री नरेशबहादुर भण्डारीले पत्रकार सम्मेलनमा अहिले गरिबी हेर्न पर्यटकहरु कर्णाली आउने गरेकोमा अबको दुई वर्षमा कर्णालीको समृद्धि हेर्न र अनुसन्धान गर्न आउने गरी कर्णाली प्रदेश सरकार लागिपरेको बताए । राराबाट वैशाख १ गते प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेर पर्यटन वर्ष घोषणा हुँदैछ । वर्षैभरी कर्णालीका पर्यटकीय क्षेत्रमा पर्यटन प्रवद्र्धन हुने खालका विभिन्न गतिविधि सञ्चालन गरिने भएका छन् ।
अहिले राराजस्तो भू–स्वर्गमा पुग्न ‘नर्कको बाटो’ हिँड्नु परिरहेकाले पर्यटन वर्षमा कर्णाली राजमार्गको तत्काल स्तरोन्नति गरिने मन्त्री भण्डारीको भनाइ छ । “कर्णालीमा डाइनासोर सुनचाँदी लपेटेर बसेको छ तर यसलाई बनाउनको लागि कालीगाडको आवश्यक परेको छ । खुल्ला आँखाले देखिने रारामात्र पर्यटकीय क्षेत्र होइन, आँखाले देखिने सबै नांगा डाँडाकाँडामा समेत सुन लुकेर बसेको छ,” उनले भने ।
कृषि तथा सहकारीमन्त्री बिमला केसीले कर्णालीको विकासका लागि पर्यटन वर्ष कोशेढुंगा हुने बताइन् । कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह विष्टले प्रदेशमा रहेका पर्यटकीय स्थानहरुको प्रचार गर्ने र कर्णाली प्रदेशका जनताहरुको आयमा वृद्घि हुने हिसाबले राराबाट पर्यटन वर्ष घोषणा गर्न लागिएको बताए ।
प्रयर्न बर्ष २०७५ घोषणा गर्नको लागी समय छोटो मुख्यमन्त्रीको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने विभिन्न मन्त्रालयका मन्त्रीको संयोजकत्वमा विभिन्न कामका लागि उपसमितिहरु गठन गरिएको छ ।
दानबहादुर बुढा

प्रतिक्रिया दिनुहोस्