शालिमार होम्सको अपार्टमेन्ट बिक्री सुरु «

शालिमार होम्सको अपार्टमेन्ट बिक्री सुरु

औद्योगिक घराना तथा सम्पन्न वर्गहरूका लागि सुविधासम्पन्न आवासीय घरहरूको माग बढिरहेको बेला शालिमार ग्रुपले वीरगन्जमा निर्माण गरेको आवासीय योजना शालिमार होम्सको बिक्री खुला गरेको छ । शालिमार समूहले एक अर्बभन्दा बढी लगानीमा निर्माण गरिएको शालिमार होम्स प्रालिको चैत १५ गते बिहीबार प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले रिबन काटेर अपार्टमेन्टको उद्घाटन गरेपछि औपचारिक रूपमा बिक्री खुला भरएको हो । 
सन् २०१३ देखि निर्माण सुरु गरेको आवासीय योजनामा अहिले ब्लक ‘ए’ र ब्लक ‘बी’ गरी दुइटा अपार्टमेन्टमा ४५ वटा अपार्टमेन्ट बिक्रीका लागि तयारी अवस्थामा रहेको समूहका उपाध्यक्ष अशोकुमार वैदले बताए । बिक्री सुरु गरेको पहिलो दिन १५ वटा अपार्टमेन्ट बुकिङ भएको छ । वीरगन्जको मुख्य सडकबाट नजिक रहेको अपार्टमेन्टबाट होटल, बैंक तथा बजारहरू पनि नजिक रहेकाले सबैको रोजाई बन्ने शालिमार समूहको दाबी छ । यो संरचनामा पर्याप्त पार्किङ, पौडीपोखरी, चौविसै घण्टा बिजुलीको आपूर्ति, सुरक्षाका लागि सीसीटिभी क्यामराको निगरानी र सुरक्षा गार्ड, धार्मिक आस्था राख्नेहरूका लागि मन्दिर, प्रत्येक तलाका लागि २ ओटा सिँढी र लिफ्ट, बालबालिकाहरूका लागि बाल उद्यान तथा आगलागीको सुरक्षाका लागि प्रत्येक फ्ल्याटमा फायर फाइटरको लगायतका सुविधा रहेको वैदको भनाइ छ । त्यस्तै जिम क्लब, प्रत्येक २५ हजार लिटर पानी भण्डारण क्षमतासहितको सुविधा पनि पाइनेछ । ब्लक ‘सी’ मा अन्य ५० वटा अपार्टमेण्ट निर्माण भइरहेको उनले बताए । साढे १४ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको अपार्टमेन्टमा २७ वटा फ्ल्याट तीनवटा कोठासहितको स्नान घर, शौचालय भान्छा कोठा तथा ९ वटामा दुइटा कोठासहितको स्नान घर, शौचालय र भान्छा कोठा छ । त्यस्तै एउटा ब्लकमा चार वटा कोठासहित स्नान घर, भान्छा कोठा छ । सरकारी मापदण्ड पूरा गरी निर्माण गरिएको अपार्टमेन्टमा घरेलु कामदारका लागि स्नान घर र शौचालय सहितको छुट्टैै कोठाको पनि सुविधा दिइएको वैदले बताए । ९० लाखदेखि २ करोड मूल्यसम्मको अपार्टमेण्ट पछिल्लो समयमा बढ्दै गएको सहरी विकास र परिवर्तित मानसकिताअनुसार पनि अपार्टमेण्टमा मानिसहरूको आकर्षण बढ्दै गएको उनको भनाइ छ । जमिन किनेर घर बनाउँदा महँगो तथा सुरक्षा र आर्थिक भार समेत बढी हुने भएकोले सबै सुविधा एकै स्थानमा पाइने भएपछि जग्गा खरिद गरेर किन्ने झन्झटबाट मुक्त हुने पनि वैद बताउँछन् । आर्थिक र औद्योगिक सहर वीरगन्जमा बिक्री खुला गरिएको अपार्टमेण्ट प्रदेश नम्बर २ कै गौरव रहेको शालिमार समूहका अध्यक्ष वैद दाबी गर्छन् । नेपालका ठूला औद्योगिक घरानादेखि चिकित्सक, तथा इन्जिनियरहरूले अपार्टमेन्ट खरिद गरेको वैदले बताए ।
चारैतिर उज्यालो र अन्य स्थानका अपार्टमेन्टभन्दा फराकिलो भएकाले बस्नका लागि सुविधायुक्त अपार्टमेन्ट रहेको अपार्टमेण्ट बुकिङ गर्न आएका व्यावसायी प्रवीण गान्धीले सुनाए । औद्योगिक घरानाका परिवारहरू चारपुस्ता एकै स्थानमा बसिरहेकाले उनीहरूको रोजाइमा अपार्टमेन्ट पर्ने गरेको वैदको भनाइ छ । वर्तमान आवश्यकता पनि भएकाले विभिन्न परिवार एकै स्थानमा बसेपछि समुदायमा स्थापित हुने र भविष्यमा त्यही समुदायले नै यो अपार्टमेन्ट सञ्चालन गर्न सक्ने गरी योजना बनाइएको वैदले बताए ।    

प्रतिक्रिया दिनुहोस्