सदरमुकामसम्म पुग्यो सिंहदरबार

जिल्लाका अधिकांश स्थानीय तहका कामकारबाही सदरमुकामै हुने गरेको छ । गाउँगाउँमै सिंहदरबारको अधिकार पु¥याउने भनिए पनि योजना सम्झौता, रकम फरफारक तथा अन्य काम सदरमुकामै हुने गरेको हो ।
गाउँगाउँमा पुगेका सिंहदरबारका कर्मचारी स्थानीय तहमा नजाँदा तलब भत्ता, विकासे योजनाको सम्झौतालगायतका काम सदरमुकाम नै हुने गरेको छ । गाउँगाउँमा गएका सिंहदरबारका कर्मचारी स्थानीय तहमा नगएर सदरमुकाम नै बसेका कारण सानोतिनो काम पर्दा पनि सदरमुकाम नै धाउनु पर्ने बाध्यता रहेको नरहरिनाथ गाउँपालिका–९ लालुका रनबहादुर शाहीले बताए । “गाउँगाउँमा सिंहदरबार आएको भन्दा छियाँ(भन्दै थिए) ।” उनले भने, “हाम्मा नानातिना (हाम्रो सानोसाना) काम हन्न (गर्न) पनि सदरमुकाम आउनु पड्दोछ (पर्छ)।”
गाउँगाउँमा रहेको सिंहदरबारको काम सदरमुकाममा नै हुने भएकाले दैनिक जसो योजना सम्झौता गर्ने, आर्थिक वर्षको अन्तिम चौमासिक रकम बुझ्नेको भीड नै लाग्ने गरेको स्थानीयको भनाइ छ ।
सदरमुकाममा नै भाडाका सम्पर्क कार्यालय
जिल्ला सदरमुकाममा नै स्थानीय तहका कार्यालय भाडाका घरबाट सञ्चालन छन् । जिल्लाका ९ वटा स्थानीय तहले जिल्ला सदरमुकाम सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन् । जिल्लाको सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाले मासिक ५० हजार तिरेर भाडाको घरमा कार्य सञ्चालन गरिरहेको मेयर जसिप्रसाद पाण्डेले बताए । कार्यालय व्यवस्थापन तथा कर्मचारी आवासका लागि घर भाडामा लिएको उनले बताए । “स्थानीय तह गठन भए तर भौतिक पूर्वाधार अपुग छ,” उनले भने, “अझै चार पाँच वर्ष त गाउँपालिकाका लागि आवश्यक पूर्वाधार निर्माणमै अलमल हुन्छ ।
जिल्लाको रास्कोट नगरपालिका पुरानो स्यूना गाविसको गाविस कार्यालयबाट सेवा सञ्चालन गरिएको भए पनि जनप्रतिनिधि तथा कर्मचारी आवासका लागि मासिक २० हजार भाडा तिर्ने गरी ९ कोठे भवन भाडामा लिएको रास्कोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए । “पुरानो गाविस कार्यालय र एक निजी भवन भाडामा लिएर पनि साँघुरो भवनबाट सेवा प्रवाह गर्न बाध्य भएका छौं ।”
–रमेश रावल