विदेशी मुद्रामा लिएको ऋण हाउजिङमा लगानी गर्न नपाइने «

विदेशी मुद्रामा लिएको ऋण हाउजिङमा लगानी गर्न नपाइने

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आवश्यक परे अनुमति लिएर विदेशी बैंक तथा वित्तीय संंस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । यसरी ल्याएको ऋण हाउजिङ, रियल स्टेट तथा जग्गा विकासमा भने लगानी गर्न नपाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
यस्तो ऋण लिँदा प्राथमिक पुँजीको २५ प्रतिशत मात्र पाउने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले क वर्गका बैंकहरूलाई जलविद्युत्, सडक, सुरुङ मार्ग, विमानस्थल, केबलकार, पुललगायत भौतिक पूर्वाधार क्षेत्रमा कर्जा प्रवाह गर्न आवश्यक वित्तीय साधनको प्रबन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवत्र्य विदेशी मुद्रामा ऋण लिन सक्ने व्यवस्था गरेको होे । साथै सो कर्जा बैंकहरूले पर्यटन, कृषि तथा लघुवित्त क्षेत्रमा कर्जा प्रवाह गर्न पाउने छन् । केन्द्रीय बैंकले तोकेको पूँजी कायम गरेका बैंकले मात्र विदेशी बैंक वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन् ।
विदेशी मुद्रामा ऋण लिने सन्दर्भमा नेपाली बैंकको सञ्चालक समितिले निर्णय गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । ऋण दिने विदेशी बैंक वित्तीय संस्थालाई अन्तर्राष्ट्रिय रूपमा वित्तीय कारोबार गर्न कुनै किसिमको बन्देज नलगाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै विदेशी मुद्राको ऋणको भुक्तानी अवधि एकदेखि ५ वर्षसम्मको हुनुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्वीकृत गरेको खण्डमा यस्तो ऋण नवीकरण पनि हुन सक्ने व्यवस्था छ । ऋणको ब्याजदरलगायत ऋणदाताले लगाउने अन्य सम्पूर्ण शुल्क गरी अधिकतम लन्डन इन्टर बैंक अफर रेटभन्दा ३ प्रतिशत मात्रै धेरै हुनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । तर, यसरी ऋण ल्याउने क्रममा ऋणको जमानत वा धितो भने राख्न नपाइने व्यवस्था गरिएको छ । ऋण विदेशी मुद्रामा पनि कर्जा प्रवाह गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्रामा ल्याएको ऋण रकम विदेशी मुद्राको अन्तर बैंक कारोबारमा प्रयोग भने गर्न पाइने छैन । यस्तो ऋण लिएको, ब्याज भुक्तानी दिएको, ऋण भुक्तानी गरेको सम्पूर्ण जानकारी केन्द्रीय बैंकलाई तत्कालै उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्