इन्धनबाट १८ अर्ब संकलन «

इन्धनबाट १८ अर्ब संकलन

बूढीगण्डकी जलविद्युत आयोजनाको पूर्वाधार निर्माणका लागि पेट्रोलियम पदार्थबाट १८ अर्ब रुपैयाँ संकलन भएको छ । उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी नेपाल आयल निगमले इन्धन आयात गरी सो रकम संकलन गरेको हो । निगमले इन्धन आयात हुने भन्सार बिन्दुमा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको छ । मार्च महिनासम्म १७ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको निगमले जानकारी दिएको छ ।
निगमले बूढीगण्डकी जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणका लागि आर्थिक वर्ष ०७३÷७४ को १६ जेठदेखि भन्सार विन्दुबाट प्रतिलिटर पाँच रुपैयाँका दरले रकम संकलन गर्दै आएको थियो । सरकारले अघिल्लो वर्षको बजेटमार्फत घोषणा गरेअनुसार प्रत्येक महिना इन्धनबाट रकम संकलन गरिँदै आएको छ ।
निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बूढीगण्डकी आयोजनाका लागि मार्च महिनासम्म झन्डै १८ अर्ब रुपैयाँ संकलन भएको जानकारी दिए । “प्रत्येक महिना इन्धनबाट संकलन गरिएको रकम सरकारको खातामा जम्मा हुने गरेको छ,” उनले भने, “महिनामा ७० देखि ८० करोड रुपैयाँका दरले संकलन हुने गर्छ ।” निगमले अघिल्लो वर्ष ११ अर्ब रुपैयाँ संकलन गरेको थियो ।
सरकारले अघिल्लो आर्थिक वर्षको बजेट भाषणमा ७ अर्ब रुपैयाँ उठाउने लक्ष्यसहित इन्धनमा कर लगाउने घोषणा गरेको थियो । सोहीअनुसार निगमले एक वर्षमै लक्ष्यभन्दा बढी रकम संकलन गर्न गरेको थियो ।
निगमले अन्य शीर्षकमा समेत उपभोक्ताबाट रकम असुल गर्दै आएको छ । निगमले प्रशासनिक खर्च, पूर्वाधार शुल्क, वातावरण प्रदूषण शुल्क र सडक मर्मत शुल्क गरी विभिन्न शीर्षकमा उपभोक्ताबाट रकम संकलन गर्दै आएको छ । इन्धनबाट संकलन गरिएको रकम बूढीगण्डकी आयोजनाका प्रभावितलाई मुआव्जावापत दिने काम भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । इन्धनबाट संकलन गरिएको रकम १२ सय मेगावाटको बूढीगण्डकी आयोजनाको पूर्वाधार निर्माणमा खर्च गरिने छ ।
बूढीगण्डकी प्रभावितलाई मुआव्जा दिने काम अझै सकिएको छैन । २ खर्ब ५९ अर्ब लागत अनुमान गरिएको आयोजनाका लागि आवश्यक रकममध्ये निर्माण अवधिमा झन्डै एक खर्ब पेट्रोलियम पदार्थमा लगाइएको करबाट संकलन हुने र बाँकी रकमसमेत जुटाउन सकिने भन्दै स्वदेशी लगानीमै आयोजना बनाउनका लागि काम अगाडि बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्