नयाँ प्रविधियुक्त उद्योगको विकास जरुरी «

नयाँ प्रविधियुक्त उद्योगको विकास जरुरी

विश्वमा पछिल्लो समय विकसित नयाँ प्रविधिको उपयोग गरेर उद्योग विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको चौथो औद्योगिक क्रान्ति र नेपालका लागि यसको चुनौती र सम्भावनाबारे छलफलमा आधुनिक प्रविधिको उपयोग गरेर नेपालले समेत उद्योग विकास गर्नुपर्नेमा जोड दिइएको हो । इनहान्स्ड इन्ट्रिग्रेटेड फ्रेमवर्कका कार्यकारी निर्देशक डा. रत्नाकर अधिकारीले विश्वमा पछिल्लो समयमा रोबर्ट, ड्रोन, थ्रीडी प्रिन्टिङलगायतलाई उद्योग विकासमा उपयोग गर्न थालिएकाले यसलाई नेपालले अवलम्बन गर्दै जानुपर्ने बताए । पहिलो, दोस्रो र तेस्रो औद्योगिक क्रान्तिमा कमविकसित राष्ट्रलाई सहभागी नगराइएको भन्दै उनले नयाँ प्रविधिको चौथो आयाममा सहभागिताका लागि नेपालले पहल गर्नुपर्ने बताए । नयाँ प्रविधिले रोजगारी घटाउँदै जाने भन्दै प्रविधिको विविधीकरण गरेर यसको उपयोगमार्फत रोजगारी सिर्जना हुने भएकाले यसबाट फाइदा लिन सक्नुपर्ने बताए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र घिमिरेले कतिपय प्रविधिको उपयोग हुन थालेको बताउँदै उद्योगको विकासका लागि यसको उपयोग हुनुपर्नेमा जोड दिए । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले हरेक दिन नयाँनयाँ प्रविधिको विकास भइरहेकाले यसलाई भित्र्याएर नेपालले फाइदा लिन सक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्