अर्थतन्त्रको ऐना होइन पुँजीबजार «

अर्थतन्त्रको ऐना होइन पुँजीबजार

दोस्रो पुँजीबजार (सेयर बजार) लाई सम्बन्धित मुलुकको समग्र आर्थिक अवस्थाको ऐना मान्ने गरिन्छ । नेपालको सन्दर्भमा भने यो मान्यता सही छैन । प्रस्तुत लेखमा सेयर बजारलाई अर्थतन्त्रको ऐना मान्न नसकिने कारणहरूबारे चर्चा गरिएको छ ।
अर्थतन्त्रमा तत्काल आएको परिवर्तन वा भविष्यमा आउने परिवर्तन र सेयर बजारको तत्कालको सूचकबीच सकारात्मक अनुपातिक सम्बन्ध हुन्छ । अर्थतन्त्रको अवस्था जनाउने मुख्य सूचक जीडीपी (कुल गार्हस्थ्य उत्पादन) को आयतन, जीडीपी वृद्धिदर, प्रतिव्यक्ति आय, गरिबी दर, बेरोजगारी दर, ब्याजदर र मुद्रास्फीति दर हुन् । यी सूचक दैनिक निकाल्न र सार्वजनिक गर्न सम्भव र व्यावहारिक हुँदैन । त्यसैले सेयर बजार कारोबार सूचकका आधारमा अर्थतन्त्रको चित्र अनुभव र मापन गरिन्छ ।
मुलुकमा लगानी गरेर राम्रो मुनाफा कमाउन सकिने अर्थात् लगानीमैत्री वातवरण, मानिसहरूको खर्च गर्ने क्षमता, रोजगारी दर, मुद्रास्फीति दर, वस्तु तथा सेवा उत्पादनको परिमाण, वस्तु तथा सेवाको उपभोगलगायत तŒवहरूमा आएको परिवर्तन सेयर बजारमा तत्काल प्रतिविम्बित हुन्छ । सेयर बजारमा लाखौं संख्यामा सचेत मानिसहरूले लगानी गरिरहेका हुन्छन् । उनीहरूले पाएको सूचना, बुझाइ र विश्लेषणका आधारमा कारोबार गर्छन् । आमलगानीकर्ताको सोच र व्यवहारले औसतमा अर्थतन्त्रको अवस्थाबारे तत्कालै प्रतिक्रिया दिइरहेको हुन्छ ।
नेपालको सेयर बजारले अर्थतन्त्रको अवस्थाको जानकारी नदिनुको मुख्य कारण नेपालको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रको उपस्थिति सेयर बजारमा नगण्य हुनु हो । यहाँ अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा पब्लिक कम्पनीहरू नै छैनन् । उदाहरणका लागि जीडीपीमा कृषिक्षेत्रको ३० प्रतिशत र उद्योगको ८.५ प्रतिशत योगदान रहेको छ, तथापि पुँजीबजारमा कृषिक्षेत्रको उपस्थिति शून्य छ भने उत्पादनमूलक उद्योगमा युनिलिभर र बोटलर्स नेपालका दुई कम्पनी गरी जम्मा ३ कम्पनी मात्र सूचीकृत (सक्रिय) छन् ।
पुँजीबजारमा वित्तीय क्षेत्रको बाहुल्य रहेको छ । नेपाल स्टक एक्सचेन्जमा २ सय ८ कम्पनी सूचीकृत रहेका छन् । त्यसमा २७ वाणिज्य बैंक, ३३ विकास बैंक, २८ फाइनान्स कम्पनी, ३६ लघुवित्त कम्पनी र २२ बिमा कम्पनी गरी कुल १ सय ४६ छन् । त्यसबाहेक सरकारी बन्ड, कर्पोरेट बन्ड र म्युचुअल फन्ड पनि रहेका छन्, जबकि जीडीपीमा वित्तीय क्षेत्रको योगदान मात्र ५.४ प्रतिशत रहेको छ । यस आधारमा नेपालको पुँजीबजार वित्तीय मध्यस्थता क्षेत्रको मात्र ऐना हो भन्न सकिन्छ ।
अर्थतन्त्रमा योगदान गर्ने सबै क्षेत्रको उचित प्रतिनिधित्व हुँदैमा मात्र पनि पुँजीबजार अर्थतन्त्रको ऐना बन्न सक्दैन । त्यो पुँजीबजारका लगानीकर्ता पूर्ण रूपले सचेत अर्थात् बजारको पूर्ण जानकारी भएका हुनुपर्छ । नेपालमा अधिकांश पुँजीबजारका लगानीकर्ताहरू पर्याप्त सचेत छैनन् । उनीहरूले देखासिकी, लहड र भ्रमको भरमा लगानी गरेका छन् । उनीहरूले कारोबार गर्दा उचित निर्णय लिन सक्दैनन् । त्यसैले उनीहरूको निर्णयलाई अर्थतन्त्रको ऐना मान्न सकिँदैन ।
सूचीकृत कम्पनीहरूले वित्तीय अवस्था समयमै सार्वजनिक गर्ने, पारदर्शिताको पूर्ण पालना गर्ने र सही अवस्था सार्वजनिक गर्ने गरेको अवस्थामा मात्र पुँजीबजार सूचकले अर्थतन्त्रको अवस्थाबारे सही चित्रण गर्न सक्छ । नेपालमा पब्लिक कम्पनीहरूमा पारदर्शिता र समयमा निर्णय गर्ने प्रणालीको अभ्यास पूर्ण भएको देखिँदैन ।
यसका साथै पुँजीबजारमा लगानीकर्ताहरूको विविधताले पनि अर्थ राख्छ । बजारमा व्यक्तिगत साना–ठूला लगानीकर्ताका साथै संस्थागत ठूला लगानीकर्ता अर्थात् बजार निर्माताहरू हुनु जरुरी हुन्छ । त्यस्तै सबै इच्छुक नागरिक र गैरनागरिकले लगानीको समान अवसर पाएको हुनुपर्छ । नेपालमा सानो पुँजी लिएर बजारमा प्रवेश गरेका म्युचुअल फन्डले बजार निर्माताका रूपमा भूमिका निर्वाह गर्न सकेको देखिँदैन । प्राथमिक बजारमा विदेशी लगानी खुला भए पनि दोस्रो बजारमा प्रवेश दिइएको छैन । नागरिकको हकमा पनि अधिकांशतः राजधानीबाहिर लगानीको पहँुच छैन ।
लगानीकर्ताले सहज रूपले कारोबार गर्न पाउने गरी पुँजीबजारलाई प्रविधिमैत्री बनाइएको छैन । पहिलेको तुलनामा धेरै विकास भएको छ, तथापि अझै पूर्ण अनलाइन हुन सकेको छैन । घरमै बसीबसी मानिसहरूले सेयर किन्न र बेच्न सक्ने तथा तत्कालै खातामा रकम डेबिट वा क्रेडिट हुने प्रणाली विकास नहुँदासम्म पुँजीबजार लगानीकर्तामैत्री भएको मानिँदैन ।
पुँजीबजारका सूचकलाई विभिन्न उपसूचक, विशेष सूचक र समूहगत सूचकमा विभाजन गरिएको छ, साथै सूचक निकाल्ने विधिलाई पनि वैज्ञानिक बनाइएको छ । अर्थतन्त्रको ऐना मान्ने बाटोमा यो सकारात्मक पक्ष हो । अझै पनि लगानीकर्तालाई आफ्नो निर्णय निर्माण गर्न आवश्यक पर्ने सबै सूचना र विश्लेषणहरू नेप्सेले वेब साइटमा उपलब्ध गराउन सकेको छैन ।
पुँजीबजारले अर्थतन्त्रको ऐनाका रूपमा काम गर्न पुँजीबजारलाई आधारभूत विश्लेषण अर्थात् कम्पनीहरूको प्रतिफलको अवस्थालाई प्रमुख रूपले प्रभावित गर्ने र सट्टेबाजी (स्पेकुलेसन) ले कम प्रभावित गर्ने हुनुपर्छ । नेपालको पुँजीबजार मुख्यतः स्पेकुलेसन, हल्ला, गलत सूचना प्रवाह, हल्ला र गोप्य सूचना चुहिने घटनाबाट प्रभावित हुने गरेको पाइन्छ ।
पुँजीबजारमा केही संख्यामा जलविद्युत् कम्पनी सूचीकृत भएका छन् र अरू केही हुने क्रममा रहेका छन् । पुँजीबजारलाई अर्थतन्त्रको ऐना बनाउने क्रममा यो शुभसंकेत हो । यसका साथै ठूलो लगानीमा सञ्चालित सिमेन्ट, छड, रंग, चाउचाउ, मदिरा, टेलिकम्युनिकेसन, सुर्तीजन्य पदार्थ, दैनिक उपभोग्य सामान उत्पादक, होटललगायत उद्योगहरूलाई पुँजीबजारमा प्रवेश गराउन नीतिगत व्यवस्था र प्रयत्नहरू गरिनुपर्छ ।
मुलुकको अर्थतन्त्र कृषिप्रधान हो, तर पुँजीबजार भने वित्तप्रधान छ । सेयर बजारमा सूचीकृत कम्पनी अधिकांश वित्तीय क्षेत्रका छन् । हाल स्टक एक्सचेन्जमा २ सय ३५ सूचीकृत कम्पनी रहेकोमा २ सय वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र बिमा कम्पनी छन् । सूचीकृत कम्पनीमध्ये धेरै वित्तीय क्षेत्रका भएकाले कारोबार र बजार पुँजीकरणमा पनि यही क्षेत्रको प्रभुत्व छ । त्यसैले हाललाई नेप्से मुलुकको समग्र अर्थतन्त्रभन्दा पनि वित्तीय क्षेत्रको ऐना बन्न पुगेको छ । त्यसैले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनका कारण सेयर बजार तलमाथि हुने गरेको छ ।
अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्रका कम्पनीहरू पुँजीबजारमा छैनन् । २०४६ सालपछि राज्यले अंगीकार गरेको आर्थिक उदारीकरणले निजी क्षेत्रमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, निर्माण, सेवा, दूरसञ्चार, उत्पादन तथा प्रशोधन क्षेत्रका धेरै कम्पनी फस्टाएका छन्, तर ती कम्पनी पुँजीबजारमा आएका छैनन् ।
वित्तीय संस्था तथा जलविद्युत् कम्पनीहरूलाई सर्वसाधारणमा सेयर जारी गर्न अहिले अनिवार्य गरिएको छ, तर उत्पादनमूलक कम्पनीहरूका लागि भने यस्तो व्यवस्था छैन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र बिमा ऐनमा व्यवस्था भएकाले बैंक, वित्तीय संस्था र बिमा कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेका छन् । स्थानीय बासिन्दाको मागका कारण पछिल्लो समय जलविद्युत् कम्पनीहरूले तिनलाई सेयर छुट्ट्याउने गरेका छन् । अन्यथा सेयर जारी गर्ने, पुँजीबजारमा प्रवेश गर्ने र गराउने विषयमा उद्यमी, व्यवसायी र सरकार कसैको पनि चासो छैन । ऋणधन गरेर स्थापना गरेको कम्पनीले मुनाफा दिन थालेपछि सर्वसाधारणमा सेयर जारी गर्न उद्योगीहरूलाई चासो हुने कुरै भएन । त्यसैले यस्ता कम्पनीलाई सेयर बजारमा ल्याउन विभिन्न सुविधा दिइनुपर्छ । त्यसोे गर्दा सेयर बजारले अर्थतन्त्रलाई प्रतिविम्बित गर्ने अवस्था आउँछ ।
निष्कर्षमा भन्नुपर्दा, नेपालको पुँजीबजारले माथि उल्लिखित आवश्यक चरित्रहरू जहिलेसम्म ग्रहण गरिसक्नेछ, त्यो दिनदेखि यस पुँजीबजारलाई अर्थतन्त्रको सामयिक विम्ब देखाउने ऐनाका रूपमा स्वीकार गर्नु उचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्