उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारको आग्रह «

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सरकारको आग्रह

सरकारले मुलुकभरका सहकारी संस्थालाई उत्पादनमूलक र आर्थिक उपार्जनको क्षेत्रमा लगानी बढाउन आग्रह गरेको छ । ६१ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका अधिकारीहरुले सहकारी क्षेत्रलाई समृद्ध अर्थतन्त्र विकासमा सहयोगका लागि आग्रह गरेका हुन् ।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा नागरिकको सेवा गर्न र आर्थिक गतिविधिलाई वढावा दिन आवश्यक रहेको भन्दै अर्थतन्त्रको प्रमुख आधारका रूपमा रहेको सहकारी क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन लाग्नुपर्ने बताए । “नेपाललाई विकसित मुलुकमा स्तरोन्नति गर्न लगभग ९६ खर्बभन्दा बढी रकमबराबरको लगानी आवश्यक छ, यो लगानी आवश्यकतालाई पुरा गर्न अर्थतन्त्रको प्रमुख खम्बाका रुपमा लिइएको सहकारी क्षेत्रले ठूलो योगदान गर्न सक्छ,” मैनालीले भने, “हाल मुलुकको सिमान्त पुँजी उत्पादन अनुपात कमजोर छ, १ रुपैयाँ पुँजी उत्पादन गर्न ५ रुपैयाँ २० पैसा खर्च भइरहेको छ, यस्तो स्थिति अन्त्य गर्न पनि अर्थतन्त्रको प्रमुख पात्रका रूपमा सहकारीले पुँजी उत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ ।”
‘सहकारीमार्फत आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण’ शीर्षकमा मन्त्रालयले कार्यपत्र प्रस्तुत गरेको थियो । कार्यपत्रमा सामाजिक अन्तरघुलन र समानताका लागि सहकारीले भूमिका खेल्न सक्ने, रोजगारी सिर्जना र वित्तीय मध्यस्थतामा पनि सहकारीका गतिविधि उपयोगसिद्ध हुनुपर्ने, सामाजिक उद्यमशीलता र कृषिको व्यवसायीकरण गर्न थप योगदान दिनुपर्ने एवं स्थानीयस्तरमा खाद्यसम्प्रभुता कायम गर्न सहकारीले भूमिका खेल्नुपर्ने उल्लेख छ । हाल बचत तथा ऋण सहकारीमा मात्रै ३ खर्ब रुपैयाँभन्दा बढीको निक्षेप रहेकाले यो रकमलाई आर्थिक उपार्जनको क्षेत्रमा लगाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
सहकारी दिवसका अवसरमा सरकारले यो वर्ष दुइटा सहकारीलाई पुरस्कृत गरेको छ । झापाको महारानीझोडा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष मिनाकुमारी ढकाल र रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानु पौडेललाई १ लाख ५० हजार रुपैयाँ बराबरको सहकारी पुरस्कार दिइएको हो । त्यसैगरी केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका पूर्वप्राचार्य सूर्यरत्न शाक्य र नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संस्था (नेफस्कुन) का पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गलाई पनि मन्त्रालयले पुरस्कृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्