ओलीको भारत भ्रमण नौलो हैन : डा. महत

नेपाली कांग्रेसका नेता एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा नयाँ सम्झौता नहुने स्पष्ट पारेका छन् । उनले भने, “प्रधानमन्त्रीको भारत भ्रमण नौलो छैन, विषयवस्तु पनि नौला छैनन्, सबै विषय टेबुलमै छन् ।”
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता महतले नेपाल–भारतबीच धेरै आयामहरु भएको स्पष्ट पारे । उनले थपे, “हामीबीच खुल्ला सिमाना छ, हामी बिना परिचपयत्र नै आवतजावत गर्छौं ।” नेपालीहरु रोजगारीको सिलसिलामा भारतमा कार्यरत रहेको र धेरै भारतीय पनि नेपालमा कार्यरत रहेको उनको भनाइ थियो ।
उनले नेपालको भारतसँग व्यापार र पारवहन सन्धि सबैभन्दा धेरै रहेको र अधिकांश व्यापार पनि भारतसँगै रहेको जनाए । उनले भने, “अब हामीले यी सन्धि तथा सम्झौताहरुलाई कार्यान्वयनमा जोड दिनुपर्छ । चाँडोभन्दा चाँडो भएका सम्झौताहरुलाई कार्यान्वयनतर्फ केन्द्रित गर्नुपर्छ ।”
डा. महतले प्रधानमन्त्रीको ओलीको भारत भ्रमण सफल होस् भन्ने आफूहरुको शुभकामना रहेको सुनाए । उनले भने, “हामीले उहाँको भ्रमण सफल होस् भनेर चाहेका छौं, अहिले द्धिपक्षीय सम्बन्धमा कुनैपनि गतिरोध छैन । सबै गतिरोध अन्त्य भैसकेका छन् ।” नेपालले भारतीय र चिनियाँ दुवै राजनीतिक नेतृत्वसँग आफ्ना कुराहरु तर्कसंगत रुपमा राख्न सक्नुपर्ने महतको भनाइ थियो । नेपालमा वर्षेनि हुने डुबानका समस्या समाधान गर्न समझदारी भएकोले अब कार्यान्वयनतर्फ ध्यान दिनुपर्ने महतले बताए ।
नेपाल–भारतबीच हुने व्यापार तथा पारवाहनमा अवरोध र झमेला हुन नहुने उनको धारणा छ ।
विद्युत्मा भारतको धेरै ठूलो लगानी रहेको सुनाउँदै उनले निर्वाध रुपमा व्यापार हुने कुरामा दुवै देशबीच समान दृष्टिकोण हुनुपर्ने बताए । त्यस्तै उनले प्रधानमन्त्रीको भारत भ्रमणमा १९५० को सन्धिबारे विज्ञहरुले काम गरिरहेकोले यो विषयमा छलफल गर्नुको केही अर्थ नहुने बताए ।