मित्रतापूर्ण सम्बन्ध विदेश नीतिको मूल आधार : प्रधानमन्त्री «

मित्रतापूर्ण सम्बन्ध विदेश नीतिको मूल आधार : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणका क्रममा देशलाई अप्ठ्यारो पर्ने, नोक्सान हुने, लज्जाबोध हुने र शिर निहुर्याउने जस्ता राष्ट्रहित विपरित कुनै सहमति नहुने बताएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत २३ देखि २५ गतेसम्म हुने भारत भ्रमणबारे राष्ट्रियसभाको बैठकलाई जानकारी गराउने क्रममा उनले आफ्नो भ्रमणबाट दुई देशबीचको सदिऔँ देखिको ऐतिहासिक सम्बन्ध थप सुदृढ र फलदायी हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “देशको प्रतिनिधिका रुपमा भ्रमणमा जाँदैछु, सम्बन्ध बिगार्देला, स्वाभिमानमा आँच आउला भनेर तपाईंहरु नझस्किनु होला, नेपालको मित्रता भन्न जाँदैछु, भारतको मित्रता लिएर आउँछु ।” नेपालले दुवै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउन चाहेको उल्लेख गर्दै उनले मित्रतापूर्ण सम्बन्ध विदेश नीतिको मूल आधार भएको बताए ।
प्रधानमन्त्री ओलीले पारस्परिक सम्बन्ध र समान लाभका आधारमा सम्बन्ध विस्तार गर्नेबारे गहन छलफल हुने बताउँदै छिमेकीका जायज हितलाई सम्बोधन गरेर अघि बढ्न तयार रहेको जानकारी दिए । उनले भने, “नयाँ सम्झौताको चाङ लगाउने पक्षमा मेरो कुनै शोख छैन, पूराना सम्झौतालाई कार्यान्वयनमा जोड दिनेछ, कृषि, ऊर्जा, रेल र जलमार्गको विकास एंव विस्तारमा गहन छलफल हुनेछ ।”
नेपाललाई हुँदै आएको असाधारण व्यापार घाटाको स्थिति अन्त्य गर्न आयात घटाई निर्यात बढाउने तथा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार गर्ने कार्यलाई प्राथमिकताका साथ छलफल हुने बताउँदै प्रधानमन्त्री ओलीले भूकम्पका समयमा गरेका प्रतिबद्धतालाई समयसीमा तोकेर पूरा गर्ने विषयमा समेत छलफल गरिने उल्लेख गरे । उनले ग्यास बुलेट, भारु नोट सटहीका साथै नेपाल–भारत सीमा क्षेत्रमा हुने आतंकवाद, मानवतस्करी, लागूऔषधजस्ता अवैध क्रियाकलाप रोक्नेबारे भारतीय पक्षको चासो र चिन्तालाई पनि उचित सम्बोधन गरी दुई देशबीचको सम्बन्ध बढाउने विषयमा गहन छलफल हुने बताए ।
तराई–मधेशमा उठ्दै आएको नागरिकताको विषयलाई सम्बोधन गर्न सरकार तयार रहेको जनाउँदै उनले भने, “वंशज र अंगीकृत आमा बाबुका सन्तानले वंशजका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन र यो विषय सदाका लागि समाप्त हुनेछ तर एउटा पनि विदेशीलाई नेपाली नागरिकता दिइनेछैन ।”
मुलुकमा राजनीतिका नाममा चन्दा असुली गर्ने, अपहरण गर्ने, हिंसा मच्चाउनेलाई नियन्त्रण गर्ने दृढता व्यक्त गर्दै उनले भने, “यस्ता अपराधिक कार्य देशका लागि हितकर छैनन् ।”

प्रतिक्रिया दिनुहोस्