Logo

पुराना बेचेर ८ नयाँ जहाज किन्दै निगम

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना ४ थान जहाज बिक्री गरेर ८ थान नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ । निगमले आन्तरिक उडान गरिररेका ४० वर्ष पुराना तीन थान ट्वीनटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक थान जहाज डेढ वर्षभित्र विस्थापन गर्ने भएको हो । हाल बोइङले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । केही समयअघिमात्र निगमले एक थान बोइङ बीबी एयरलाइन्सलाई बिक्री गरिसकेको छ ।
“पुराना जहाज १५ महिनाभित्र विस्थापन गरेर ८ थान नयाँ जहाज खरिद गर्ने प्रक्रिया अगाडि बढाउँदैछौं,” निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले भने । निगमले ६ थान आन्तरिक उडानका लागि भाइकिङ ट्वीनटर जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको छ भने अन्तर्राष्ट्रिय उडानमा २ थान एयरबस ३२०–२०० सिरिजका न्यारोवडी जहाज पनि खरिद प्रक्रिया अघि बढाउन लागेको कंसाकारले जानकारी दिए ।
तीन वर्षअघि पनि निगमले सोही सिरिजका २ थान जहाज खरिद गरेको थियो । हाल उक्त दुई थान जहाजले अन्तर्राष्ट्रिय उडान गर्र्दै आएको छ भने असारभित्रै निगमले खरिद गरेका दुई थान एयरबस ३३०–२०० सिरिजका जहाज नेपाल आउँदैछन् । निगमसँग हाल अन्तर्राष्ट्रिय उडानका लागि तीन थान जहाज छन् भने आन्तरिक उडानका लागि ९ थान जहाज छन् । अन्तर्राष्ट्रियतर्फको एक थान पुरानो बोइङ विस्थापन गरेर थान दुई थान जहाज खरिद गरेपश्चात ६ थान जहाज निगमसँग हुनेछन् । जसबाट धेरै गन्तव्यमा जान सकिने भएकोले जहाज खरिद प्रक्रियालाई प्राथमिकता दिएको कंसाकारले मंगलबार एक कार्यक्रममार्फत घोषणा गरेका हुन् ।
विगतमा आन्तरिक उडानलाई प्राथमिकतामा नराखेको निगमले ६ थान चिनियाँ जहाज थपिएसंगै अन्य ६ थान ट्वीनटर जहाज खरिद गरेर १२ जहाजमार्फत आन्तरिक उडान गर्ने भएको छ । चिनियाँ जहाजमध्ये वाई–१२ जहाजको उडानमा पाइलट अभाव भएकोले केही महिनाभित्र उडान सुचारु हुने र नयाँ जहाज पनि थप्ने प्रक्रियामा गएको कंसाकारले जानकारी दिए ।
निगमलाई सामान्यत ६ थान ट्वीनटर खरिदको लागि कम्तीमा पनि ६ अर्ब रुपैयाँभन्दा बढी तत्काल आवश्यक पर्दछ । अन्तर्राष्ट्रिय उडानका खरिद गरिने एयरबस ३२०–२०० सिरिजको दुइ थान जहाजको लागि ११ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्दछ । यसरी हेर्दा निगमले जहाज खरिदका लागि १७ अर्ब रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ । दुई थान वाइडबडी जहाजको लागि २२ अर्ब ६४ करोड रुपैयाँ खर्च गर्र्दैछ । निगमलाई अहिले पनि संचयकोष र लगानीकोषले नयाँ जहाजको लागि थप ऋण दिन तयार रहेको कंसाकार बताउँछन् ।
निगमले वाइडबडी जहाज नेपाल आउनै लाग्दा उडानका लागि तयार रहेको जनाएको छ । एकथान वाइडबडी जहाजको लागि ८ क्याप्टेन र ८ को–पाइलट आवश्यक पर्दछ । दुई जहाजको लागि १६ क्याप्टेन र १६ को–पाइलट आवस्यक पर्दछन् । अहिले ४ जना नेपाली क्याप्टेन र ४ क्याप्टेन विदेशबाट ल्याउन लागिएको छ ।
निगमले वाइडबडी जहाजको ४ वटा इन्जिनको मर्मत तथा सञ्चालनको जिम्मा १२ वर्षको लागि जहाज इन्जिन निर्माता कम्पनी रोल्स रोयसलाई नै दिने तयारी गरेको छ । यसबापति मासिक ५ करोड हाराहारी रकम दिनेगरी सम्झौताको तयारी गरिएको कंसाकारले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस्