अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न निर्देशन «

अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न निर्देशन

आपूर्ति मन्त्रालयले नजिकिँदै गरेको संघ र प्रदेशको चुनावलाई लक्षित गरेर अत्यावश्यक वस्तुको आपूर्ति सहज पार्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
चुनावमा अत्यावश्यक वस्तुको खपत धेरै हुने हुँदा आपूर्ति व्यवस्था सहज पार्न नेपाल आयल निगम र खाद्य संस्थानलाई निर्देशन दिएको हो । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौडेलले चुनावलाई लक्षित गरी आपूर्ति व्यवस्था सहज पार्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए । “चुनावमा इन्धनको खपत धेरै हुनेगर्छ,” प्रवक्ता पौडेलले भने, “अहिलेदेखिनै आपूर्ति व्यवस्था नियमित राख्न निगमलाई निर्देशन दिएका छौं ।” चुनावमा सवारी साधनको प्रयोग बढ्न भएकाले इन्धनको धेरै खपत हुन्छ ।
त्यसैगरी मन्त्रालयले हुम्ला र डोल्पामा चामल ढुवानी गर्न खाद्य संस्थानलाई निर्देशन दिएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न लागि सिफारिस गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । अन्य जिल्लामा सडक सञ्जाल विस्तारसँगै स्थलमार्गबाट खाद्यान्न ढुवानी गरिँदै आएको छ । तर हुम्ला र डोल्पामा सडक सञ्जाल नपुगेपछि हवाईमार्गबाट ढुवानी गर्नुपर्ने अवस्था छ । हुम्ला र डोल्पामा ३ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्न लागिएको खाद्य संस्थानले जानकारी दिएको छ ।
संस्थानका नायम महाप्रबन्धक श्रीमणिराज खनालले हुम्ला र डोल्पामा हेलिकोप्टरबाट खाद्यान्न पठाउन नेपाली सेनालाई पत्राचार गरिएको जानकारी दिए । हेलिकोप्टरबाट ढुवानी गर्दा तेब्बर महँगो पर्ने भए पनि अन्य विकल्प नहुँदा हेलिकोप्टर नै प्रयोग गर्न लागिएको उनको भनाई छ ।
यस्तै निगमले चुनावलाई लक्षित गरेर भन्डारण क्षमता बढाउँदै गएको जनाएको छ । अहिलेदेखि नै इन्धनको मौज्दात बढाउँदै लगिएको निगम प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । इन्धनको आयात नियमित भए आपूर्तिमा कुनै समस्या नहुने उनको भनाई छ । “सवै नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन लागि परेका छौं,” उनले भने, “चुनावलाई लक्षित गरेर अहिलेदेखि नै आपूर्ति बढाउँदै गएका छौं ।”

प्रतिक्रिया दिनुहोस्