समृद्धिका बहुआयामिक सारथी «

समृद्धिका बहुआयामिक सारथी

सुदूरपश्चिमका लागि समृद्धिको दीर्घकालीन स्रोत भनेको जलविद्युत् हो । जलविद्युत् उत्पादनका हिसाबले यो क्षेत्र सबैभन्दा बढी सम्भावनायुक्त क्षेत्र हो । यस क्षेत्रका जलविद्युत् उत्पादन क्षमता निर्धारण भइसकेका नदीमा दार्चुलाका निर्माण सम्पन्न चमेलिया (३० मेगावाट) बाहेक पञ्चेश्वर (६८८० मेगावाट), टनकपुर ब्यारेज (१२० मेगावाट), बझाङको सेती–१ (३५ मेगावाट) सेती–२ (७५ मेगावाट), पश्चिम सेती (७५० मेगावाट), अछामको बूढीगंगा (२० मेगावाट), सेती र बूढीगंगाको संगम अछामको चाइरवानजिक (६०० मेगावाट), अछामकै अपर कर्णाली (३०० मेगावाट), अछाम–सुर्खेत सीमाको मध्यकर्णाली (१६० मेगावाट) र चिसापानी कर्णाली (१०८०० मेगावाट) हुन् । महाकाली र कर्णाली वेसिनमा मात्रै ३४ हजार मेगावाटभन्दा बढी जलविद्युत् उत्पादन क्षमता छ । यहाँका साना मझौला आयोजना निर्माणबाट आन्तरिक विद्युत् माग पूर्ति गरी ठूला आयोजनाको उत्पादन निर्यात गर्न सकिने सामथ्र्य यस क्षेत्रसँग छ । ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना नै यस क्षेत्रमा सरकारीस्तरबाटै सुरु भएको एकमात्र आयोजना हो । अर्को ७५० मेगावाटको पश्चिम सेती आयोजना निर्माण प्रक्रियामा गएर अवरुद्ध भएको छ । पहिलो पटक निजी क्षेत्रको प्रयासमा बझाङ्को कालङ्गागाड जलविद्युत् आयोजना (६५ मेगावाट) र दार्चुलाको नौगाड दोस्रो (८ मेगावाट) र अपर चमेलिया (४० मेगावाटको) निर्माणका लागि साढे १८ अर्ब रुपैयाँ लागतमा काम सुरु भएको छ । पञ्चेश्वर, कर्णाली, चिसापानीजस्ता बहुउद्देश्यीय आयोजनाको नियन्त्रित भारतमा सुख्खायाममा ४० लाख हेक्टर जमिनमा अतिरिक्त सिँचाइ सुविधा उपलब्ध हुने प्रतिवेदनले देखाएका छन् । प्रदेश नं. ७ जलस्रोतले कति धनी हो भन्ने कुरो यिनै तथ्य लिएर निजी क्षेत्र र यहाँका आमनागरिकले दबाब दिने हो भने विद्युत् निर्यातबाटै सुदूरपश्चिमले डलर आर्जन गर्न सक्छ । त्यो पनि दीर्घकालीन रूपमा यिनै तथ्यहरुलाई किनारा लगाएर अहिले भइरहेको राजनीतिले नै यो प्रदेश विकासमा पछाडि परेको हो ।
कृषि
कृषि नेपालीको पहिलो पेशा हो त्यसमध्ये अधिकांश सुदूरपश्चिमेली जनताको प्रमुख पेशा नै कृषि मानिन्छ । १९ लाख ५३ हजार ९ सय हेक्टर कुल क्षेत्रफलमध्ये ३ लाख ५५ हजार ९८ हेक्टर जमिन छ । त्यसमध्ये ३ लाख ७ हजार १६५ हेक्टर क्षेत्रफमा मात्रै खेती गरिन्छ । कुल खेतीयोग्य जमिनमध्ये ४६ प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नपुगेकै कारण ४८ प्रतिशत जमिन बाँझै छ । यस क्षेत्रलाई वार्षिक ५ लाख ६१ हजार ७४५ मेट्रिक टन खाद्यन्न आवश्यक पर्छ । वार्षिक ४ लाख ९५ हजार ६८९ मेट्रिक टन यही क्षेत्रमा उत्पादन हुने गरेको छ । बाँकी आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता छ ।
क्षेत्रभरि गरी अहिलेसम्म १ लाख ६० हजार उन्नत जातका गाई १ लाख ४५ हजार भैंसी उत्पादन भएका हुन्छन् । करिब ४० हजार दुधालु भंैसी रहेका छन् । दूध प्रतिव्यक्ति वार्षिक आवश्यक ९१ लिटर रहकोमा ६३ लिटर, मासु १४ किलो रहेकोमा १०.५ किलो र अण्डा प्रतिव्यक्ति वार्षिक ४६ गोटा रहेकोमा १४ गोटामात्रै उपलब्ध गराउन सकिएको छ । कैलाली कञ्चनपुरमा मात्रै वार्षिक २ अर्बको खपत हुने गरेकोमा अधिकांश कुखुरा तथा तथा अण्डा र मासुजन्य पदार्थ भारतलगायत देशबाट आयात हुने गरेको छ । कैलालीमा रहेको रानीजमरा, कञ्चनपुरमा महाकाली सिँचाइ निर्माणाधीन योजना सम्पन्न भए पहाडी जिल्लामा सेती, महाकाली, बूढीगँगालगायत नदी करिडोरमा रहेका खेतीयोग्य फाँटमा सिँचाइ सुविधा पु¥याउन सके कृषि उपजको उत्पादन निकै वृद्धि हुने र यहाँको माग पूर्तिमात्र नभई निर्यातसमेत गर्न सकिन्छ ।सरकारले यस क्षेत्रमा अपेक्षाअनुसार लगानी नगरिदिँदा वार्षिक करोडौंको खाद्य र पशुजन्य वस्तु भारतबाट आयात गर्नु परेको छ ।
पर्यटन
बाह्य सहयोग बिना सरकारको लचिलो नीतिले मात्र सम्भव हुने एक व्यवसाय हो पर्यटन । यो व्यवसाय भनेको यस्तो हो जसका लागि कच्चा पदार्थ र लगानी बाहिरबाट आयात गर्नुपर्दैन । आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रदेश नं. ७ भू–स्वर्गकै रूपमा गनिन्छ । यहाँ नगन्य रूपमा साँस्कृतिक विविधता प्राकृतिक फाँटहरू छन् । सैपाल र साइपालको नामले चिनिने सुर्मा सैपाल हिमाल यो हिमाल आरोहण गर्दा पर्यटकलाई रोयल्टी मिनाहा गरिएको छ । त्यस्तै, ८५ बिघा क्षेत्रफमा फैलिएको टिकापुर पार्क नेपालको ठूलो मानव निर्मित उद्यान हो । यो २०१८ सालमा राजा महेन्द्रले चिकित्सको सल्लाहअनुसार स्वास्थ्य लाभका लागि कर्णाली नदीको किनारको उद्यानमा बसेका थिए । यसै उद्यानबाट राजा महेन्द्रले २८ दिन राजकाज चलाएका थिए । त्यसैगरी, हिन्दूहरूको ठूलो आस्थाको केन्द्र हो मानसरोवर । दार्चुलाको तिंकर र ताक्लाकोट हुँदै हुम्लाको सिमकोटबाट हिल्सा हुँदै मानसरोवर पुग्न सकिन्छ । भौतिक पूर्वाधारका अभावले त्यहाँ पुग्न १८ दिन र कम्तीमा ५० हजार रुपैयाँ खर्च हुन्छ ।
स्वर्गको टुक्रा मानिने खप्तड क्षेत्रलाई नेपालको स्विट्जरल्याण्ड पनि भन्ने गरिन्छ । खप्तड सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको स्की स्पट पनि हुन सक्छ । त्यस्तै अछाममा तालतलैयाको क्षेत्र रामारोशन यस क्षेत्रको गहना मानिन्छ । यस क्षेत्रमा पर्यटनलाई लोभ्यानका लागि रामारोशन क्षेत्रमा महोत्सव मेलाजस्ता कार्यक्रम भइराखेका हुन्छन् । यसैगरी मन्दिरै मन्दिरको जिल्ला बैतडीमा त्रिपुरासुन्दरी, मैलौली देहीमाडौंको दर्शन गरे मागेको चित्ताउने विश्वास छ । शिवरात्री यहाँ मेला लाग्दा भारतका हजारौँ दर्शानार्थी आउने गर्छन् । यसैगरी २२ पाटनको बीचमा २४ हजार फिट उचाइको बाजुराको कैलाशमाडौंमा रहेको बडिमालिका यस क्षेत्रको ठूलो शक्तिपीठ हो । बडिमालिका मन्दिर वि.सं १४२३ मा भन्दा अघि स्थापना भएको हो । त्यस्तै, डोटीको शैलेश्वरी मन्दिर नेपालका शक्तिपीठ मध्ये एक हो । यसको महत्व र गरिमा जति छ अन्तर्राष्ट्रियस्तरसम्म यसको प्रचार–प्रसार पुग्न सकेको छैन । त्यस्तै कैलालीको घोडाघोडी ताल पनि धार्मिक तथा पर्यटकीय हिसाबले एक मानिन्छ । यस क्षेत्रका विकासका लागि केन्द्रीय सरकार तथा प्रदेश सरकारले ध्यान दिन जरुरी छ ।
प्रदेश नं. ७ मा विकासका थुप्रै सम्भावना छन् । स्थानीय सरकारदेखि पदेश र संघीय सरकारको ध्यान ती सम्भावनाको पहिचान र उजागर गरी अल्पकालीन र दीर्घकालीन प्रकृतिका योजना तथा बजेटमा समावेश गर्नुपर्छ । वास्तवमा यी आयोजनाले प्रदेश नम्बर ७ को मात्रै समृद्धि नभई मुलुकको मुहार फेर्न ती योजना सफलीभूत हुन्छ भन्नेमा दुईमत छैन ।
हिमेश विक

प्रतिक्रिया दिनुहोस्