जलविद्युत्मा लगानी नउठेसम्म कर छुट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जलविद्युत् क्षेत्रमा लगानी गरेको रकम नउठेसम्म कर छुट गर्ने घोषणा गरेका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान) ले आइतबार सुर्खेतमा आयोजना गरेको ‘कर्णालीको समृद्धिका लागि जलविद्युत्’ विषयक छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीमा लगानी भित्र्याउन यस्तो गर्ने बताएका हुन् । उनले गरिबी र जीविकोपार्जनमा समेत समस्या भएको कर्णालीमा जलविद्युत् आयोजनाले यसको समस्या समाधान गर्ने भन्दै प्रदेश सरकारले स्पष्ट नीति बनाएर लगानीकर्तालाई आकर्षण गर्ने बताए । कर्णाली प्रदेशमा विद्युत् खपतको लागि बजार रहेको उल्लेख गर्दै सरकारले सुरक्षाको ग्यारेण्टिसहित जलविद्युत् क्षेत्रमा बन्द हड्ताल अन्य गर्ने पनि मुख्यमन्त्री शाहीले बताए । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णालीलाई लगानीका निम्त्ति शान्ति क्षेत्र घोषणा गर्ने उल्लेख गर्दै कर्णालीप्रति डराउने लगानीकर्ताको मनोभावलाई लोभ्याउने गरी नीति निर्माण गरिने बताए । लगानीकर्ता र सरकारको दुवैलाई फाइदा हुने गरी कर नीति ल्याउने उल्लेख गर्दै मन्त्री ज्वालाले लगानीकर्तालाई कर्णाली प्रदेशमा आउन आग्रह गरे । भौतिक पूर्वाधार तथा योजना विकासमन्त्री खड्कबहादुर खत्रीले नीति कानुनमा सुधार गरी कर्णाली प्रदेशमा लगानीका लागि उचित वातावरण बनाउने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले लगानीका लागि कर्णाली प्रदेश उपयुक्त रहेको उल्लेख गर्दै यसका लागि उचित वातावरण निर्माण गर्न प्रदेश सरकार लाग्नुपर्ने बताए । जलस्रोत मन्त्रालयका पूर्वसचिव शीतलबाबु रेग्मीले संवैधानिक रूपमा प्रदेश, केन्द्र र स्थानीय सरकारलाई जलविद्युत आयोजनाअघि बढाउन विभिन्न अधिकार दिएकाले यसको आधारमा अघिबढ्न जरुरी रहेको बताए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिले जलविद्युत् आयोजनामा कुनै पनि अवरोध नगर्ने प्रतिबद्धता जनाउँदै सहजीकरणका लागि सबै किसिमको समन्वय गर्ने बताएका छन् । ईपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले सम्भावनाका हिसाबले कर्णाली प्रदेशमा जलविद्युत्को ठूलो सम्भावना रहेकाले लगानीकर्ता आकर्षित गर्नका लागि उपयुक्त नीति, योजना, कार्यक्रम र प्रक्रिया जरुरी रहेको बताए । कार्यक्रममा लगानी बोर्डका सहसचिव मधुप्रसाद भेटुवाल, ऊर्जा मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्त, ईपानका पूर्वअध्यक्ष खड्कबहादुर विष्टलगायतले कर्णाली प्रदेशको जलविद्युत्को सम्भावना र भविष्यबारे कार्यपत्र प्रस्तुत गर्दै जलविद्युत्मार्फत नै कर्णाली प्रदेशलाई समृद्ध बनाउन सकिने बताए ।
–गोविन्द खत्री