होटलमा लगानी वृद्धि

प्रदेश ७ मा (साविक सुदूरपश्चिम) पछिल्लो समय होटल व्यवसायको तीव्र रूपमा विस्तार हुन थालेको छ । यहाँ नौ वटै जिल्लामा यातायातको पहुँच भई आन्तरिक तथा बाह्य पर्यटकको चहलपहलमा वृद्धि भएपछि होटल ब्यवसायको तीव्र रूपमा विस्तार हुन थालेको हो । व्यवसायीहरूका अनुसार यस क्षेत्रमा विगत ३ वर्ष यतामात्र होटल व्यवसायमा १२ अर्बभन्दा बढी लगानी भएको छ । विशेषगरी कैलाली जिल्लाको धनगढी र कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सुविधायुक्त होटल खोल्ने क्रम निकै बढेको छ ।
कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं धनगढीस्थित होटल साथीका सञ्चालक दिनेशराज भण्डारीले कैलालीका धनगढी, अत्तरिया र टीकापुरमा गरी होटल व्यवसायमा मात्र करिब ५ अर्ब लगानी भइसकेको बताए । पछिल्लो समय कैलालीको धनगढीमा ठूलो लगानीमा डिभोटी, साथी, रुवस, दिनेश, जलशा, रुबस, आफ्नो घर टेम्पल, फ्लोरा, जगदम्बा, विद्यालगायतका होटल खुलेका छन् भने टीकापुरमा सिद्धार्थ, ग्रीन एसिया तथा अत्तरियामा रेडसन, गोदावरी रिसोर्ट, हाइवे प्लाजा रहेका छन् । कञ्चनपुर जिल्लामा पनि अहिलेसम्म होटल व्यवसायमा तीन अर्ब लगानी भइसकेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष पदमराज अवस्थीले बताए । अहिले कञ्चनपुरमा होटल ओपेरा, गंगोत्री, साक्षी, न्यू आनन्द, सौगातलगायत होटल छन् ।
त्यस्तै पहाडी जिल्ला डडेल्धुरा, डोटी, अछाम, बझाङमा पनि होटल खुल्ने क्रम बढेको छ । यो प्रदेशमा सबैभन्दा बढी गैरसरकारी संस्था भएको र पछिल्लो समयमा हरेक जिल्ला सडक सञ्जालमा जोडिएका कारण पनि व्यवसाय फस्टाउन गई होटलमा लगानी गर्नेको संख्यामा वृद्धि भएको नाटा सुदूरपश्चिमका संयोजक एवं होटल ब्यवसायी मायाप्रकाश भट्टले बताए ।
ठूला होटल, ठूलै लगानी
पछिल्लो समय धनगढीमा होटल व्यवसायमा ठूलो लगानी हुन थालेको छ । केही वर्षयता आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होटलमा लगानी बढ्दै गइरहेको हो । धनगढीमा ठूला होटेल थपिने क्रम पनि बढेको छ ।
होटल व्यवसायी संघ कैलालीको तथ्यांकअनुसार जिल्लामा रहेका होटलमा झण्डै चार अर्ब रुपैयाँभन्दा बढी लगानी भएको देखिन्छ । ती होटलमा आठ हजार बढीले रोजगार पाएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष महेश शाह बताउँछन् । ठूलो लगानी भएका होटलमात्रै जिल्लामा २० वटाभन्दा बढी भएको संघको तथ्यांकमा उल्लेख छ । धनगढीमा रहेका होटल डिभोटी, द रुवस होटल, होटल साथी, होटल जगदम्बा प्रालि, होटल जलसा तथा आफ्नो घर टेम्पल व्यवसायमा ठूलो लगानी गरेका छन् ।
ठूला होटलको स्थापनाले यहाँको पर्यटन प्रवद्र्धन तथा आर्थिक चहलपहल बढाई दिएको होटल सनलाइटका प्रबन्ध निर्देशक तथा कैलाली होटल ब्यवसायी संघका अध्यक्ष कलम बमले बताए । “६ सात वर्ष पहिले धनगढीमा एउटा पनि स्तरिय होटल थिएनन्,” धनगढीका पुराना होटल व्यवसायीमध्येका एक बमले भने, “ठूला होटल नहुँदा यहाँ हुनुपर्ने ठूला कार्यक्रमहरु नेपालगञ्ज वा अन्यत्र हुने गरेकामा अहिले त्यो अवस्था छैन ।”
सुदूरपश्चिममा प्रशस्त पर्यटकीयय गन्तव्य छन् । ती गन्तव्यहरूको प्रचार (प्रसार गरेर अझै पर्यटन भित्र्याउने सके होटल तथा अन्य क्षेत्रमा लगानी बढाउन सकिने विश्वास कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीको छ । उनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनलाई राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताए ।
होटल व्यवसायमा लगानी बढ्दो
७ नम्बर प्रदेशको विकास तब मात्रै सम्भव हुन्छ जब औद्योगिक व्यवसाय र पर्यटन व्यवसायले मूर्त रूप लिन्छ । निजीक्षेत्रबाट जुन प्रकारको लगानी र व्यवसायका लागि पहल गर्नुपर्ने थियो, त्यो केही हदसम्म नभएको होइन । कैलालीको मात्रै कुरा गर्ने हो भने होटल व्यवसायमा ४ अर्ब लगानी पुगिसकेको छ । साथै, यो व्यवसायले ८ हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
यहाँको निजीक्षेत्र राज्यको साथ र सहयोगविना जोखिम लिएरै भए पनि विकास यात्रामा अगाडि बढेको छ । १ दशकअघिसम्म सुदूरपश्चिममा स्तरीय होटल नभएकै कारण यहाँ आयोजना हुने कार्यक्रम मध्यपश्चिम सार्नुपर्ने अवस्था थियो । त्यो अवस्था अहिले पूर्ण रूपमा हटिसकेको छ । थ्री–स्टारसम्मका होटल धनगढीमा खुलिसकेका छन् । यस क्षेत्रका अधिकांश होटलहरू पर्यटकलाई लक्षित गरेर स्थापना भएका हुन् ।
हामीले आफ्नो तर्फबाट गर्न सक्ने लगानी र व्यवसाय विस्तारमा राज्यलाई दोष दिएर बस्नुभन्दा कुनै न कुनै काम गर्ने हो तर नीतिगत रूपमा राज्यले पनि यस क्षेत्रलाई विकासको दृष्टिबाट कसरी समानता दिने भन्नेमा राज्य चुकेको महसुस हामीले गरेका छौं । हाम्रा मुख्य पर्यटक भनेका भारतीय नागरिक नै हुन् ।
तर, उनीहरूलाई प्रशासन र सीमाक्षेत्रमा खटिएका अधिकारीहरूले अनावश्यक दुःख दिने अवस्थाका कारण केही असहज छ । अहिले पनि हाम्रो व्यवसायमा दक्ष जनशक्तिको ठूलो अभाव छ । दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढेका कारण यो समस्या सिर्जना भएको हो ।
७ वटै जिल्लामा पर्यटक बस्ने गरी क्षमता वृद्धि
आर्थिक वर्ष ०७१/७२ मा सातवटा जिल्लामा पर्यटकका लागि २८ वटा होटल सञ्चालनमा आएका थिए । ०७२/७३ मा होटलको संख्या वृद्धि भएर ३४ पुगेका थिए । ती होटलमा ९७५ पर्यटक बस्ने गरी क्षमता वृद्धि गरिएको छ । ११ सय १६ पर्यटक बास बस्न सक्ने गरी प्रदेशका ७ वटा जिल्लामा होटल खुल्ने क्रम बढ्दै गएको हो । सबैभन्दा बढी पर्यटकलाई लक्षित गरी कैलालीमा होटल सञ्चालनमा आएका छन् भने दोस्रो नम्बरमा कञ्चनपुर छ । कैलालीमा होटल रुबस, डिभोटी, रुबस, फ्लोरालगायतका छन् भने कञ्चनपुरमा ओपेरा, गंगोत्री, जंगल कटेज, न्यू आन्नदलगायतका होटल सञ्चालनमा आएका छन् । कैलालीमा २१ करोड रुपैयाँ तथा कञ्चनपुरमा १५ करोड रुपैयाँसम्म लगानी भएका होटल सञ्चालनमा छन् ।
निजीक्षेत्रका अनुसार कर्णालीमा ठूला–साना होटल गरी झण्डै ३ अर्ब लगानी पुगेको छ भने कञ्चनपुरमा २ अर्बको हाराहारीमा होटलमा लगानी भइसकेको छ । डोटीमा १ अर्ब तथा अन्य पहाडी जिल्लामा झण्डै २ अर्बको हाराहारीमा लगानी भइसकेको निजी क्षेत्रको भनाइ छ । थ्री–स्टार सुविधाका होटल ७ नम्बर प्रदेशमा खुलिसकेको व्यवसायी बताउँछन् ।