पर्यटक पर्खिंदै रामारोशन

पर्यटक पर्खिंदै रामारोशन होम साउद अछाम न धेरै गर्मी, न त धेरै चिसो । मनमोहक प्राकृतिक दृश्य र मनै लोभ्याउने थरिथरिका लालिगुराँस फुलेको यो मौसम रामारोशन घुम्नेका लागि अतिउपयुक्त समय हो । बाह्र बण्ड अठार खण्डका नामले परिचित सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक अछामको रामारोशन यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ ।
रामारोशन क्षेत्रमा फागुनदेखि जेठको अन्तिमसम्म घुम्न र अवलोकन गर्नका लागि निकै उपयुक्त समय मानिने गर्दछ । विभिन्न आकारका १२ वटा ताल अर्थात् बण्ड र ठूल ठूला १८ वटा घाँसे मैदान अर्थात् खण्डले निःपूण स्वर्गको एक टुक्रा अछामको रामारोशनले नयाँ वर्षसँगै आफ्नो आगनीमा पर्यटकका लागि ठाउँ खाली गरेको छ । वसन्त ऋतु र नयाँ वर्षमा रामारोशन घुम्न आउने पर्यटकलाई सन्तुलित वातावरण र अनुकूल मौसमसमेत पाइन्छ ।
साना ठूला ताल वरपरका मैदानमात्रै होइन रामारोशको परिचय र पहिचान झल्काउनका लागि यहाँ अन्य थुप्रै प्राकृतिक स्रोत रहेको यहाँका स्थानीय बताउँछन । रामारोशन क्षेत्रभित्र लोपोन्मुख जंगली जनावरदेखि बहुमूल्य जडिबुटी पनि प्रशस्तै पाइन्छ । लापोन्मुख लौंठ सल्लालगायत बोटबिरुवा र वनस्पतिसमेत पाइने रामारोशन क्षेत्रमा पछिल्लो समय पर्यटकको आर्कषणका लागि केही भौतिक विकास र प्रचारप्रसारका लागि स्थानीय सरकार र सरोकारवाला पनी जुटिरहेका छन । रामारोशन गाउँपालिकाले पर्यटन गुरुयोजना नै बनाएर रामारोशन क्षेत्रको विकासका लागि पहल गरिरहेको गाउँपालिका अध्यक्ष झंकर साउदले बताए । उनले भने, “पर्यटकीय क्षेत्र रामारोशनमा आउने पाहुनाका लागि होमिस्टे र रिसोर्ट सञ्चालनको प्रयास भइरहेको छ, अहिले पनी पर्यटकका लागि बास बस्न र खानको ब्यवस्था प्रभावकारी बनाइएको छ ।” गाउँपालिकाले पर्यटन गुरुयोजनाअनुसार काम अघि बढाएर अबको ५ वर्षभित्र सबैको प्रमुख गन्तब्य रामारोशनलाई बनाइने अध्यक्ष साउदले बताए । रामारोशन क्षेत्रलाई संरक्षित क्षेत्र र युद्ध पर्यटनको विकासका लागि समेत पहल भइरहेको उनको भनाइ छ । पर्यटक बढाउन पर्यटन तथा साँस्कृतिक महोत्सव रामारोशनको विकास र प्रचारप्रसारका लागि यतिबेला रामारोशनमै महोत्सवसमेत आयोजना गरिएको छ । यही चैत २१ देखि २७ गतेसम्म पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको हो । बिगतका वर्षहरुमा पनि यहि समयमा रामारोशन महोत्सव, गन्तब्य रामारोशनजस्ता विभिन्न कार्यक्रम हुने गरेका भए पनि यो वर्ष पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष जनक साउदले जानकारी दिए । रामारोशन गाउँपालिका मुख्य प्रवद्र्धक रहने गरी आयोजना गरिएको महोत्सवमार्फत रामारोशनको पर्यटन प्रवद्र्धन, विकास, प्रचार प्रसार र स्थानीय कला संस्कृति तथा स्थानीय उत्पादनको समेत प्रवद्र्धन हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ । महोत्सवमार्फत स्थानीय कला संस्कृतिको संरक्षण, विकास र प्रवद्र्धनसँगै रामारोशनको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने र हजारौं दर्शकले महोत्सवसँगै रामारोशन क्षेत्रको समेत अवलोकन गर्न सक्ने जनाइएको छ । महोत्सवको अवसरमा पर्यटकीय क्षेत्र रामारोशनको बाह्र बण्ड अठार खण्डको भ्रमण र अवलोकन, त्यहाँ पाइने जडिबुटी र वन्यजन्तुहरूको अवलोकनसमेत गराइने महोत्सव आयोजक समितिले जनाएको छ ।
रामारोशनका ताल संरक्षणमा समस्या
पर्यटनको प्रचुर सम्भावना बोकेको रामारोशन क्षेत्रका ताल संरक्षणको अभावमा सुक्दै जान थालेका छन् । पछिल्लो समय तालको संरक्षण र रामारोशन क्षेत्रको विकासका लागि सबैको ध्यानाकर्षण भए पनि पर्याप्त लगानी नहुँदा यस्तो समस्या भएको हो । रामारोशन क्षेत्रमा रहेका प्रमुख तालमा जिंगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा हुन् । उल्लेखित १२ तालमध्ये तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेका छन् भने गेराहा ताल पुरिन थालेको स्थानीयले बताएका छन् । तालहरूको संरक्षण हुन नसक्दा ताल पुरिन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।
पहिलेको भन्दा तालमा पानी सुक्दै जानु दुःखद कुरा भएको स्थानीय चन्द्र भण्डारीले बताए । ताल सुक्ने र पुरिने सम्भावना थप बढ्दै जानुका पछाडि राज्यका चाँहिने जति सहयोग र पहलकदमी नभएको भण्डारीले बताए । पछिल्लो समय जिल्लाभित्र र जिल्ला बाहिरबाट पनि पिकनिक खान आउने र रामारोशनको अवलोकन गर्न आउनेको संख्या बढ्दो क्रममा रहेको बेला बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि सबै सरोकारवाला जुट्नुपर्ने बेला आएको अखिल क्रान्तिकारी अछामकी कोषाध्यक्ष तथा स्थानीय कमला विकले बताइन् ।
रामारोशनसम्म कसरि पुग्ने ?
जिल्लाको पूर्वीउत्तरमा पर्ने रामारोशन क्षेत्र समुन्द्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ७९२ मिटर उचाइमा अवस्थित रामारोशन पुग्न विभिन्न ठाउँबाट जान सकिन्छ ।
रामारोशनका तालसँगै हजारौं जीवजन्तुको बासस्थान, चराचुरुंगीको चिरबिर आवाज, लोभलाग्दो जंगल र घाँसे मैदान, भ्यू टावरभन्दा फरक नपर्ने अग्ला रहर लाग्दा पहाड, जगलको बीच बीचमा भेटिने गुफा, थरिथरिका लालिगुराँसलगायतका फूलहरूको दृश्य, लौठ सल्लालगायत अन्य वनस्पती, बहुमूल्य जडिबुटी र पवित्र कैलाश नदीको मुहानको समेत अवलोकन गर्न चाहनेका लागि अछामबाट विभिन्न रुट प्रयोग गरी रामारोशन पुग्न सकिन्छ ।
सबैभन्दा चल्तिको रुट अछामको जयगढबाट दर्ना, गजडबजार हुदै मुजाबगर भएर त्यहाँ पुग्न सकिन्छ । यस बाटोमा सार्वजनिक जीपहरु निरन्तर चल्ने गर्दछन् भने निजी सवारी साधन लगेर पनि जान सकिन्छ । दोस्रो रुट अछाम सदरमुकाम मंगलसेनबाट वलिगाउँ हुदै मुजाबगर भएर रामारोशन जान सकन्छि । यस्तै अछामकै बिनायकबाट समेत रामारोशन जान सकिन्छ भने यो रुटमा सडक यातायातको पहुंच पुग्न सकेको छैन । यस्तै रामारोशन घुम्न जानका लागि कालिकोटको बाटो भएर पनि आउन सकिन्छ तर अछामको मंगलसेन र जयगढबाट जाने रुट सबैभन्दा सजिलो र सहज मानिन्छ । रामारोशन आउने पर्यटकका लागि पछिल्लो समय रामारोशनकै चौका, शैनीबजार र मुजाबगरजस्ता बजारमा स्थानीयले होटल सञ्चालनमा ल्याएका छन् । दिनभरि रामारोशन घुमेर साँझ यी बजारमा रहेका होटेलमा बास बस्न सकिन्छ ।
–होम साउद