नेपालको सेयर बजारको उतारचढाव
नेपालको सेयर बजारले हिजोआज ज्यादै उतारचढावको प्रवृत्ति देखाइरहेको छ । यो प्रवृत्ति नेपालको पुँजीबजारको इतिहासमा नौलो भने होइन, साथै विकसित पुँजीबजारमा पनि यस्ता अनुभव नभएका होइनन् । संसारमा सेयरको मूल्य आफंैमा रहस्यमय रहेको छ । यसका बारेमा धेरै अनुसन्धान भएका छन्, तर हालसम्म यसको शतप्रतिशत भविष्यवाणी गर्न कठिन नै देखिएको छ । त्यसैले ‘यदि कसैले भोलिको सेयरमूल्य थाहा पाउँछ भने ऊ एक रातमा अरबपति हुन्छ’ भन्ने भनाइ यस क्षेत्रमा प्रख्यात छ । यो पृष्ठभूमिमा यस आलेखमा हाल नेपालको सेयर बजारमा देखिएको उतारचढावका कारणहरूको पहिचान र यसको निराकरणका बारेमा परिचर्चा गर्ने जमर्को गरिएको छ ।
विकसित पुँजीबजारको पर्यायका रूपमा संयुक्त राज्य अमेरिकाको पुँजीबजारलाई पनि लिइने गरिन्छ । यसको प्रवृत्तिलाई नियाल्दा सन् १९३० को दशकको उतारचढाव, १९८७ को चर्चित बजार दुर्घटना, सन् २१०० को पहिलो दशकको सुरुका वर्षहरूको उतारचढाव र सन् २००७–०८ तिरको वित्तीय संकटका कारण भएको उतारचढावजस्ता उल्लेख्य उतारचढावहरूलगायत कैयौं अन्य उतारचढावहरू रहेका छन् ।
नेपालको सेयर बजारको विगतलाई नियाल्दा यसमा पनि प्रशस्तै उतारचढाव पाइन्छन् । नेपालको सेयर बजार परिसूचक २०७२ जेठदेखि भदौसम्म करिब साढे तीन महिनाको अवधिमा १ सय ४४ प्रतिशतभन्दा बढीले वृद्धि भएको पाइन्छ भने २०६५ भदौदेखि पुससम्म करिब ४ महिनाको अवधिमा ४१ प्रतिशतभन्दा बढीले घटेको पाइन्छ । पछिल्लो ०६२÷६३ को राजनीतिक परिवर्तनपछिको प्रवृत्ति हेर्दा २०६२ पुसमा ३०३ को हाराहारीमा रहेको नेपालको सेयर परिसूचक ७१ प्रतिशतभन्दा बढीले वृद्धि भई एक वर्ष पछि २०६३ पुसमा ५२० को बिन्दुमा पुगेकोे थियो । त्यस पछि पनि एकै वर्षमा १ सय ४३ प्रतिशतले वृद्धि भई २०६४ पुसमा यो परिसूचक १०६४ को बिन्दुमा पुगेको थियो । यसरी यो परिसूचकमा २०६२ साल पुसदेखि २०६५ भदौसम्म साढे तीन वर्षको अवधिमा २ सय ८७ प्रतिशत भन्दा बढीले बृद्धि भई यसले ११७५ को उच्च बिन्दु छोएको थियो । त्यसपछि ओरालो लागेको सेयर परिसूचक ४ महिनाको अवधिमै ४१ प्रतिशतले घट्न गई २०६५ पुसमा ६९५ को बिन्दुमा पुगेको थियो । यसको घट्ने क्रम निरन्तर रही २०६८ असारमा न्यूनतम् बिन्दु २९२ मा पुगेको थियो अर्थात् यो परिसूचक २०६५ भदौदेखि २०६८ असारसम्म ३ वर्षभन्दा कम अवधिमा झन्डै तीन चौथाइले घटेको थियो ।
नेपालको सेयर बजारको वर्तमान उतारचढावको कारण पहिचान गर्न हामीले माथि उल्लेख गरिएको विगतको सेयर परिसूचकको निरन्तर ओरालो लागेको प्रवृत्तिको तथाकथित कारणलाई पनि जोड्नु उपयुक्त हुन्छ । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजार एक जुवा हो भनेको कारणले घटेको भनिएको सेयर परिसूचक पहिलेको बिन्दुमा आउन करिब सात वर्ष लाग्यो जबकि उहाँ करिब सात महिना मात्र अर्थमन्त्री हुनुभयो । त्यति मात्र होइन, यो परिसूचक उहाँ अर्थमन्त्रीबाट बाहिरिएपछि पनि निरन्तर घटिरह्यो र न्यूनतम् बिन्दु २९२ सम्म पुग्यो । हिजोआज फेरि वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र हो भनेको हवाला दिंदै सेयर बजारमा उतारचढाव देखिएको छ । यस्तो घटना अन्तर्राष्ट्रिय बजारमा पनि भएको पाइन्छ । सन् १९९६ को डिसेम्बरमा अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ बोर्डका तत्कालीन अध्यक्ष एलान ग्रिनस्पानले एउटा रात्रिभोजमा वित्तीय क्षेत्रसँग सम्बन्धित प्रचलित ठट्यौली भन्ने क्रममा उच्चारण गरेका दुई शब्द ‘विवेकहीन उत्साह’ ले अमेरिकाको सेयर बजारमा मात्र नभएर विश्वका अन्य सेयर बजारमा समेत तुरुन्त असर देखिएको थियो । त्यस समयमा एकै दिनमा जापानको सेयर परिसूचक ३.२ प्रतिशतले, हङकङको सेयर परिसूचक २.९ प्रतिशतले, जर्मनी र लन्डनका सेयर परिसूचकहरू ४ प्रतिशतले र अमेरिकाको सेयर परिसूचक २.३ प्रतिशतले घटेका थिए । पछि त्यो ठट्यौली सबैले बिर्सिए, तर ती दुई शब्द ‘विवेकहीन उत्साह’ बिर्सिएनन् र लामो समयसम्म लगानीकताको मानसपटलमा रहिरहे । अन्तर्राष्ट्रिय सेयर बजारमा उक्त घटना र ती शब्दहरूमा मात्र लगानीकर्ताहरूले ध्यान दिनुपछाडिको कारण लगानीकर्ताहरूको सामाजिक मनोविज्ञान हो भनी निचोड निकालिएको छ ।
सम्पत्तिको मूल्यांकनमा नयाँ सिद्धान्तको व्याख्या गरी योगदान गरेबापत् सन २०१३ को अर्थशास्त्रतर्फको नोवेल पुरस्कार सह–विजेता, पुँजी बजारका प्रख्यात ज्ञाता, प्रा. शिलरले सेयर बजारको सम्बन्धमा ‘लगानीकर्ताको मनोविज्ञानले बजारको प्रवृत्ति निर्धारण गर्छ’ भनेका छन् । उनले सेयर बजारको विशेषता प्रस्ट्याउने सिलसिलामा सेयर बजारमा ‘अन्धाले अन्धाको नेतृत्व गरिरहेको हुन्छ’ सम्म भनेका छन् । माथि नै उल्लेख गरिसकिएको छ कि सेयर बजारमा मूल्यको भविष्यवाणी आजका दिनसम्म रहस्यमय नै छ । साथै, कुनै पनि सेयर बजारमा सेयरको भविष्यको मूल्य बजारमा प्रभावकारी भूमिका खेल्न सक्ने लगानीकर्ताहरूको सामूहिक मनोविज्ञानमा आधारित हुन्छ । नेपालको सेयर बजारको हालैको उतारचढावको पछाडिको कारक वर्तमान अर्थमन्त्री डा. खतिवडाको सेयर बजार अनुत्पादक क्षेत्र हो भन्ने भनाइ अर्थात् उहाँको सेयर बजारप्रतिको दृष्टिकोण हो भन्ने चर्चा चलिरहेको छ । तर, यससँग माथि उल्लेख गरिएको ग्रिनस्पानको भनाइसँग जोडिएको अन्तर्राष्ट्रिय सेयर बजारका घटनाहरू र नेपालकै तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईको भनाइसँग जोडिएको नेपालको सेयर बजारका घटनाहरूलाई जोडेर हेर्दा हिजोआजको सेयर बजारको उतारचढावको प्रमुख कारक वर्तमान अर्थमन्त्रीको भनाइ र दृष्टिकोणभन्दा पनि नेपालको सेयर बजारको लगानीकर्ताहरूको सामाजिक मनोनिज्ञान नै हो । अर्थमन्त्रीको भनाइ तथाकथित कारण मात्र बनेको छ ।
माथि उल्लेख गरिएको ग्रिनस्पानको भनाइसँग सम्बन्धित अन्तर्राष्ट्रिय बजारका घटनाहरू र हाल नेपालका अर्थमन्त्रीको भनाइको असरका रूपमा देखिएको नेपालको सेयर बजारको उतारचढावबीच एकरूपता पाइन्छ । उक्त समयमा अन्तर्राष्ट्रिय सेयर बजार निकै उत्साहका साथ बढिरहेको थियो र उक्त वृद्धि उपयुक्त हो कि होइन भन्ने प्रश्नले अधिकांश लगानीकर्ताको मनस्थितिमा घर गरेको थियो । तसर्थ उनले ठट्यौली भन्ने क्रममा प्रयोग गरेका दुई शब्दले मात्र लगानीकर्ताको ध्यान खिच्यो । त्यस्तै गरी डा. खतिवडा अर्थमन्त्री भएपछि उहाँले सेयर बजारका बारेमा के दृष्टिकोण बनाउनुहुन्छ भन्ने प्रश्नले अधिकांश नेपाली लगानीकर्ताको मनस्थितिमा पनि घर गरेको थियो । साथै, सेयर बजार अनुत्पादक लगानी होइन भन्ने तथ्यलाई पनि लगानीकर्ताहरूको मनोविज्ञानले दह्रोसँग विश्वास गरिरहेको छैन । तसर्थ उहाँले कुनै सञ्चारमाध्यममा दिएको अन्तवार्तामा प्रयोग भएका दुई शब्द ‘अनुत्पादक क्षेत्र’ ले लगानीकर्ताको ध्यान खिच्यो र त्यसैको हवाला दिंदै घटेको सेयर परिसूचकले कमजोर मनस्थितिका लगानीकर्ताहरूलाई अझ अत्यायो । फलस्वरूप एक सामाजिक मनोविज्ञानका रूपमा यो एकपछि अर्को लगानीकर्ताको मनस्थितिमा हैजासरह फैलिरहेको छ र लगानीकर्ताहरूको इच्छाशक्तिलाई कमजोर बनाइरहेको छ ।
यसबारेमा नेपालको सेयर बजारमा प्रभाव पार्ने निश्चित सानो संख्याका लगानीकर्ताहरूको हात रहेको छ भन्ने पनि चर्चामा नआएको होइन, तर लगानीकर्ताको मनोविज्ञान दह्रो भयो भने यिनीहरूले पनि खेल्न सक्दैनन् । तसर्थ सेयर लगानीकर्ताहरूले कम्पनीहरूको वित्तीय विश्लेषण गर्नुका साथै कम्पनीले प्रस्तुत गरेका व्यावसायिक योजना र सम्भावनाहरूको अध्ययन गरी कम्पनी छनोट गरी लगानी गरेमा स्वयं आफ्नो निर्णयप्रति ढुक्क भई दृढ मनोविज्ञान बनाउन सकिन्छ । फलस्वरूप सेयर बजारको उतारचढाव दीर्घकालसम्म प्रभावकारी रहँदैन र यसको प्रभाव पनि अधिक नकारात्मक हुँदैन । साथै सन् २००८ को अन्तर्राष्ट्रिय वित्तीय संकटको कारक तत्कालीन अमेरिकी सरकार नभए पनि त्यस बेला तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले शब्द चयनलाई ख्याल गर्दै आफ्नो बोलीमा नियन्त्रण गरेझैं वर्तमान अर्थमन्त्रीले पनि विचार पुराउनु श्रेयस्कर हुने देखिन्छ ।
–नारायण बाँस्कोटा