राहत नपाए आत्महत्या गर्ने माछापालक कृषकको चेतावनी

मोरङका बाढीपीडित माछा कृषकले सरकारले तत्काल राहत रकम नदिए आफैंले खनेको पोखरीमा आत्महत्या गर्ने चेतावनी दिएका छन् ।
गत साउन २८ गते आएको बाढीका कारण आफूहरूको उठिबास भएको उनीहरूको गुनासो छ । बैंक र वित्तीय संस्थाहरूबाट ऋण लिर्न नसकेर घरजग्गा लिलाम हुने अवस्थामा पुगेको माछा पालन संघ मोरङका अध्यक्ष बालाराम प्रसार्इंले बताए । जिल्ला कृषि विकास कार्यालयमा पटक–पटक धाउँदा पनि राहत पाउन नसकेको उनको गुनासो छ । “हालसम्म झन्डै सय पटक कार्यालयमा धाइसक्यौं तर राहत पाएका छैनौं,” अध्यक्ष प्रसाईंले भने, “राहत नपाउँदा ऋणमा डुब्नेस्थिति सिर्जना भएको छ ।”
बाढीपछि मोरङको कृषि क्षेत्रका लागि ५ करोड ८४ लाख रुपैयाँ निकासा भएको थियो । पछिल्ला केही वर्षयता मोरङमा माछा पालन व्यवसाय फस्टाउँदै गएको थियो । जिल्ला आत्मनिर्भर हुने क्रममा थियो । तर, बाढीपछि अधिकांश किसानले व्यवसाय छाडेका छन् । जिल्लाका ७०७ जना माछा पालन किसानको क्षति भएको थियो । मोरङमा मात्रै ३५७ हेक्टर क्षेत्रफलमा लगाएको माछा पोखरी बाढीले बगाएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । राहतका लागि जहदाका ३०९, धनपालका ८, विराटनगर २३, सुनवर्षिका ३५, उर्लाबारीका ४, पथरीशनिश्चरेका ३, ग्रामथानका ८८ किसानले निवेदन दर्ता गराएका थिए । त्यस्तै सुन्दरहरैंचा–बेलबारीका ७६, कानेपोखरीका १७, रंगेलीका ७२, कटहरीका २७ बूढीगंगाका १५, लेटाङका २, रतुवामाईका ३ र केराबारीका २ जनाले राहतको माग गर्दै निवेदन दिएको अध्यक्ष प्रसाईंले जानकारी गराए ।
निवेदन दर्ता गराए पनि हालसम्म एक पैसा पनि राहत नपाएको उनको भनाइ छ । माछाको भुरा, चुना, डिल बनाउन र पानी तान्ने मेसिन खरिद गर्न राहत दिनुपर्नेमा माछापालक किसान ऋषि राईले माग गरे । “अब आन्दोलनमा जानुबाहेक अर्को विकल्प छैन,” राईले भने, “तत्काल पोखरी पुरेर अन्य बाली लगाउने अवस्था पनि छैन ।” मोरङ माछा किसानले ६ करोडभन्दा बढीको क्षति व्यहोरेको उनले बताए ।
उनीहरूले अब चरणबद्ध आन्दोलनमा उत्रिने बताएका छन् । राहत नपाए आफैंले खनेको पोखरीमा आत्महत्या गर्नेसम्मको चेतावनी दिएका छन् । “हाम्रा माग सुनुवाई भएन भने ८ फिट गहिरो आफैंले खनेको पोखरीमा हामफालेर आत्महत्या गर्न पछि पर्दैनौं,” अर्का किसान रुपेश भट्टराईले भने, “कृषि विकास कार्यालय धाउँदाधाउँदा जुत्ता–चप्पल नै फाटिसक्यो ।” उनका अनुसार कार्यालय प्रमुख मनोजकुमार यादव र बागवानी अधिकृत काशीनाथ चौधरीले पटक–पटक धाउँदा पनि बेवास्ता गर्ने गरेका छन् । “कहिले गाउँपालिका र नगरपालिका जानु भन्छन्, कहिले केन्द्रबाट माछाका लागि पैसा आएको छैन भन्छन्, के हो बुभ्mनै सकिएन,” संघका सचिव कृष्ण कार्कीले भने । आन्दोलनको पहिलो चरणअन्तर्गत किसानले सोमबार पत्रकार सम्मेलन गरेका छन् । दोस्रो चरणमा कार्यालय घेराउ गर्ने, कार्यालय प्रमुखलाई कार्यकक्षमै थुन्नेलगायत आन्दोलनका कार्यक्रम छन् ।