एराप्रपा (राष्ट्रवादी)को एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजतन्त्र «

एराप्रपा (राष्ट्रवादी)को एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजतन्त्र

एकीकृत राप्रपा (राष्ट्रवादी)ले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राजतन्त्र हुनुपर्ने एजेण्डा सार्वजनिक गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा गठित सो पार्टीले आफ्नो घोषणापत्रमा यस्तो एजेण्डा ल्याएको हो ।
मंगलबार रजधानीमा सार्वजनिक घोषणापत्रमा ‘नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता जनतामा निहित राख्दै राष्ट्रिय चरित्र भएको संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री उत्तम विकल्प’ भएको उल्लेख छ । त्यस्तै घोषणापत्रमा सुकुम्बासीलाई गाउँपालिका र नगरपालिकाको जग्गा ५० वर्षका लागि उपलब्ध गराउने, अति गरिबलाई महिनाको १ हजार रुपैयाँ भत्ता दिने, वृद्धभत्ता दोब्बर बनाउने, ग्रामिण स्वास्थ्य बीमालाई देशभर लागू गर्ने र १२ कक्षासम्मको शिक्षालाई निःशुल्क बनाउने उल्लेख छ । आकस्मिक स्वास्थ्य सेवालाई निःशुल्क तथा गाउँ–गाउँका स्वास्थ्य चौकीमा २४ घण्टा नै प्रसूति सेवा उपलब्ध गराउने पनि घोषणापत्रमा लेखिएको छ ।
घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष लोहनीले जनसहभागिता र जनताको सर्वोच्चतामा आधारित राजनीति तथा परम्परा र आधुनिकताबीच सन्तुलनसहितको सरकार आवश्यक रहेको धारणा राखे । “अहिलेको शासन व्यवस्थाले स्थिर सरकार दिन नसक्ने र देशमा भ्रष्टाचार र बेथिति मौलाएको छ । धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र आवश्यक छ,” उनले भने, “अहिलेको व्यवस्थाले संवैधानिक निकायहरूलाई नै पार्टीकरण गर्न खोजका छन् । यसको अन्त्यका लागि राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ।”
पूर्वअर्थमन्त्री समेत रहेका लोहनीले राजनीतिक अस्थिरताका कारण आर्थिक विकास पनि दिगो हुन नसकेको बताए । उनले आफूहरुले नेतृत्व गर्ने अवसर पाएमा २० वर्ष ८ देखि १० प्रतिशतको आर्थिक वृद्धि गर्दै धनी र गरिबबीच खाडल कम गर्न समावेशी आर्थिक विकासको अवधारणा अगाडि सार्ने बताए । गोलाकारभित्रको हलो चुनाव चिन्हसहित एराप्रपा पहिलोपटक निर्वाचनमा सहभागि हुन लागेको हो । राप्रपाबाटै अलग्गिएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) भने वर्गाकारभित्रको हलो चुनाव चिन्हका साथ चुनावमा सहभागी हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्