ह्वाइट हाउसद्वारा चीनको आलोचना

वासिङटन- अमेरिका बिरुद्धको बदलाको कारबाही अन्तर्गत अतिरिक्त भन्सार लगाएकाले ह्वाइट हाउसले चीनको आलोचना गरेको छ । चीनले अमेरिका बिरुद्ध सुगुरको मासुदेखि लिएर वाइनसम्मका उत्पादनमा २५ प्रशितको अतिरिक्त भन्सार लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टिल र आल्मुनियममा भन्सार लगाउने निर्णयपछि बेइजिङले १२८ अमेरिकी उत्पादनको आयातमा २५ प्रतिशतसम्मको भन्सार लगाएको हो ।
चीनले यो कदमलाई आफ्नो स्वार्थको रक्षा र नयाँ भन्सारका कारण भएको घाटाको सन्तुलनको प्रयास भनेको छ ।
व्यापार युद्ध चुलिएसँगै अमेरिकी सेयर बजार ह्वात्तै ओरालो लागेको छ भने एसियाली सेयर बजार पनि ओरालो लागेर खुलेको छ ।
वाल स्ट्रिटमा एस एन्ड पी–५०० सूचकमा २.२ प्रतिशतको गिरावट आएको छ भने डाउ जोन्स पनि १.९ प्रतिशतले ओरालो लागेको छ ।
मंगलबार खुल्दाको समयमा जापानको निकी १.५ प्रतिशतले घटेको छ ।भन्सारको बारेमा ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा बेइजिङले विश्व व्यापार तोडमोड गरेको आरोप लगाइएको छ ।“चीनको सहुलियत र लगातारको अधिक क्षमता स्टिल संकटको प्रमुख कारण भएका छन्,” ह्वाइट हाउसकी प्रवक्ता लिन्डसे वाल्टर्सले बताइन् ।
“पक्षपाता विहिन तरिकाबाट भएको अमेरिकी निर्यातलाई निशाना बनाउनुको सट्टा चीनले अस्वस्थ व्यापार अभ्यासलाई रोक्नु आवश्यक छ । जसले अमेरिकाको राष्ट्रिय सुरक्षालाई हानी पुर्याएको छ र विश्व व्यापारलाई पनि तोडमोड गरेको छ, ” उनले बताइन् ।
पछिल्लो यो अवस्थाले अमेरिका र चीनबीचको बढ्दो तनाव प्रतिविम्वित गरेको छ । यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले आर्थिक सत्रुको संज्ञा दिँदै आएका छन् ।
अमेरिकाले हालैमात्र लिएको दुई प्रमुख कदमले चीनसँगको तनाव बढाएको हो ।
मार्च ८ मा ट्रम्प प्रशासनले विश्वव्यापी स्टिल र आल्मुनियमको भन्सारको घोषणा गरेको थियो । अमेरिकी उत्पादकको रक्षा गर्न र राष्ट्रिय सुरक्षाका कारण अमेरिकाले उक्त घोषणा गरेको हो । यद्यपि अमेरिकी गठबन्धनका मुलुकहरु क्यानडा, मेक्सिको र युरोपेली संघलाई यो भन्सारबाट छुट दिइएको छ ।
चीनले राष्ट्रिय सुरक्षाको अमेरिकी वहानालाई प्रमाणि गर्न चुनौती दिदै अमेरिकी उत्पादनमा ३ अर्ब डलरको बदलाको अतिरिक्त भन्सारको घोषणा गरेको हो ।चीनले लगाएको यो अतिरिक्त भन्सार सोमबारबाटनै कार्यान्वयनमा आएको छ । चिनियाँ निसानामा फ्रोजन पोर्क, सुपारी, ताजा र सुख्खा फलफूल तथा वाइन परेका छन् ।
अमेरिकी व्यवसाय विवादमा तानिएको छ र जोखिमको अवस्थामा पुगेको बीबीसीले जनाएको छ । पोर्क, भटमास र विमान लगायका केही निश्चित उत्पादनहरुका लागि चीन अमेरिकाका लागि विश्वकै ठूलो बजारको रुपमा रहदै आएको छ ।
गत वर्ष अमेरिकी पोर्कका लागि चीन विश्वकै तेस्रो ठूलो बजार रहेको थियो । चीनले गत वर्ष अमेरिकाबाट मात्रै १.१ अर्ब डलर मूल्यको पोर्क आयात गरेको नेसनल पोर्क प्रोड्यूसर काउन्शीलले जनाएको छ ।
“निर्यात बजारमा कुनै पनि निर्यातमाथिको प्रतिबन्ध अमेरिकी पोर्क उत्पादकका लागि राम्रो होइन,” नेसनल पोर्क प्रोड्यूसर काउन्शलिका प्रवक्ता जीम मोनरोइले बताए ।
अमेरिकी कम्पनीहरुले समस्या समाधानका लागि भन्सारको डर देखाउनु उपयुक्त नभएको बताएका छन् ।