चालु आर्थिक वर्षको बजेट चैत २९ गते सार्वजनिक गरिने

प्रदेश नम्बर १ प्रदेशसभाले प्रदेश आर्थिक कार्यविधि विधेयक–२०७४ सर्वसम्मतबाट पारित गरेको छ ।
प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो । चैत १४ गते सरकारले संसदमा आर्थिक विधेयक पेश गरेपछि ७२ घण्टाको संशोधन हाल्ने समय दिइएको थियो । समयसीमाभित्र कसैले पनि संशोधन नहालेपछि विधेयक सर्वसम्मत पारित भएको हो ।
विधेयक पारित भएसँगै अब प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पेश हुनेछ । प्रदेश प्रमुखले प्रमाणित गरेपछि विधेयक कानुन बन्नेछ । प्रदेश सरकारअन्तर्गतका सरकारी कोषको परिचालन, राजस्व संकलन, कोषको नियगमन तथा नियन्त्रणका लागि आवश्यक पर्ने विधेयक संसदले पारित गरेको हो । विधेयक संसदबाट पारित भएर प्रमाणीकरण भएपछि प्रदेश सरकारलाई बजेट निर्माण गर्न र खर्च गर्ने बाटो खुल्नेछ । ११ परिच्छेद र ६४ दफा रहेको विधेयक २५ पृष्ठमा समेटिएको छ । आर्थिक कार्यविधिसम्बन्धी कानुन प्रदेश सरकारको पहिलो कानुन बनेको छ । प्रदेशका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक निर्माण गर्न प्रदेश सरकारले सैद्धान्तिक सहमति दिए पनि विधेयक तयार भइसकेको छैन । प्रदेश संसदमा कुनै पनि विधेयक पेश नभएकाले संसद बैठक चैत २८ गतेसम्मका लागि स्थगित भएको छ ।
यसैबीच प्रदेश १ को सरकारले चालु आर्थिक वर्षका लागि चैत २९ गते बजेट ल्याउने भएको छ । यसअघि प्रदेश सरकारले चैत १५ मा बजेट ल्याउने निर्णय गरेको भए पनि तयारी पूरा नहुनु तथा आर्थिक कार्यविधि विधियेक पारित हुन ढिलाई हुनुजस्ता कारणले बजेट आउने समय धकेलिएको हो । चालु वर्षको ३ महिनाका लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको मन्त्री आङ्बोले जानकारी दिए ।
आर्थिक कार्यविधि विधेयक पारित भएसँगै बजेटसहित मन्त्रालय प्रदेश सरकारका अन्य काम अगाडि बढाउने बाटो खुलेको उनले बताए । चालु खर्चमै केन्द्रित रहेर आउने बजेटमा १४ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रदेश सरकारको उपस्थितिको अनुभूति गर्नेगरी विकासको योजना पनि समेटिने आर्थिक मामिलामन्त्री आङ्बोले जानकारी दिए । मन्त्री आङ्बोले बजेटमा ५० प्रतिशत पूँजीगत कार्यक्रम समावेश गर्ने पहल भइरहेको जनाए । आर्थिक मामिला मन्त्रालयले सबै विषयगत मन्त्रालयसँग बजेटमा समेट्नुपर्ने कार्यक्रमको विवरण माग गरेको जनाएको छ ।