नियतवस तथ्यांक तोडमोड : महत «

नियतवस तथ्यांक तोडमोड : महत

पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले जारी गरेको श्वेतपत्रमा नियतवस तथ्यांकलाई गलत तरिकाले प्रस्तुत गरेको बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको श्वेतपत्रमा अर्थतन्त्रका नकारात्मक पक्षमात्र उल्लेख गरी सकारात्मक पक्ष लुकाइएको उनले बताए । सोमबार केही सञ्चारर्मीसँगको भेटमा उनले उद्देश्यअनुकुल तथ्यांक झिकेर श्वेतपत्रमा अघिल्लो सरकारलाई नराम्रो देखाउने प्रयास गरिएको र अबका कामको जस लिनमात्र श्वेतपत्र ल्याइएको आरोप लगाए । तथ्यांकको तुलना गर्दा कतै २५, २०, १०, ५ र कतै ३ वर्षको तथ्यांकलाई तुलना गर्नुले सरकारको नियत प्रष्ट पारेको भन्दै उनले खतिवडाले ‘चेरी पिकिङ’ गरेको बताए । “श्वेतपत्रमा ४१ गुणाले आयात बढेको देखाइयो तर सोही अवधीमा ६२ गुणाले राजस्व बढेको विषय लुकाइयो,” उनले भने “आयातमा आधारित करको विषयमा बोल्ने तर राजस्वमा बढ्दो आयकरको योगदानका बारेमा नबोल्ने गरेर सरकारले द्वैध चरित्र देखायो ।”
तर, डा. महतले वित्तीय अराजकता नियन्त्रण गर्ने सरकारको घोषणालाई भने सकारात्मक टिप्पणी गरे । विगतका सरकारहरूदेखि नै वित्तीय अराजकता बढ्दै गएकोतर्फ आपूmले आवाज उठाएको स्मरण गराउँदै अर्थमन्त्रीले वित्तीय अराजकता रोक्न सके सार्वजनिक खर्च प्रणालीमा सकारात्मक प्रभाव पर्ने उनले बताए । महतले पछिल्ला केही वर्षयता भएको फजुल खर्चको वृद्धि र अनुत्पादक क्षेत्रमा राज्यको लगानी बढ्दा अर्थतन्त्र कमजोर भए पनि संरचनागत हिसाबमा श्वेतपत्रले भनेजस्तो कमजोर भने नभएको टिप्पणी गरे ।
यस्तै, डा. महतले नयाँ सरकार गठनपछि सेयरबजार निरन्तर ओरालो लाग्नुमा लगानीकर्तालाई सरकारप्रति विश्वास नभएको परिणामको रूपमा टिप्पणी गरे । “सेयरबजार अर्थतन्त्रको ऐना हो, कुनै पनि मुलुकमा लगानीकर्ताले त्यहाँको सेयर बजारलाई हेरेर आफ्ना लगानी योजना बताउँछन्,” महतले भने, “लगानीकर्ताले सेयर बजार कस्तो छ ? त्यहाँका जनताले सरकारलाई विश्वास गर्छन् कि गर्दैनन् भन्ने कुरा सेयर बजारबाटै हेर्ने गर्छन्, बजार निरन्तर घट्नु नकारात्मक संकेत हो यसले लगानीको वातावरण राम्रो छैन भन्ने संकेत गर्छ ।”

प्रतिक्रिया दिनुहोस्