नेपाल वाइन उत्पादक संघ गठन

नेपालका वाइन उत्पादकहरूले छाता संगठनको आवश्यकता महशुस गरी नेपाल वाइन उत्पादक संघ गठन गरेका छन् । संघ यही चैत ९ गते दर्ता गरिएको जनाइएको छ । नेपालमा खपत हुने सम्पूर्ण वाइन विदेशबाट आयात हुने र ठुलो रकम विदेशिने गरेकोमा नेपाली उद्योगीहरूले स्वदेशी लगानीमा नेपालमै वाइन उत्पादन गर्न सुरु गरेका थिए ।
स्वदेशी वाइन उत्पादनमा धेरै नेपालीहरू संलग्न भएपछि संस्थाको आवश्यकता महसुस गरी यसको गठन गरिएको संघले जनाएको छ । नेपाली वाइनले बिस्तारै विदेशी वाइनलाई विस्थापन गर्दै आएको र नेपाली वाइन विदेशमा निर्यात समेत हुन थालेको छ । त्यसैले वाइन उत्पादकहरूलाई संगठित गरी यसका समस्या समाधान गर्न वाइन उत्पादक उद्योगहरू संगठित हुनु परेको संघले जनाएको छ ।
वाइनको बजार विस्तार, व्यवस्थापन, विदेशी वाइनको विस्थापन र वाइन निर्यातको कामलाई प्रभावकारी बनाउन वाइन उत्पादकहरूले छाता संगठन दर्ता गरिएको संघले जनाएको छ । संघका अनुसार वाइन उत्पादनको क्षेत्रमा नयाँ प्रविधिहरूको अध्ययन अनुसन्धान गर्ने, नयाँ प्रविधिलाई अवलम्बन गर्ने, नेपाली वाइनलाई निर्यात गरी विदेशी मुद्रा आर्जनमा नेपाल सरकालाई सहयोग पुर्याउनुका साथै स्वदेशी पुँजी उपयोगबाट स्वदेशमा रोजगारी सृजना गर्ने संघको उद्देश्य रहेको छ ।