अन्तर्राष्ट्रिय औद्योगिक मेला हुँदै «

अन्तर्राष्ट्रिय औद्योगिक मेला हुँदै

आउँदो वैशाख दोस्रो सातादेखि नेपाल १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग मेला महोत्सव–२०७५ हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले बर्सेनि आयोजना गर्न यो मेला १४ औ संस्करण हो । 

मेलामा सहआयोजकको रूपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार निकासी प्रवर्धन केन्द्र, लघु, घरेलु तथा सानाउद्योग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओ र सरकारी एवं गैरसरकारी संघसस्थाहरू यसका प्रवर्धक र सहयोगी रहेका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मेला वैशाख १४ देखि १८ गतेसम्म हुने जानकारी गराएको छ । मेलामा मुलुकभरिका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू, नियार्तजन्य वस्तु उत्पादन गर्न उद्यमीहरू, महिला उद्यमी एवं भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको समेत सहभागिता रहनेछ ।
२५० वटा स्टल रहेका उक्त मेलामा २ लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ । मेलामा ७ करोडभन्दा बढीको प्रत्यक्ष कारोबार हुने लक्ष्य रहेको आयोजकले बताएका छन् । महासघंका अध्यक्ष श्यामप्रसाद गिरीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न स्वदेशी वस्तुको उपयोगलाई राष्ट्रिय अभियानको रूपमा सञ्चालन गर्न सरकारले पहल थाल्नुपर्ने बताए । उपलब्ध भएसम्म स्वदेशी वस्तु नै खरीद गर्नुपर्ने अनिवार्य प्रावधान कडाइका साथ लागु गर्न पनि उनले माग गरे ।
लघु घरेलु तथा साना उद्योगहरूका विविध पक्षहरूलाई सम्बोधन गर्न र एक अर्काबाट सीप आदानप्रदान गर्न र बजार सञ्जाल विस्तार गर्न औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको हो । मेलामा अन्तक्र्रिया, छलफल, रोजगारी मेला, लघु घरेलु तथा साना उद्योगलाई समेट्ने गरी सबै खाले उत्पादनलाई समेट्ने गरी बिटुबि, बिटुसी, बिटुजी जस्ता अन्तक्र्रियाहरू पनि मेलामा राखिनेछ । यसै गरी मेलामा टेक्नोलोजी इन्नोभेसन तथा उद्योगहरू, सार्क मुलुकका लघु घरेलु तथा साना उद्योगहरूको पारस्परिक हित प्रर्वद्धन गर्न साउथ एसियन कन्ट्रिज फोरमको तेस्रो सम्मेलन वैशाख १६ गते होटल एल्लो पेगोडामा आयोजना हुदै छ । सम्मेलनमा नेपाल, भारत, श्रीलंका, भुटान, अफगानिस्तान, माल्दिभ्स र बंगलादेशसमेतका साना तथा मझौला उद्योगका छाता सस्ंथाका प्रतिनिधिहरू तथा छिमेकी राष्ट्र चीन पर्यवेक्षकको रूपमा सहभागी रहनेछन् ।

रिना खत्री

प्रतिक्रिया दिनुहोस्