सुत्केरीले प्रसूति भत्ता पाएनन्

जुम्लाको पातारासी गाउँपालिकास्थित डिल्लीचौर र छुमचौर स्वास्थ्य चौकी अन्तर्गतका सुत्करी आमाले प्रसूति प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । राज्यले स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति र तत्काल आमा र बच्चालाई स्वास्थ्य संस्थामा सुत्केरी भएवापत दिने रकम नपाएको गुनासो छ ।
स्वास्थ्य संस्थामा सुत्केरीको संख्या वृद्धि गर्ने, बच्चा तथा आमाको सुरक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ राज्यले दिने गरेको सुत्केरी प्रोत्साहन भत्ता नपाएको यहाँका आमाले गुनासो गरेका छन् । पातारासी गाउँपालिका–८ की करिश्मा बुढाले भनिन्, “सुत्केरी भएको ८ महिना बित्यो तर प्रसूति प्रोत्साहन भत्ता पाएको छैन । प्रोत्साहन भत्ता समयमा पाएको भए सुत्केरी अवस्थामा पोषिलो खाने कुरा खान सहज हुन्थ्यो, पहिला समयमै पाइन्थ्यो, तर अहिले पाएका छैनौं,” उनले भनिन् । पटकपटक स्वास्थ्य चौकीमा आउँदा भोलिभोलि भन्दै टार्ने गरेको उनको आरोप छ ।
चालू आवको दोस्रो चौमासिक बितिसक्दा पनि सुत्केरी हुनेबित्तिकै तत्काल पाउनु पर्ने प्रसूति प्रोत्साहन भत्ता नपाएको पातारासी गाउँपालिका–४ लुमगाउँकी सरस्वती कामीले गुनासो गरिन् । उनले भनिन्, राज्यले सुत्केरी आमालाई दिने प्रोत्साहन भत्ता विभिन्न कारण देखाउँदै समयमै नदिँदा समस्या हुने गरेको उनको भनाइ छ ।
डिल्लीचौर स्वास्थ्य चौकीमा भदौ १० गते सुत्केरी भएकी हुँ सरस्वतीले भनिन् तर अहिले चैत लागि सक्दा पनि प्रसूति भत्ता नपाएको उनले गुनासो गरिन् । यी केही उदाहरणमात्रै हुन् । जुम्लामा प्रोत्साहन भत्ता समयमै नपाएको गुनासो गर्ने सयौं महिला छन् ।
छुमचौर स्वास्थ्य चौकीमा सुत्केरी भएका ३१ जनाले पनि प्रसूति प्रोत्साहन भत्ता पाएका छन् । डिल्लीचौर स्वास्थ्य चौकीमा चालू आवको साउन महिनादेखि प्रसूति भएका २९ जना आमाले प्रसूति प्रोत्साहन भत्ता पाएका छैनन् भने नियमित चारपटक (चार, छ, आठ र नौ) महिना गर्भ चेकजाँच गराएवापत थप ४ सय रुपैयाँ थप पाउनु पर्ने ६ जना महिलाले पनि भत्ता पाएका छैनन् ।
छुमचौर स्वास्थ्य चौकीका इन्चार्ज प्रकाश सापकोटाका अनुसार गाउँपालिकाले प्रसूति प्रोत्साहन भत्ता स्वास्थ्य चौकीको खातामा जम्मा भएको छ भन्ने जानकारी भएको छ, अब तत्काल वितरण गरिने छ । भनेकै समयमा प्रोत्साहन भत्ताको पैसा नआउने आफ्नो खल्तीको पैसा दिन नसकिने इन्चार्ज सापकोटाले बताए । रकम आएपछि आपूmहरूलाई दिन समस्या नरहेको जुम्लाका स्वास्थ्य चौकी इन्चार्जको भनाइ छ ।
स्वास्थ्य चौकीमा खानेपानीको समस्या
डिल्लीचौर स्वास्थ्य चौकीमा खानेपानी नहुदा सरसफाइमा समस्या भएको छ । अनमी केमा बुढाका अनुसार गाउँमा एक धारा छ त्यसै धाराबाट पानी बोकेर काम चलाउने गरेका छौं । गाउँमा ६०-७० घरधुरी छन् गाउँमा पनि खानेपानी पुगेको छैन ।
बर्थिङ सेन्टरमा सुत्केरी सामग्री निर्मलीकरण गर्नुपर्ने हुन्छ । तातोपानीको व्यवस्था छैन निकै समस्या छ उनले भनिन्, “समस्याका बाबजुत सेवा प्रवाह गरेका छौं । प्रायः जुम्लाका स्वास्थ्य चौकीमा खानेपानीको उपयुक्त व्यवस्थापन छैन । स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुटाए पनि सुधार भने परिणाममुखी हुन नसकेको तातोपानी गाउँपालिका–३ की महिला विमला परियारले बताइन् ।
आवश्यक औषधि नै छैन
स्वास्थ्य चौकीमा आवश्यक पर्ने औषधि नभएका कारण समस्या भएको छ । आइरन चक्की गएको पुस महिनादेखि शून्य मौज्दात भएका कारण गर्भवती महिलाले खान नपाएको गुनासो छ । त्यसैगरी कोट्र्रिम एडल्ट, कोट्रिम(बच्चा), एमोक्सिसिलिन सिप्रोलगायतका औषधि गएको मंसिरदेखि नै शून्य छ ।
स्वास्थ्य चौकीमा औषधि नहुँदा समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामा आएरमात्र केही हुदैन आवश्यक औषधि, उपकरणलगायतका सामग्रीको व्यवस्थापन हुनुपर्ने हो तर त्यसो नहुदा समस्या भइरहेको छ । स्वास्थ्य चौकीमा औषधि नहुदा समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताएका छन् ।
-सागर परियार