तिंकर सडकको प्रगति न्यून

दार्चुलाको सबैभन्दा बढी बजेट फिर्ता जाने आयोजनाको रूपमा परिचित दार्चुला–तिंकर सडकको भौतिक प्रगति न्यून छ । आयोजनाको नाम चालू आवबाट महाकाली करिडोर भए पनि भौतिक प्रगति शून्य हुँदा विकासमा उत्साह नल्याएको स्थानीय बताउँछन् ।
करिब ६ वर्ष अघिदेखि सञ्चालनमा आएको यस आयोजनाले सदरमुकाम खलंगादेखि व्याँस गाउँपालिका–१ तिंकरसम्मको झण्डै ६० किमि सडक निर्माण गर्नुपर्नेछ । तर यो आयोजनाले कार्य प्रगति हासिल नगरेकाले विकास बजेट फिर्ता गराउनेको रूपमा दर्ज भएको स्थानीय बताउँछन् । चालू आवमा यस सडकका लागि २९ करोड ८५ लाख रुपैँया बजेट भए पनि भौतिक प्रगति न्यून रहेको आयोजनाले जनाएको छ ।
महाकाली करिडोरमा आयोजना रूपान्तरण भएपछि चालू आवका लागि ८८ किमि सडक निर्माणका लागि ठेक्का खोलेको आयोजनाले जिल्लाको दुहुँ क्षेत्रबाहेक अन्य क्षेत्रमा २० किमि सडकको ट्रयाक खोलेको आयोजना प्रमुख रामचन्द्र शाहले जानकारी दिए ।
दार्चुला जिल्लाको उत्तरी क्षेत्र हालको दुहुँ र व्याँस गाउँपालिकाका स्थानीयलाई सबैभन्दा बढी सडकको समस्या भए पनि हाल करिडोरमा भइरहेको काम भने जिल्लाको लेकम क्षेत्र तथा बैतडी र डडेल्धुरा जिल्लाका विभिन्न ठाउँमा छ । आवश्यकताभन्दा बाहिर आयोजनाको काम भइरहेको प्रति दुहुँवासीले असन्तुष्टी जनाएका छन् । उसो त दिनहु गाउँपालिकाको वडा नम्बर १ मा पर्ने विजयपुर भीर काट्ने काम तीन महिनादेखि चलिरहेको छ, तर त्यस क्षेत्रमा सय मिटर पनि काम सकिएको छैन ।
५ वर्षदेखि विस्फोटक पदार्थ अभाव
दार्चुला–तिंकर सडकको प्रगति नहुँुनु पछाडि विस्फोटक पदार्थ अभाव नै मुख्य कारण बनेको छ । विस्फोटक पदार्थका लागि २०७० सालमा नेपाली सेनाको वसुन्धरा क्यान्टेनलाई रकम बुझाइसकेको भए पनि २०७२ सालपछि सेनाले विस्फोटक पदार्थ नदिएको आयोजनाले जनाएको छ । विस्फोटक पदार्थको माग बेलाबेला हुने गरे पनि आयोजनाले कन्ट्रयाक्ट परिवर्तन नगर्नु तथा वैकल्पिक व्यवस्था नगर्नु पनि तिंकर सडकको दुर्गति रहेको व्यासका स्थानीयको भनाइ छ । दार्चुला–तिंकर सडक आयोजनामा आयोजना प्रमुख फेरिनु पनि समस्या भएको यहाँका स्थानीय बताउँछन् ।
सधैं विस्फोटक पदार्थ अभावको वास्तविकता बुझ्न दार्चुलाबाट निर्वाचित जनप्रतिनिधिको टोली रक्षा मन्त्रालयमा समेत पुगेको र यसको विकल्पका बारेमा छिट्टै निर्णय लिने प्रदेश सभा सदस्य गेल्बुसिंह बोहराले बताए ।
सडक निर्माणको विकल्प खोज्नु पर्ने
लामो समयदेखि सुस्त गतिमा काम भइरहेको दार्चुला–तिंकर सडको विकल्प खोज्नु पर्ने अवस्था आएको दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले बताए । ठगुन्नाले विजय जुलुसकै दिन आसभालाई सम्बोधन गर्दै दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने उद्घोषसमेत गरेका थिए ।
एउटै निर्माण कम्पनीलाई सडक निर्माणको धेरै ठाउँको जिम्मेवारी दिनु, काम सम्पन्न नभए पनि फेरि सम्झौता गर्नु सडक आयोजनाको कमजोरी रहेको भन्दै जिल्लाको विकासका लागि निर्माणको विकल्प सोच्ने बेला आएको जनप्रतिनिधिको भनाइ छ ।
–कृष्ण धामी