पर्यटन प्रवद्र्धनको बहानामा वन विनाश

मझुवागढी आसपासको वन डोजर लगाएर विनाश गरेको पाइएको छ । स्थानीय सरकारले पर्यटन प्रवद्र्धनको बहानामा डोजर लगाएर देवीस्थान सामुदायिक वन विनाश गरेको हो ।
मझुवागढी नगरपालिकास्थित मझुवागढी कालिका भगवतीको मन्दिरमा पर्यटन प्रवद्र्धनका लागि बिहीबारदेखि सुरु गरिएको धार्मिक महोत्सवको बहानामा स्थानीय सरकारले सडक खनेको हो ।
सशस्त्र प्रहरी बल हलेसी गुल्म रहेको ठाउँदेखि कालिका मन्दिर हुँदै मझुवागढीसम्म वन फडानी गरेर सडक पुराइएको छ । दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका र जिल्ला समन्वय समितिले मझुवागढीसम्म सडक पुराएर गल्ती गरेको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाको डोजर प्रयोग गरेर रातारात सडक खनिँदा ठूलो परिणाममा रुख काटिएको पाइएको छ । एक हजारभन्दा बढी रुख ढालिएको छ । जसमा साल, सल्ला, उत्तिसका रुख छन् । मापदन्ड पूरा नगरी अन्धाधुन्ध सडक खन्दा स्थानीय सरकार भने मौन छ ।
पर्यटकीय क्षेत्रसम्म सडक पुराएपछि दिक्तेल बजारको हाटडाँडादेखि कालिका मन्दिरसम्म लाखौं खर्च गरेर निर्माण गरिएको सिंडी (भ¥याङ)को उपयोग नहुने र पर्यटक सिधै गाडी लिएर मन्दिर पुग्ने दिक्तेल–१ का स्थानीय भूमिराज शैजुले बताए । उनले भने, “सडक निर्माणले मानिसका लागि त गढीमा आउन सहज हुन्छ होला तर प्राकृतिक स्रोत र साधनलाई क्षति पुराएर पयर्टन विकास गर्छु भन्नु अनुपयुक्त कुरा हो ।”
भौतिक विकासको नाममा प्राकृतिक स्रोत र सम्पदा विनास गरिनुले त्यस क्षेत्रको महत्व घटेको सामुदायिक बन महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । उनले भने, “वनजंगललाई क्षति पुग्ने गरी सडक निर्माण गर्न पाइँदैन, यदि निर्माण गर्ने नै भए क्षतिको तथ्यांक निकालेर प्रक्रिया पूरा गरेर मात्र गर्नुपर्छ यो सरासर हचुवाको भरमा काम भएको छ ।”
धार्मिक महोत्सवकोे नाममा रातारात सडक खनिए पनि सडक खन्नमा कसको भूमिका रह्यो भन्ने चाँहि खुलेको छैन । जिल्लावासीले भने स्थानीय सरकारले बलको भरमा सडक निर्माण गराएको बताएका छन् । सडक खनिँदा बजेट व्यवस्थापन पनि यसले गरेको हो भन्ने एकिन भएको छैन ।
सडक निर्माणमा वन क्षेत्रको प्रयोग गर्न पाइँदैन, यदि गर्ने नै भए आईई प्रयोग गरेर वन फडानी भएजति अन्य ठाउँमा वृक्षारोपण गर्नुपर्ने जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपाललले बताए । उनले भने, “मापदण्ड पूरा नगरी सडक निर्माण भएको छ, सडक निर्माणको विषयमा अनुसन्धान भइरहेको छ, छानबिन गरेर कारबाही प्रक्रिया तत्काल अगाडि बढ्छ ।” जिल्ला वन कार्यालयमा वन विनाश गरिएको भन्दै उजुरी पनि परेको छ ।
–उत्तम चौलागार्इं